आज साउनको पहिलो सोमबार, यस्तो छ धार्मिक महत्व

काठमाडौं, ५ साउन । आज साउन महिनाको पहिलो सोमबार । हिन्दू नेपाली नारीहरुका लागि आजको दिनलाई विशेष रुपमा लिइन्छ हिन्दु परम्परा अनुसार साउन महिना शिवको प्रिय महिना हो । हिन्दु महिलाहरुले साउने सोमबारलाई विशेष धार्मिक दिनका रुपमा लिने गर्दछन् । साउने सोमबारका दिन निराहार ब्रत बसी शिवजीको पूजा अराधना गर्दा मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । साउने सोमबारको दिन मनोकामना पूरा हुने विश्वासका साथ भगवान शिवलाई जल र बेलपत्र चढाँउने गरिन्छ ।

हिन्दू धर्ममा साउनलाई धर्मकर्मको महिना भनिन्छ ।साउने सोमबारमा शिवजीको पूजा उपासना गर्नाले आफू र आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु र घर परिवारमा सुख शान्ति छाउने धार्मिक विश्वास छ । हिन्दु धर्मग्रन्थ अनुसार भगवान शिवलाई सोमबारको स्वामी भनिन्छ । त्यसैले यो दिनलाई विशेष दिनका रुपमा लिइन्छ ।

साउने सोमबारका दिन शिवालयहरुमा भक्तजनको भिड लाग्ने गरेको भएपनि यसपटक कोरोना भाइरसको महामारीका कारण अधिकांश शिवालयहरुमा दर्शनार्थीको उपस्थिति न्यून रहेको छ ।

व्रत महिमा

शास्त्रअनुसार भगवान् शिवले सनतकुमारहरूलाई साउन महिनाको महिमा बताउने क्रममा भनेका छन्– मेरा तीन आँखामध्ये दाहिने आँखा सूर्य, बायाँ आँखा चन्द्रमा तथा बीचको आँखा अग्नि हुन् ।पुराणहरूमा मुख्य तीनथरि व्रतको चर्चा पाइन्छ । ती हुन्— साउने सोमबार, सोर्‍ह सोमबार एवं सोम प्रदोष । सोमबारको व्रत विधि पनि अन्य व्रतजस्तै हुन्छ । यो व्रत सूर्योदयदेखि प्रारम्भ भएर तेस्रो प्रहरसम्म बसिन्छ ।

दिनको तेस्रो प्रहर अर्थात् करिब तीन बजेतिर शिवजीको पूजा गरी कथा सुन्नुपर्छ । व्रत गरेको दिन बेलुका एकपटक सात्विक भोजन गर्नुपर्छ । यसरी व्रत बस्दा समस्या समाधान हुने जनविश्वास छ । गत वर्षरुमा साउने सोमबारका दिन काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, खोटाङको हलेसी महादेव, धरानको पिण्डेश्वर महादेव लगायत देशभरका शिवालयहरुमा भक्तजनको घुँइचो लाग्ने गरेको थियो । तर यसवर्ष भने केही शिवालयहरु बन्दछन् भने खुलेका मन्दिरहरुमा पनि भक्तजनको उपस्थिति न्यून छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति