22 July, 2020 11:37 am


पहिलो कम्युनिष्ट सदस्य बर्मन बुढाको निधन

रोल्पा, ७ साउन । रोल्पाका पहिलो कम्युनिष्ट सदस्य पूर्वसांसद बर्मन बुढाको आज बिहान ९० वर्षको उमेरमा निधन भएको छ । उनको आज बिहान ४ः३० बजे ललितपुरस्थित पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको उनकी छोरी विजया बुढाले जानकारी दिए ।

उनलाई आन्द्राको क्यान्सर भएको एक वर्षअघि रोग पत्ता लागेपछि काठमाडौँमा बसेर उपचार गराईरहेका थिए । केही दिनअघि रोगले च्यापेपछि थप उपचारका लागि पाटन अस्पतालमा भर्ना गरिएकामा आज बिहान निधन भएको छोरी विजयाले जानकारी दिए ।

स्व बुढा विसं २०४८ को संसदीय निर्वाचनमा रोल्पा निर्वाचन क्षेत्र नं १ बाट तत्कालीन संयुक्त जनमोर्चाको तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । रोल्पाको थवाङ घर भएका बुढालाई रोल्पाको कम्युनिष्ट पार्टीको संस्थापक मानिन्छ ।

लामो समय मन्त्री रहेका राप्रपा नेता बालाराम घर्तीमगरलाई हराउँदै विसं २०४८ को संसदीय निर्वाचनमा पहिलोपटक बुढा सांसद निर्वाचित भएका थिए । यसअघि उहाँ थवाङको मुखिया, प्रधानपञ्चको रूपमा लामो समय राजनीतिमा क्रियाशील रहेका थिए ।

प्रतिनिधिसभा बैठकमा थवाङको स्थानीय भेषवूषामा कछाड लगाएर उपस्थित भएर चर्चामा रहनुभएका स्व बुढाको विसं २०५२ को सशस्त्र युद्धपछि भने राजनीतिमा क्रियाशीलता कम हुँदै गएको थियो ।

कठिन परिस्थतिमा समेत रोल्पामा कम्युनिष्ट पार्टी निर्माण गरेको भन्दै रोल्पामा नेता बुढालाई आदर्श मान्ने गर्दछन् । उनी दुई वर्षअघि राष्ट्रका लागि योगदान गरेको भन्दै राष्ट्रपतिबाट विभूषितसमेत भएका थिए ।

राष्ट्रिय झण्डा ओढाएर सम्मान
पुराना कम्युनिष्ट नेता एवम् पूर्वसांसद बर्मन बुढाको पार्थिव शरीरमा उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका छन् ।

राष्ट्रिय झण्डा ओढाउँदै उपराष्ट्रपति नन्दबहादुर पुन र उनलाई सघाउँदै ऊर्जामन्त्री वर्षमान पुन

पशुपतिस्थित विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गर्नुअघि अन्तिम श्रद्धाञ्जली दिने क्रममा उपराष्ट्रपति पुनले राष्ट्रिय झण्डा ओढाएका हुन् ।

यसैगरी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board