वीरगञ्जमा कोरोनाबाट थप एक जनाको मृत्यु

काठमाडौँ, २६ साउन । वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–१५ भेडियाही बस्ने ४५ वर्षीया महिलाको मृत्यु भएको हो ।

मृत्युपछि नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनको रिपोर्ट पोजेटिभ आएको थियो । योसँगै साउनमा मात्रै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

शनिबार राति नारायणी कोरोना विशेष अस्पताल गण्डकमा उपचारको क्रममा ४५ वर्षीया महिलाको मृत्यु भएको थियो । आइतबार उनको स्वाब निकालेर पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको कोभिड अस्पतालका संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।

पहिलेदेखि नै उच्च रक्तचाप र थाइराइडको विरामी उनलाई श्वास प्रश्वासमा समस्या भएपछि गम्भिर अवस्थामा उपचारका लागि अस्पताल ल्याइएको थियो । अस्थायी कोभिड विशेष अस्पतालमा शंकास्पद केसका लागि ६ वेड क्षमताको आकस्मिक कक्ष बनाइएको छ ।

श्वास प्रश्वासमा समस्या देखिएपछि विरामीलाई वीरगञ्जका अन्य निजी अस्पतालले भर्ना लिने गरेका छैनन् । अन्त्यमा कोभिड अस्पतालमा पुगेर विरामीले प्राण त्याग गर्ने गरेका छन् । ४५ वर्षीया महिलाको मृत्यु भएसँगै वीरगञ्जमा साउन महिनामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १८ पुगेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board