5 May, 2020 9:58 pm


६ जना भारतीयको पछिल्लो रिपोर्ट नेगेटिभ, बुधबार डिस्चार्ज हुने

मोरङ, २३ बैशाख । वैशाख ५ गते संक्रमण पुष्टि भएका ६ जना भारतीयको स्वाब नमुनाको पछिल्लो परीक्षणको रिपोर्ट ‘नेगेटिभ’आएको छ । उनीहरुमा संक्रमण नदेखिएपछि कोसी अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको छ । विराटनगरस्थित कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्रको आइसोलेसनमा १९ दिनदेखि बस्दै आएका उदयपुरको भुल्केस्थित नुरी मस्जिदमा भेटिएका ती ६ जना भारतीयलाई बुधबार डिस्चार्ज गरी क्वारेन्टाइनमा राखिने भएको छ ।

संक्रमण पुष्टि भएका अरु ७ जनाको परीक्षण रिपोर्ट भने ‘पोजिटिभ’देखिएको छ । यसअघि संक्रमण पुष्टि भएकाहरुको विराटनगरस्थित कोसी अस्पतालको पीसीआर ल्याबमा शुक्रबारदेखि लगातार स्वाब नमुना परीक्षण गरिँदै आएको थियो । शुक्रबारयताको तेस्रोपटकको परीक्षणमा मंगलबार उनीहरुमा संक्रमण नदेखिएपछि डिस्चार्ज गर्न लागिएको प्रदेश सरकारले जनाएको छ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले सबभन्दा पहिले संक्रमण पुष्टि भएका १३ जनाको लगातार तीनपटक थ्रोट स्वाब परीक्षण गर्दा ६ जनामा संक्रमण नदेखिएको पुष्टि भएको बताउनुभयो । अन्य ७ जनामा भने तीनै पटकको परीक्षणमा संक्रमण देखिएको चिकित्सकको रिपोर्ट आएको उहाले बताउनुभयो । उनीहरुलाई भने आइसोलेसनमा राखेर हेरचाह गरिने छ ।

कोभिड–१९ उपचार केन्द्रमा रहेका भुल्केका अन्य १५ जनाको पनि सोमबार परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । उनीहरुको प्रयोगशाला रिपोर्ट आउन बाँकी छ । संक्रमितहरुको सम्पर्कमा आएका भुल्के बस्तीका थप १६ जनामा पनि संक्रमण पुष्टि भएको थियो । ती सबैलाई केन्द्रमा राखेर हेरचाह गरिँदै आएको छ । प्रदेश १ मा भोजपुरको हतुवागढीका १ र झापाको बाह्रदशी र दमकका गरी २ जनामा संक्रमण पुष्टि भएपछि उक्त केन्द्रमा राखिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board