चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट आयात सुरु हुने

काठमाडौं, १९ असार । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट सोमबारदेखि आयात सुरु हुने भएको छ । एक साताअघि नै नाका खोल्ने सहमति भए पनि चिनियाँ पक्षले हिजोदेखि सामग्री लोड गर्न थालेको हो ।

सामग्री लोड हुन थालेको र सम्पूर्ण जाँचपासको प्रक्रिया पूरा गरेर चिनियाँ गाडी सोमबार रसुवागढी नाका आइपुग्ने रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले बताए । कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन भन्दै गएको माघ १५ गतेदेखि नाका बन्द भएको थियो ।

सीमामा व्यापारिक गतिविधि बढेपछि कोरोनाको सङ्क्रमण पनि फैलन सक्ने भएकाले स्वास्थ्य सुरक्षालाई ध्यान दिएर नाका खोल्ने सहमति भएको थियो । पहिलो चरणमा नेपाली पक्षले चिनियाँ पक्षलाई १५ जना चालक र १५ जना कामदारको विवरण उपलब्ध गराएको छ ।

नाका सञ्चालनमा आएपछि मितेरी पुलसम्म चिनियाँ पक्षले नै सामग्री ल्याइदिनेछन् । मितेरी पुलमा सामग्री लिन जाने चालक तथा लोड अनलोडका लागि जाने कामदारको दैनिक परीक्षण गरिने उनले बताए । मितेरी पुललाई प्यासेन्जर निषेधित क्षेत्र बनाइनेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति