म्याग्दीमा पहिरो पीडित परिवारको बिचल्ली

म्याग्दी, १२ साउन । धवलागिरि गाउँपालिका–६ नामरुककी सबिना विक सुत्केरी भएको सोमबार २३ दिन पुगेको छ । घरवरिपरि पहिरोले घेरेपछि राम्चेस्थित दलित उत्थान सङ्घको भवनमा उनी बस्न थालेको १५ दिन भयो ।

असार २६ गते बिहान साढे सात बजेतिर पकाएको खाना छोडेर भागेकी सबिनाले घर फर्किएर बस्न सक्ने अवस्था नभएको बताए । ‘‘खाना खान बसेको बेला आंगनमुनिको उत्तिसको रुख ढल्यो, करेसाको उपल्लो गह्रासम्म पहिरो आएपछि मैले ठुली छोरी र छोरालाई समातें, श्रीमान्ले सानो छोरी समाएर भाग्यौँ’’ उनले भने, ‘‘दुई घण्टा टाढाको गोठमा अमिलो मोही र सातुको भरमा डेढ दिन कटायौँ। पहिरो रोकिएपछि युवा क्लवले यहाँ ल्याएर राखियो ।’’

सबिनाका परिवारमा सात जना छन् । उनका श्रीमान् सन्देशले आफन्तलाई खाट मागेको र पानी नपरेको अवस्थामा घरमा गएर खानेकुरा ल्याएर खुवाउने गरेको बताए । ‘‘पानी प¥यो भने पहिरो खसिहाल्छ, घर जान सकिँदैन,’’ उनले भने, ‘‘पालेको कुखुरा, साँचेको चामल, दाल पनि सकियो । करेसाको तरकारी पहिरोले पुरेको छ । आमालाई पोषिला खानेकुरा नभएर दूधले नअघाएर बच्चा रोयको रो¥यै गर्न थालेको छ ।’’

दुई महिनाअघि सुत्केरी भएकी हरिमाया विक र ३ महिना अघि सुत्केरी भएकी गिरु विक पनि पहिरोले घरमा बस्न जोखिम बनाएपछि सबिनासँगै दलित उत्थान सङ्घको भवनमा बस्नुभएको छ । पोषिला खानेकुरा खाएर आराम गर्नुपर्ने उनीहरु बिहान बेलुकी दाल, भात खाएर कष्टकर दिन बिताउन बाध्य भएका छन् ।

‘‘पहिराले घर कतिबेला पुर्छ भन्ने थाहा छैन । त्यही भएर सङ्घको भवनमा आएर बसेको हुँ,’’ हरिमायाले भने, ‘‘पानी र चिसोले आमा छोरोनै पखला लागेर बिरामी भएका छौं ।’’ राम्चेको सामुदायिक भवन र सडकमा बनाएको टहरामा १६ परिवार बसेको स्थानीय प्रेम लामगाडेले बताए ।

पहिरोको डरले राती सुत्नका लागि गाउँभरिका सबै जना टहरा र राम्चे सामुदायिक भवनमा आउँछन् । पहिरो पीडित बस्नका लागि बनाइएको ठाउँमा शौचालय र खानेपानीको सुबिधा छैन् । ‘‘खाद्यान्न, कपडा, त्रिपाल, म्याटे«स, सुरक्षित खानेपानी र सरसफाई सामग्रीको अभाव हुँदा महामारी फैलिने डर छ’’, उनले भने, ‘‘सडकमा त्रिपाल टाँगेर बनाएको टहरामा नल ओछ्याएर सुतेका छौं । भुईको चिसोले निद्रा नै पर्दैन् ।’’

पहिरोले उठिबास लगाएपछि मराङका बासिन्दाको जनजिवन कष्टकर बनेको छ । १५ दिनसम्म पनि पर्याप्त राहत सामग्री पुग्न र घरबास गुमाएकाको व्यवस्थापन हुन सकेको छैन । रिख, घण्टीवाङ र कुम्रिका पहिरो पीडितलाई आरवाङको जनविकास आधारभूत विद्यालयको भवनमा राखिएको छ । कल्लेनीका करिब २५ घरपरिवारलाई छिमेकी ७ नम्बर वडामा पर्ने शिवाङको हेम माविमा राखिएको छ । गाउँमा कोही नभएको समयमा घरमा राखिएका नगद, कपडा र खाद्यान्न चोरी हुन थालेको कल्लेनीका रत्नप्रसाद पुनले बताए ।

ठूलोगाउँ र खक्सीमा पहिरोको जोखिममा रहेका घरका बासिन्दा आफन्तकहाँ सुत्ने गरेको मराङका वडा अध्यक्ष राजाराम सुवेदीले बताउनुभयो । ‘बुलबाहेक वडाका सबै बस्ति पहिरोले प्रभावित भएका छन्’’, उनले भने, ‘‘बर्खा अझै बाँकी छ । कसरी जोगाउने भन्ने चिन्ताले सताएको छ ।’’ मराङका १९ जनाले पहिरोमा ज्यान गुमाएका थिए भने १२ जना घाइते भएका थिए । दुई जना अझै वेपत्ता छन् । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा मराङमा पहिरोले ७२ घरमा पूर्ण क्षति भएको उल्लेख छ । नेपाल रेडक्रस सोसाइटीको म्याग्दी शाखाका अनुसार १७ घर भत्किएको र १५ घरमा आंशिक क्षति तथा ७८ घर उच्च जोखिममा छन् ।

समन्वयको अभावमा निकाय पिच्छे फरक–फरक तथ्याङ्क हुँदा पीडितको पहिचान, वर्गीकरण गरि सरकारले घोषणा गरेको राहत उपलब्ध गराउन अलमल र ढिलाई भएको छ । परिवारका चार जना सदस्य गुमाएकी चनमति लामगाडेले गाउँपालिकाले दिएको रु दश हजार किरियाखर्च बाहेक प्रदेश र सङ्घीय सरकारले घोषणा गरेको राहत नपाएको गुनसो गरे । भौगोलिक बिकटता, घोरेटोबाटो, झोलुङ्गे पुल समेत बगाएको, दाताले हेलिकप्टरबाट ल्याएको राहत ठूलो सङ्ख्याका पीडितका लागि पर्याप्त नभएको कार्यपालिकाका सदस्य तिलकुमारी केसीले बताए ।

‘‘जताततै पहिरै पहिरो गएर थुनिएका छौं, अभावै अभाव छ, समस्या नै समस्या छ’’,उनले भने, ‘‘पहिरो पीडितको सुरक्षित व्यवस्थापन गर्न नसकेर हामीलाई पीडा भएको छ ।’’ सडक अवरुद्ध र भौगोलिक विकटताको बाहनामा स्थानीय प्रशासन, प्रदेश र सङ्घीय जनप्रतिनिधि तथा सुरक्षा निकायले उदाशिनता देखाएको पहिरो पीडितको गुनासो छ ।

दाताले दिएको राहत सामग्री पनि सदरमुकाम बेनीमै थुप्रिएको छ । पहिरोले अवरुद्ध सडक, घोरेटोबाटो, विद्युत, सञ्चार र खानेपानी सुचारु गराउन र राहत उपलब्ध गराउन सङ्घीय र प्रदेश सरकार तथा स्थानीय प्रहरी प्रशासनबाट सहयोगको अपेक्षा राखेको वडा अध्यक्ष सुवेदीले बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board