सांसद लिलादेवी सिटौलाले लिइन् सभामुखबाट सपथ

काठमाडौं, १४ साउन । सभामुख अग्निप्रसाद सापकोटाले जनता समाजवादी पार्टी नेपालका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लीलादेवी सिटौलालाई पद तथा गोपनीयताको शपथ दिलएका छन् ।

सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आज आयोजित समारोहमा सभामुख सापकोटासमक्ष उनले खसआर्य समावेशी समूहबाट निर्वाचित भई शपथ लिएकी हुन् । सो अवसरमा सभामुख सापकोटाले सांसद सिटौलालाई सदस्य पदको प्रतीकचिह्नअङ्कित लकेट प्रदान गरेका थिए ।

तत्कालीन जनता पार्टी नेपालका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सरिता गिरीलाई पार्टीले बर्खास्त गरेपछि उक्त पद रिक्त थियो । भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्शामा समावेश गरेका विषयमा गिरीले दिएको अभिव्यक्ति राष्ट्रियता विपरीत भएको ठहर गर्दै पार्टीले उहाँलाई सांसदबाट बर्खास्त गर्ने निर्णय गरेको थियो ।

प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीको क्रमसङ्ख्या १९ र खसआर्य समावेशी समूहको क्रमसङ्ख्या २ मा रहेकी सिटौलालाई निर्वाचन आयोगले निर्वाचित भएको घोषणा गरेको हो । तत्कालीन नेकपा मालेको विद्यार्थी सङ्गठनबाट २०४४ सालमा राजनीतिमा प्रवेश गरेका सांसद सिटौला जसपाका संस्थापक सदस्य पनि छन् । झापाको अर्जुनधारामा २०२८ माघ ८ गते जन्मिएकी सिटौलाले सञ्चारकर्मीका एक प्रश्नमा नेपाली माटो र जनताप्रति कटिबद्ध भई राष्ट्रिय हित र जनजीविकासँग जोडिएका विषयमा आफूले आवाज उठाउने बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board