प्रहरीले १५ किलो ‘सुन’ भनेर बरामद गरेको पहेँलो धातु सम्बन्धी अनुसन्धानमा प्रहरीको लापवार्ही

काठमाडौं, १५ साउन ।  प्रहरीले १५ किलो ‘सुन’ भनेर बरामद गरेको पहेँलो धातु सम्बन्धी नेपाल प्रहरीको अनुसन्धान विवादमा तानिएको छ । यसमा काठमाडौं प्रहरी परिसर र महानगरीय प्रहरी वृत्त, दरबारमार्गको त्रुटी देखिएको छ ।

प्रकरणको छानविनका लागि महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मनोज यादवको नेतृत्वमा गठन गरेको समितिले पनि अनुसन्धान अधिकृतको कमजोरी देखिएको प्रारम्भिक निष्कर्ष निकालेको छ ।

समिति स्रोतका अनुसार महानगरीय प्रहरी वृत्त, दरबारमार्गका डीएसपी रञ्जन दाहालले घटनास्थलसमेत परिवर्तन गरेर माथिल्लो निकायलाई सत्यतथ्य जानकारी नदिएको पाइएको छ । यसमा उनी एक्लै संलग्न हुन् वा अन्य पनि छन् भन्ने विषय खुलिसकेको छैन । काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले मंगलबार पत्रकार सम्मेलन गरेर कमलादीस्थित नबिल बैंक अगाडि सेतो रंगको कपडाको झोला फ्याँकेर एक गाडी फरार भएको उल्लेख गरेका थिए ।

तर, छानविन समितिले हेरेको त्यसक्षेत्रको क्लोज सर्किट (सीसी) क्यामरा फुटेजमा त्यहाँ प्रहरीले बताए अनुसारको घटनाक्रम देखिएको छैन । न त त्यसक्षेत्रका सर्वसाधारणलाई घटनाबारे जानकारी छ । बरु केहीसँग लिइएको बयानबाट घटनास्थल सुन्धारा हुनसक्ने देखिएको एक प्रहरी स्रोतले जनाएको छ ।
सुन्धारा दरबारमार्ग प्रहरीको क्षेत्राधिकारभित्र पर्दैन । डीएसपी दाहालले सुन्धारा पुगेर अपरेशन गर्दा काठमाडौं प्रहरी प्रमुख एसएसपी ज्ञवालीलाई त्यसबारे जानकारी दिएको नपाइएको स्रोतले जनाएको छ ।

एसएसपी ज्ञवालीले मंगलबार आयोजित पत्रकार सम्मेलनमै बा ६ च ५५१९ नम्बरको स्कर्पियो गाडी फरार भएको सार्वजनिक गरेका थिए ।

पत्रकार सम्मेलनमा भनिएको कुरा
बा ६ च ५५१९ नम्बरको सिल्भर कलरको स्कर्पियो गाडी कृष्ण पाउरोटीबाट हुत्तिएर आयो। बिहानको करिब ९ बजेको थियो। प्रहरी सडकमा नै चेकिङमा खटिएको थियो। संयोग वा कुनै पूर्व जानकारी, महानगरीय प्रहरी वृत्त दरबामारगबाट डीएसपी रञ्जन दाहालको नेतृत्वमा नै टोली खटिएको थियो। नियमित झैं प्रहरीले कमलादीतिरबाट आइरहेको गाडीलाई चेकिङका लागि रोक्न खोज्यो। गाडी रोकिएन। प्रहरीले पिछा गर्न खोज्यो। गाडीमा रहेका मानिसले सेतो रंगको झोला गाडीबाट बाहिर हुत्त्याए। गरुङ्गो झोला सडकमा फ्याँलेपछि प्रहरीले त्यसलाई हेर्न थाल्यो।
गाडीभित्रबाट सामान्य तरिका झै फ्याँलिएको झोलाभित्र भेटियो असामन्य वस्तु। झोला सुन र दुई थान पेस्तोलले भरिएको थियो। प्रहरीले फालिएका वस्तु बरामद गर्‍यो त्यत्तिकैमा गाडी त्यहाँबाट टाप।

गाडीबाट फ्याँकिएको झोलामा १५ किलो सुन जस्तो देखिने धातु बरामद भएको ज्ञवालीको भनाइ थियो । बरामद धातु परीक्षणपछि साढे १४ किलो चाँदी र आधा किलो मात्र सुन भएको पुष्टि भएको थियो । तर गाडीलाई किन पक्राउ गरिएन वा नाकामा किन छिटो खवर गरिएन । त्यति मात्र होइन, घटनालगत्तै दिइएको सवारीसाधनको नम्बर पनि गलत रहेको पाइएको छ । थापाथलीस्थित ट्राफिक प्रहरीलाई उपलब्ध गराइएको नम्बर बा ६ च ५५११ थियो । जबकी, त्यो नम्बरको गाडी कैलालीमा रहेको व्यक्तिको भएको पाइएको यातायात व्यवस्था कार्यालयको रेकर्डले देखाएको थियो ।

पछि ५५१९ नम्बरको गाडी बाराका इन्साद हुसेनको भएको पाइएको थियो र त्यसबाट थप अनुसन्धान सुरु भएको थियो । गाडीबारे नाकामा कार्यरत प्रहरी अधिकृतलाई पनि ढिलो गरी मात्र रिपोर्टिङ भएको पाइएको छ ।

‘भाग्ने वित्तिकै खबर गरेको भए पनि चेकपोइन्ट राखेर समातिहालिन्थ्यो, उम्किन सक्ने ठाउँ रहँदैनथ्यो’, अनुसन्धानमा खटिएका एक अधिकृतले बताए ।

यी र यसका पछाडी काठमाडौं प्रहरी र महानगरीय प्रहरी वृत्त, दरबारमार्गको नियत थियो वा लापरबाही मात्र भन्ने विषयमा चाहिँ छानविन समितिको अन्तिम प्रतिवेदन तयार भए नै निष्कर्षमा पुग्न सकिने समितिको दावी रहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board