गौरादह क्षेत्रका पशुमा नयाँ रोगको सङ्क्रमण देखिएपछि…..

झापा,१६ साउन । झापाको गौरादह आसपासका किसानले पालेका गाईवस्तुमा नयाँ रोगको सङ्क्रमण देखापरेको छ । दुई सातायता गौरादहसहित कमल गाँउपालिकाका किसानले पालेका गाई, बाच्छाबाच्छी र गोरुमा अनौठो किसिमको सङ्क्रमण देखा परेको छ । भैँसी र राँगामा यसको समस्या कम देखिएको छ ।

यो रोग लागेपछि गाईको शरीरमा फोका भएर घाउ हुने, शरीरमा डाबर आउने, गाईवस्तुलाई ज्वरो आउने, शरीरका विभिन्न ठाउँमा पानी जमेर सुन्निने जस्ता रोगका लक्षण देखापर्ने गरेको किसानले बताएका छन् । पशुमा एक्कासि नयाँ रोगको सङ्क्रमण देखिएपछि किसानहरु चिन्तित भएका छन् ।

गौरादह पशु सेवा शाखा प्रमुख सन्तोष भण्डारीका अनुसार पशुमा देखापर्ने लम्पी स्किन डिजिज भाइरसका कारण सङ्क्रमण देखिएको हुनसक्ने लक्षण छ । यदि त्यही सङ्क्रमण देखिए यसको कुनै ठोस उपचार तथा रोकथाम नभएको र यसको खोप नेपालमा हालसम्म उपलब्ध नभएकाले लक्षणअनुसार घाउको उपचार मात्र गर्न सकिने उनले जानकारी दिए ।

यस्तै गौरादह नगरपालिकाभित्रका पशु सेवा प्राविधिकले यही साउन ९ गतेसम्मको उपलब्ध गराएका तथ्याङ्कअनुसार गौरादहभित्रका ५०१ गाई, १८३ बाच्छी, ९४ बाच्छा, सात गोरु र चार भैंसीमा गरी ७८९ पशु तथा नगरसँग जोडिएको कमल गाउँपालिकाभित्र करिब १५० गाई, बाच्छाबाच्छीमा लम्पी स्कीन डिजिजसँग मिल्दो जुल्दोे समस्या देखापरेको पनि उनले जानकारी दिए ।

कार्यालयले पशुमा देखिएको नयाँ सङ्क्रमण थप फैलिन नदिन भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुरमा पठाइसकेको र रिपोर्ट आउन बाँकी रहेको गौरादह पशु सेवाका प्राविधिक दिनेश ढकालले बताए । अफ्रिकी मुलुकका पशुमा यो रोगको समस्या देखिए पनि नेपालमा भने पहिलोपटक यो रोग देखापरेको हुन सक्ने पुश प्राविधिकले जिकिर गरेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board