सार्वजनिक सवारी : सिटभर यात्रु राखेर महंगो भाडा असुल्दै

काठमाडौँ, ११ साउन । कोरोना भाइरसबाट बच्न सार्वजनिक यातायातमा लागू गरिएको नियम यातायात व्यवसायीका लागि बढी भाडा असुल्न मात्र उपयोग भइरहेको यात्रुको गुनासो छ । बन्दाबन्दी खुलेसँगै बाहिर निस्कने मानिस बढ्न थालेका छन् । जसका कारण सार्वजनिक यातायातमा भीड बढ्दै छ ।

सिट क्षमताको आधामात्र यात्रु राख्न पाउने नियमको चालक परिचालकले पालना गरेका छैनन् । नियामक निकाय ट्राफिक प्रहरीले पनि यसतर्फ ध्यान नदिएको यात्रु नवराज भण्डारीले गुनासो गरे । यात्रु चढेर ओर्लेपछि छोटो दूरीमा पनि न्यूनतम् रु २५ भाडा लिइए पनि सिट क्षमताको आधा यात्रु नराखेको उनले बताए ।

सिट क्षमताको आधामात्र यात्रु राख्न नै ५० प्रतिशत बढी भाडा लिन पाउने व्यवस्था गरिएको हो । परिचालकले चढ्नेलाई नआऊ भन्न नसकिने भनी उत्तर दिने गरेको नेपाल यातायातमा यात्रा गरी झर्नुभएकी यात्रु पार्वती घोरासैनीले बताए ।

सार्वजनिक सवारी सिटभर यात्रु भरिएर उभिरहेका बेला पनि आधा घण्टासम्म कुरेर पर्खने क्रम दोहोरिन थालेको उनको गुनासो छ । केही दिन अघिसम्म काठ क्षेत्रका सवारीमा मात्र यात्रुको भीड देखिने गरेकामा अब भित्री शहरमा चल्ने सवारीमा पनि भीड बढ्न थालेको छ ।

भित्री शहरमा चल्ने नेपाल यातायात, कान्तिपुर यातायात, विभिन्न स्थानमा चल्ने माइक्रो र सफा टेम्पोमा पनि सिटभर यात्रु देखिन थालेका छन् ।

अनुगमनको जिम्मेवारी ट्राफिक प्रहरीलाई दिइएको यातायात व्यवस्था विभागले जनाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका प्रवक्ता बामदेव गौतम जनशक्ति अभावका कारण सबैतिर आवश्यकता अनुसार अनुगमन गर्न नसकिएको स्वीकार्छन् ।

हाल उपत्यकामा पोशाक एवं सादा पोशाकमा समेत गरी २९ टोली सार्वजनिक यातायात अनुगमनकै लागि खटाइएको उनले सुनाए । शुक्रबार सिट क्षमताको आधाभन्दा बढी यात्रु राख्ने १९ सवारीलाई कारवाही गरिएको थियो । शनिबार भने सिट क्षमताभन्दा बढी यात्रु राख्ने सवारी कमै भेटिएका थिए ।

यसैगरी सरकारले तोकेको साविकको भाडादरमा ५० प्रतिशतभन्दा बढी भाडा लिने १३ वटा माइक्रो र ट्याक्सीलाई सवारी तथा यातायात व्यवस्था नियमावली अनुसार रु ५०० भन्दा बढी जरिवाना गरिएको छ । महाशाखाले शनिबार ८०४ सार्वजनिक सवारीमा अनुगमन गरेको थियो ।

आज सार्वजनिक सवारीमा बढी यात्रु चढेको भन्ने सूचना प्राप्त भएकाले मोटरसाइकलमा पनि अनुगमन टोली पठाइएको छ । टोलीले बढी यात्रुलाई सवारीबाट झारेर चिट काटी छाड्ने गरेको छ ।

सार्वजनिक सवारीले ५० प्रतिशतभन्दा बढी भाडा लिन बसभित्र स्यानिटाइजरलगायत सुरक्षा व्यवस्था मिलाएको हुनुपर्ने व्यवस्थाको पनि पालना भएको छैन । सार्वजनिक यातायातमा साबुन पानीले हात धुने व्यवस्था गर्न पानीको अभावका कारण कठिन छ । सार्वजनिक यातायातमा भीड बढेसँगै पुनःसङ्क्रमण बढ्नसक्ने खतरा देखिएको छ ।

सार्वजनिक यातायातमा सिट क्षमताको आधाभन्दा बढी यात्रु राखे, तोकिए भन्दा बढी भाडा लिएमा ट्राफिक प्रहरीको १०३ नं मा सम्पर्क गरेर उजूरी गर्न सकिने विभागका महानिर्देशक गोगनबहादुृर हमालले बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board