राष्ट्रियसभाका चारै समितिका सभापति निर्विरोध निर्वाचित

काठमाडौँ, २३ साउन । राष्ट्रियसभा मातहतका चारवटै विषयगत समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् ।विधायन व्यवस्थापन समितिमा परशुुराम मेघी गुुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समितिमा रामनारायण बिडारी, दीगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट र राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिमा दिलकुमारी रावल निर्विरोध भएका हुन् ।

सभापति पदका उम्मेदवारका प्रस्तावक र समर्थकले प्रस्तुत गर्नुुभएको नामलाई तत् समितिको आजको बैठकले सर्वसम्मतिले अनुुमोदन गरेको थियो । नवनिर्वाचित सभापति मेघी गुुरुङको प्रस्ताव देवेन्द्र दाहाल र समर्थक तारामान स्वाँर तथा सभापति बिडारीको प्रस्तावक राधेश्याम अधिकारी र समर्थकमा शेरबहादुर कुुँवर थिए ।

नवसभापति भट्टको उम्मेदवारको प्रस्तावक दीनानाथ शर्मा र समर्थकमा रमेशजङ्ग रायमाझी तथा सभापति रावलको प्रस्ताव खिमलाल भट्टराई र समर्थकमा अनिता देवकोटा थिए । चारै जना सभापति यसअघिकै तत् समितिका सभापति छन् ।

राष्ट्रियसभाका विषयगत समितिका सभापतिको चयन प्रत्येक दुई÷दुई वर्षमा हुने व्यवस्था छ । निर्वाचित सभापतिमध्ये नेकपाका दुई र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका एक जना हुनुहुन्छ । पुनः निर्वाचित सभापति बिडारी भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित सांसद छन् । स्थायी सदनका रूपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ अर्थात् १८ जना सदस्यको निर्वाचन गत माघमा भएको थियो । प्रबुद्ध व्यक्तिको प्रतिनिधित्व हुने राष्ट्रियसभाबाट राष्ट्रिय राजनीति र महत्वपूर्ण मुद्दामा सुझबुझपूर्ण भूमिका निर्वाह हुने विश्वास गरिन्छ ।

निर्वाचित चारमध्ये दुई पुरुष र दुई महिला सभापति छन् । भूगोल र लैङ्गिक पक्षबाट समेत समावेशी चरित्र रहेको राष्ट्रियसभाले खेलेको भूमिका, अघि बढाएको एकता, सहमति र सहकार्यको मूल्य मान्यता गौरव गर्न लायक रहेको भनी प्रशंसा हुँदै आएको छ । नवनिर्वाचित सभापति अनुभवी रहनुभएको हुनाले जनता र राष्ट्रको हितको विषयमा प्रखर रूपमा उत्रन सुझाव दिँदै सदस्यहरुले सफल कार्यकालका लागि शुभकामना र बधाई ज्ञापन गरे । नवनिर्वाचित सभापतिले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग आइतबार सपथ लिएपछि पदभार ग्रहण गर्नेछन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति