प्रधानमन्त्रीद्वारा अयोध्यापुरीसम्बन्धी काम अगाडि बढाउन आग्रह

काठमाडौं, २४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले रामजन्मभूमि अयोध्याका विषयमा चासो अगाडि बढाउनुभएको छ । उहाँले शुक्रबार माडी नगरपालिका–९ का वडाध्यक्ष शिवहरि सुवेदीलाई टेलिफोन गर्दै अयोध्यापुरीको अध्ययन अनुरोध गरेका छन् ।

प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै सुवेदीले भने , “त्यहाँ के कस्ता संरचना छन्, केके बनाउनुभएको छ । भारतमा भएको अयोध्याका विषयमा त्यहाँका जनतासमेत विश्वस्त नरहेको पाइएकाले हाम्रो अयोध्याका विषयमा थप अध्ययन र संरक्षणमा जुट्नुपर्छ । तपाईँहरु के के गर्दै हुनुहुन्छ, तुरुन्तै काम अघि बढाउनुप¥यो ।”

प्रधानमन्त्रीले आफूले अयोध्याका बारेमा अध्ययन गर्दा प्रमाण बलियो भेटिएको तथा सोमेश्वर गढी, वाल्मिकी आश्रमलगायत स्थानसमेत बलियो आधार भएको बताउनुभएको सुवेदीले जानकारी दिए । उनले भने , “प्रधानमन्त्री अयोध्याका विषयमा माडीको टोलीसँग छलफलका लागि आतुर हुनुहुन्छ ।”

हाल माडीमा रहेका धार्मिक सम्पदा र पुरातात्विक सामग्रीको संरक्षण गर्न अनुरोध गर्दै प्रधानमन्त्री ओलीले आउँदो रामनवमी पर्वमा ठूलो पूजा गरी काम शुरु गरिने बताएको वडाध्यक्ष सुवेदीले जानकारी दिए । “पुरातत्विक विभागसँग समन्वय गरेर अध्ययन र संरक्षणमा जुट्न प्रधानमन्त्रीको निर्देशन छ”, सुवेदीले भने । हालको वडा नम्बर ९ यसअघिको अयोध्यापुरी गाउँ विकास समितिमा रहेका थियो ।

यसैबीच प्रधानमन्त्री ओलीले माडीका नगर प्रमुखसहितका प्रतिनिधिलाई भेट गर्नलाई आज काठमाडौ बोलाएका छन् । माडी नगरपालिका प्रमुख ठाकुर ढकालले आज प्रधानमन्त्री ओलीले भेटघाटका लागि बोलाएको जानकारी दिए।

प्रधानमन्त्रीले गत असार २९ गते भानुजयन्तीका दिन राम नेपालकै ठोरी क्षेत्रमा जन्मेको हुन सक्ने अभिव्यक्ति दिएका थिए । माडीको अयोध्यापुरी, वाल्मिकी आश्रम, गोद्धकलगायत क्षेत्रमा पुरानो मुद्रा, इँटा, पुराना भवनका अवशेषजस्ता पुरातात्विक वस्तु भेटिँदै आएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board