धान खेती र अर्थतन्त्रः यस्तो छ धान रोपाइँ महोत्सवको ईतिहास

काठमाडौं, १५ असार । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आजकै दिन रोपाइँ गरी दही च्यूरा खाएर मनाईदै आएको छ । धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्युनीकरण भन्ने नाराका साथ आज १७ औं राष्ट्रिय धान दिवस मनाइँदै छ ।

संयुक्त राष्ट्र संघले सन् १९६६ मा भोकमरीबाट मुक्त भन्ने नारासहित धान बालीलाई वर्षे बालीको रुपमा मनाउने घोषणा गरेको थियो । नेपालले वि.सं २०६२ देखि असार १५ लाई धान दिवसका रुपमा मनाउदै आएको छ ।

धान खेतीमा कृषकलाई प्रोत्साहन गर्न सरकारबाटै असार १५ लाई धान दिवसका रुपमा उल्लासमय रुपमा मनाउन सुरु गरिएको थियो । अहिले कोभिड महामारीका बीचमा पनि किसान हतोत्साही नबनुन् भनेर दिवश मनाइएको मन्त्रालयले जनाएको छ ।

विसं २०६१ मा विश्वका ४३ मुलुकले संयुक्त राष्ट्र संघलाई अन्तराष्ट्रिय धान वर्ष घोषणा गर्न अनुरोध गरे । उक्त समूहमा रहेका ४३ मध्येका एक राष्ट्र नेपाल पनि थियो । विश्वका झण्डै आधा जनसंख्याको मुख्य आहार मानिने धान उत्पादन प्रोत्साहन गर्न र बढ्दो भोकमरी नियन्त्रणमा सघाउ पुर्‍याउन उक्त कदम चालिएको थियो ।

विसं २०६१ अर्थात सन् २००४ मा संयुक्त राष्ट्र संघले ‘धान नै जीवन हो’ भन्ने नारासहित उक्त घोषणा गरेको थियो । पूर्वकृषि सचिव उत्तमकुमार भट्टराईका अनुसार राष्ट्र सङ्घले धान वर्ष घोषणा गरेपछि विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी पहिलो पटक विसं २०६२ असार १५ गतेदेखि नेपालमा धान दिवस मनाउन थालिएको हो ।

नेपालमा मुख्य गरेर दुई सिजनमा धान खेती गरिन्छ । चैतमा रोपेर असार साउनमा बाली भित्र्याउने तथा असारदेखि भदौ अन्तिमसम्म रोपेर मंसिरमा बाली भित्र्याउने चलन छ । कृषि मन्त्रालयका अनुसार यसका अलवा भदैया, हिउँदे गरेर तराईंमा वर्षै भरी धान खेती गर्न सकिने प्रविधिको विकास भइसकेको छ ।

नेपालको आर्थिक बृद्धिदर नै धानको उत्पादनमा निर्भर हुने भएकाले यसको महत्व अत्याधिक छ । धानको उत्पादन बढ्दा कुल ग्राहस्थ उत्पादन पनि बढ्छ भने धानमा समस्या आउँदा त्यसको असर कुल ग्राहस्थ उत्पादनमा देखिन्छ ।

केन्द्रीय तथ्यंक विभागले चालु आर्थिक वर्षमा २.२८ प्रतिशत मात्रै आर्थिक बृद्धि हुने प्रक्षेपण गरेको छ । जसमा कृषि क्षेत्रको योगदान २।४८ प्रतिशत रहने प्रक्षेपण गरिएको छ ।

कोरोनाका कारण अन्य क्षेत्रको योगदान खुम्चिँन पुग्दा कृषिको योगदान अझै ठूलो हुन सक्ने र कुल योगदानमा धानको मात्रै योगदान ७ प्रतिशत हाराहारी हुने धान विज्ञ हरिकृष्ण उप्रेतीको अनुमान छ ।

कृषि विकास मन्त्रालयका अनुसार नेपालमा मनाङ मुस्ताङबाहेक अन्य सबै जिल्लामा धान खेति गरिने छ । चालु आर्थिक वर्ष नेपालमा १४ लाख ५८ हजार ९ सय १५ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । जसमा ५५ लाख ५० हजार ८ सय ७८ मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयका प्रवक्ता डा हरिबहादुर केसीको भनाई छ ।

नेपालमा चैते धान, वर्षे धान, घैया धानको खेती हुँदै आएको छ यस वर्ष प्रिमनसुन सिजनदेखि नै पर्याप्त पानी परिरहेकाले मध्य असारसम्म आइपुग्दा २५ प्रतिशत रोपाईँ सकिइसकेको छ । यस वर्ष कृषकलाई कोरोनाको कहर र सलहको अर्को प्राकृतिक आपत् पनि थपिदा किसान चिन्तित भएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति