उत्तर कोरियामा मास्क नलाउनेलाई श्रम कैद

काठमाडौं, ९ साउन । उत्तर कोरियाले भलै आफूलाई कोरोना भाइरस मुक्त देश घोषणा गरे पनि कोरोना भाइरसबाट बचावटको लागि भने मास्क लगाउन अनिवार्य गरेको छ ।

समाचर अनुसार कोरोना भाइरसबाट बचावटको लागि लगाइने मास्कका विषयमा निकै कडा नियम लागू गरेको हो । उत्तर कोरियाले आफ्नो देशका नागरिकहरुलाई अनिवार्यरुपमा मास्क लगाउनुपर्ने नियम लागू गर्दै मास्क नलगाएमा कठोर सजायको प्रबन्ध गरेको समाचारमा उल्लेख गरेको छ ।

रेडियो फ्रि एसियाको एक रिपोर्टअनुसार उत्तर कोरियामा लागू भएको नयाँ नियम अनुसार त्यहाँ मास्क नलगाउने मानिसलाई पक्राउ गरी ३ महिनाको कडा श्रमकैदको सजायँ दिइनेछ ।

मास्क नलगाउने मानिसहरुको पहिचान गर्ने तथा पक्राउ गर्नका लागि विद्यार्थीहरुको टोली गठन गरिनेछ । मास्क गस्ती टोली भनिने उक्त विद्यार्थी टोलीहरुमा छिटै नै विद्यार्थीहरुको भर्ती सुरु गरिने पनि बताइएको छ ।

उत्तर कोरियामा कोरोना भाइरस फैलिन नदिनका लागि मानिसहरुलाई समूहमा जम्मा हुनमा रोक लगाइएको छ भने मास्क पहिरिनुपर्ने र सीमाक्षेत्रमा काम गर्ने मानिसहरुलाई छुट्टै बस्नुपर्ने नियम बनाइएको छ ।

उत्तर कोरियाली नेता किम जोंग उनले जुलाई महिनाको सुरुआतमै आफ्नो मुलुकले कोरोनाविरुद्धको लडाइँ जितेको घोषणा गर्दै अब उत्तर कोरियामा कोही पनि कोरोना संक्रमित नभएको जिकिर गरेका थिए । यद्यपि उनको दाबीको स्वतन्त्र रुपमा पुष्टि गर्ने कुनै आधार भने छैन । एजेन्सी

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board