6 July, 2020 8:52 am


नेकपा विवाद– जति उफ्रे पनि मिल्नुको विकल्प छैन

नेकपा एकताको समयदेखि नै एक अर्काप्रति गम्भीर आशंका र अविश्वासको भारी थियो केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच । तर स्थितिको बाध्यताले एकताबाट बाहिर जान नदिने अवस्था खडा भएकै कारण एकता भएको हो । ओली र प्रचण्ड दुवै नेताको प्रवृत्ति एकआपसमा समान कम र असमानता बढी भएका नेताहरु हुन् ।
यद्यपि नेपालको इतिहासमा २००७ सालदेखि राजनीतिक अस्थिरताको नराम्रो घाउले देश र जनता आजित परेका थिए । ०१५ सालमा बीपी कोइरालाले प्राप्त गरेको दुई तिहाईको बहुमतलाई राजा महेन्द्रले पन्पिन नपाउंदै निमोठे । २०४८ सालमा भएको निर्वाचनमा पुनः बीपीकै दल नेपाली कांग्रेसले सामान्य बहुमत ल्यायो । तर बीपीका भाई गिरिजाप्रसाद कोइरालाले ५ वर्ष जोगाउन सकेनन् । आफ्नै अग्रज गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको अपमान र वेवास्ताले गिरिजाको सत्ता धरमराएपछि उनले कुबाटो राजेर देशलाई मध्यावधिको दुष्चक्रमा धेकेले । पुनः ०५६ मा भएको निर्वाचनमा नेकांले बहुमत पायो । तर गिरिजा कोइरालाले आफ्नै अग्रज कृष्णप्रसाद भट्टराईलाई दश महिना पनि टिक्न दिएनन् । तर भट्टराईले गिरिजाले २०५१ सालमा गरेको गल्ती नगरीकन खुरुक्क प्रधानमन्त्री पदबाट हटिदिए । त्यसपछि प्रधानमन्त्री बनेका कोइराला २०५८ मा हट्न बाध्य भए । कोइरालाको उत्तराधिकारमा आएका शेरबहादुर देउवाले त संसदलाई दरबारको कौसीखाना जस्तो बनाइदिएको विशप्त इतिहासको स्मरण यतिबेला अरु बढी सान्दर्भिक हुनसक्छ ।
सत्ताधारी दल र प्रधानमन्त्रीले पार्टीभित्र संकट परेपछि कुन बाटो लिने भन्ने कुरालो धेरै कुरा निर्भर गर्दछ । वर्तमान नेकपा ४ जना प्रधानमन्त्री भएको दल हो । त्यस हिसाबले शासकीय अनुभव र महत्वाकांक्षाको समश्रिणको त्यहां कुनै कमी छैन । यही नै विवादको चुरो हो । नेकपाको विवाद कुनै सिद्धान्त, विचार वा नीतिका बारेमा केन्द्रित छैन । केवल शासकीय शैली र पार्टी पद्धतिका आआफ्ना खाले बुझाई र व्यवहारको चंगुलमा फस्न पुगेको छ नेकपा ।

राजनीति फोहरी खेल हुंदाहुंदै पनि न्युनतम वचनको इमान्दारिता र परिस्थितिको सही आंकलन सबैभन्दा जरुरी हुन्छ दल र सरकार सञ्चालन गर्न । नेपाली जनताले कमसेकम एकपटक भएपनि ५ वर्षे स्थायी सरकार देख्न अहिले पनि चाहेकै छन् । यो कुरालाई नेकपाको सिंगो पंक्तिले बुझ्न आवश्यक छ । यसले नेपालको राजनीतिक इतिहासमा एउटा नयां अध्यायको पनि शुरुवात गर्नेछ । तर त्यसका लागि मुख्य नेतृत्वले सबैभन्दा बढी सावधानी र सहकर्मीहरुको मन जित्ने कुरालाई सर्वथा उच्च महत्व दिनु पर्दछ । यसको कमी नै यतिबेलाको नेकपाको कचल्टिएको विवाद हो ।
दलीय व्यस्थामा व्यक्ति भन्दा दल प्रधान हुनु पर्दछ । व्यक्ति मातहत दल होइन कि दल मातहत जुनसुकै पदमा आसिन भएपनि व्यक्ति रहन तयार हुनु पर्दछ । त्यसमा पनि कम्युनिष्ट पार्टीमा त जनवादी केन्द्रियताको सिद्धान्त नै सबैभन्दा ठूलो शास्त्र हो । यसमा वर्तमान नेकपाका कुनै पनि नेतामा विवाद छैन । तर व्यवहार ठीक उल्टो हुन थाल्दैछ ।
देशको आवश्यकता, भुराजनीतिक संवेदनशीलता र जनताको आकांक्षाका कारण जतिसुकै उफ्रेपनि नेकपाको एकताको विकल्प एकता नै हो । प्रधानमन्त्रीबाट भएका कमीकमजोरीको स्वस्थ समीक्षा हुनु पर्दछ । सुधार गर्ने परिपाटी बसाल्नु पर्दछ । कुनै कारणले चित्त बुझेन भने अपदस्थ गर्ने भन्ने सोच विध्वंसात्मक हो । पार्टी सहकर्मीहरुको सरकारलाई साथ भएन भने सहयोग गरिदिउन् भनेर कुर्ने होइन कि प्रधानमन्त्रीले खुलस्त यसरी सघाउनु प¥यो भनेर सहमत गराउनु पर्दछ । सरकारको सफलता नै पार्टीको सफलता हो । ठीक त्यसैगरी पार्टीको चलायमान अवस्थाले मात्र सरकार सफल हुन सक्दछ । उपस्थित चुनौतिलाई सामना गर्ने सामथ्र्य प्रदान गर्दछ । दुई पार्टीबीच भएका सहमति र समझदारीलाई बुद्धिमत्तापूर्वक आफ्नै हिसाबले पालना गर्दै अघि बढ्नु पर्दछ । ती सहमति र समझदारीलाई विपक्षीका दैलोमा वा सार्वजनिक बजारमा छर्ने प्रवृत्ति सर्वथा घातक हुन्छ । अहिले कतै त्यही भएको त होइन ? फेरि पनि प्रधानमन्त्रीले राजनीतिक समाधान खोज्नु पर्दछ । केवल संवैधानिक वा कानुनी बाटोले दलीय राजनीतिक समस्या समाधान हुंदैन ।

राष्ट्रिय मुद्धामा दृढ अडान र पार्टीका आन्तरिक विषयमा अधिकतम लचकता अपनाउने जननेता मदन भण्डारीबाट नेकपाको हाइकमाण्डले शिक्षा लिनै पर्दछ । त्यसो हुने वित्तिकै जस्तासुकै आन्तरिक समस्या पनि समाधान हुन्छन् । वास्तवमै केवल मदन भण्डारीको नाम जपेर होइन मदन भण्डारीको विचार र कार्यशैलीको आत्मसातीकरणरले मात्र मदनप्रतिको सम्मान र सच्चा आदर हुनेछ । यस विषयमा नेकपा हाइकमाण्डले ठण्डा दिमागले सोच्नै पर्दछ । तसर्थ संसदीय गन्धाशैलीमा सार्वजनिक रुपले उफ्रने प्रवृत्तिमा नेकपाले सदाका लागि विराम लगाएर कमसेकम एक कम्युनिष्ट नभएपनि वामपन्थी दलसम्मको हैसियत त जोगाउनै पर्दछ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board