अझै सञ्चालनमा आएका छैनन् देशभरका २९ सडकखण्ड

काठमाडौं, १२ साउन । बाढी र पहिरोका कारण अवरुद्ध देशभरका २९ सडकखण्ड अझै सञ्चालनमा आएका छैनन् । ३५ वटा सडकखण्डमा भने एकतर्फी रुपमा मात्रै गाडी चलिरहेका सडक विभागले जनाएको छ । अरनिको राजमार्ग अन्तर्गत जम्बु झ्याले डाकलांग शिरीसे सडकखण्ड लामो समयदेखि अवरुद्ध छ । साफेबगर मार्तडी सडकखण्ड पनि लामो समयदेखि बन्द नै छ ।

बुढीगङ्गा नदीले कटान गरेपछि अवरुद्ध यो सडकखण्ड खुल्न समय लाग्ने विभागले जनाएको छ । पहिरोका कारण अवरुद्ध बेनी जोमसोम कोरोला सडकखण्ड पनि सञ्चालनमा आउन सकेको छैन । म्याग्दीको दाना र गलेश्वर क्षेत्रमा पहिरो खसेर बेलिब्रिज बगाउँदा यो सडकखण्ड गएको असार २६ गतेदेखि अवरुद्ध भएको हो । यो सडकखण्डको अम्कोट, ताप्रीसेरा, घट्टेखोलालगायतका ठाउँमा पहिरो समेत गएको छ । यस्तै पहिरोका कारण अवरुद्ध कान्ति लोकपथ पनि अझै सञ्चालनमा आएको छैन । एक हप्तादेखि अवरुद्ध बेशी शहर चामे सडकखण्ड पनि बन्दै छ ।

यस्तै महाकाली राजमार्ग अन्तर्गत सतबाझ दार्चुला सडकखण्ड फेरि अवरुद्ध भएको छ । केही दिन अगाडि अवरुद्ध भएर सञ्चालनमा आएको यो सडकखण्डको ठाउठाउमा पहिरो गएकाले फेरि अवरुद्ध भएको सडक विभागले जनाएको छ ।

रसुवागढी नाका जोड्ने सडक ५ दिनदेखि ठप्प छ । बिहीबारदेखि अवरुद्ध भएको स्याफ्रु रसुवागढी सडकको पहिरो हटाउन नसक्दा सडक सञ्चालनमा आउन नसकेको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board