नेपालमा थप अर्को एक जनाको कोरोनाबाट मृत्यु : मृत्यु हुनेको संख्या २ पुग्यो

काठमाडौं, ४ जेठ ।बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टिनमा बसेका एक युवकको कोरोन संक्रमणका कारण आज मृत्यु भएको छ । गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टिनमा रहेका २५ वर्षीय युवकको बिहान एक्कासि स्वास्थ्यावस्था असामान्य भएपछि क्वारेन्टिनमै मृत्यु भएको गाउँपालिका नरैनापुरका स्वास्थ्य शाखा संयोजक मोइन खानले बताउनुभयो ।

उहाँका अनुसार बिरामीलाई उपचारका लागि अस्पताल लैजान एम्बुलेन्स बोलाइए पनि एम्बुलेन्स पुग्नुअगावै युवककोे मृत्युु भएको थियो । क्वारेन्टिनमा बसेका युवकको मृत्यु भएपछि नरैनापुरवासी त्रसित हुन पुगेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले रातिदेखि स्वास्थ्यमा समस्या देखिएकामा बिहान करिब ६ बजे युवकको मृत्यु भएको जानकारी दिनुभयो । कोरोना परीक्षणका लागि मृतक युवकको स्वाब को रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।

शनिबार मात्र कोरोना भाइरसको संक्रमणबाट नेपालमा पहिलो मृत्यु पुष्टि भएको थियो । सिन्धुपाल्चोककी २६ वर्षीया सुत्केरी महिलाको बिहीबार मृत्यु भएको थियो । मन्त्रालयले शनिबार उनको मृत्यु कोरोना संक्रमणबाट भएको घोषणा गरेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति