प्रधानमन्त्री ओली र उपाध्यक्ष गौतमबीच भैंसेपाटीमा भेटवार्ता

काठमाडौं, १३ साउन ।   नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई भेट्न प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली गौतम निवास भैसेपाटी पुगेका छन् ।

प्रधानमन्त्रीका साथमा नेकपाका महासचिव विष्णुप्रसाद पौडेल पनि छन्। ओलीले आजको स्थायी कमिटी बैठक स्थगित गरेपछि प्रचण्डले बैठक चलाएका थिए । बैठक अघि गौतमले पार्टीको विवाद समाधान गर्न ६ बुँदे प्रस्ताव पेस गरेका थिए । गौतमले एकता महाधिवेशन सहमतिमा गर्नुपर्ने पनि उल्लेख गरेका थिए।

पार्टीका बैठकहरु अब बालुवाटार नभइ केन्द्रीय कार्यालय धुम्बाराहीमा हुनुपर्ने उल्लेख गर्दै गौतमले मन्त्रिपरिषद पुनःगठन, संवैधानिक तथा राजनीतिक नियुक्ति पार्टी केन्द्रीय सचिवालयको सुझाव र परामर्शमा हुनुपर्ने समेत उल्लेख गरेका थिए।

नेकपाभित्र दुई अध्यक्ष प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डबीच विवाद उत्कर्षमा पुगेपछि अहिले दौडधुप चलिरहेको छ।

प्रधानमन्त्री ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग प्रचण्ड– नेपाल समूहले राख्दै आएका छन् भने प्रधानमन्त्रीले दुवै पद नछोड्ने अडान राख्दै आएका छन् ।

प्रधानमन्त्री ओलीले चाँडो एकता महाधिवेशन गरेर अध्यक्ष तथा साढे दुई वर्षपछि निर्वाचन गराएर प्रधानमन्त्री पद छोड्ने बताउँदै आएका छन्।

उपाध्यक्ष गौतमले मंगलबार ६ बुँदे प्रस्ताव सार्वजनिक गर्दै आफूलाई ओलीको पक्षमा रहेको बताएका थिए । तीन नेताबीच भैंसेपाटीमै खाना खाने कार्यक्रम तय गरिएको जानकारी पनि गराइएको छ ।

मंगलबार बालुवाटारमा भएको दाहाल–नेपाल समूहका स्थायी कमिटी बैठकमा उपाध्यक्ष गौतमले आफूले राखेको ६ बुँदे प्रस्तावबारे आफ्नो धारणा ब्यक्त गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति