मृत्युको ५ दिनपछि कोरोना पुष्टि: गाउँ नै सिल गरेर मलामी खोज्ने काम सुरू

काठमाडैं, २८ साउन । बिहीबार राति निधन भएका खड्गबहादुर बस्नेतमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार सार्वजनिक गरेको रिपोर्टमा बस्नेतमा संक्रमण पुष्टि गरेको हो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतका पिता ८४ वर्षीय बस्नेतको मंगलबार कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको हो । उनको त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा निधन भएको थियो ।

उनको मृत्यु भएपछि अन्तिम दाहसंस्कार गृहजिल्ला सिन्धुपाल्चोकमा गरिएको थियो । उनको स्वाब संकलन गरी परीक्षणका लागि पठाइए पनि कोरोनाको रिपोर्ट नै नआइ परिवारका सदस्यले शव गृहजिल्ला लगेका थिए । बस्नेतको दाहसंस्कारका क्रममा ठूलो संख्यामा मलामी सहभागी थिए । धेरै संख्यामा मलामी भेला भएकाले कोरोना संक्रमणको त्रास बढेको स्थानीयको भनाइ छ ।

मृत्यु संस्कारमा बसेका छोरालाई भेट्न पुगेका नेता तथा अन्य कार्यकर्ताहरुलाई क्वारेन्टिनमा बस्न आग्रह गरिएको छ ।

उनलाई भेट्न सोमबारमात्रै नेकपा नेताहरु अमृतकुमार बोहरा, शेरबहादुर तामाङलगायत जिल्लाका विशिष्ठ व्यक्ति पुगेका थिए । उनीहरु सबैलाई अर्को सूचना नआएसम्म सबैलाई क्वारेन्टिनमा बस्न आग्रह गरिएको छ ।

ठूलो संख्यामा मलामी सहभागी भएपछि गाउँ नै सिल गरेर मलामी खोज्ने काम सुरू भएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board