5 May, 2020 8:10 am


नयाँ भर्ना र अनलाइन पढाइको शुल्क नलिन शिक्षामन्त्रालयको निर्देशन

काठमाडौं, २३ बैशाख । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सबै विद्यालयहरुलाई नयाँ भर्ना नलिन र अनलाइन पठन पाठनको नाममा शुल्क नलिन निर्देशन दिएको छ ।

मन्त्रालयका प्रवक्ता एवम् सहसचिव दीपक शर्माले जारी गरेको विद्यार्थी भर्ना तथा परीक्षा सम्बन्धी निर्देशनमा भनिएको छ, “हाल सबै विद्यालयहरुको भर्ना तथा पठनपाठन स्थगित रहेको हुँदा यस सम्बन्धमा नेपाल सरकारबाट अर्को निर्णय नभएसम्म कुनै पनि विद्यालयले कुनै पनि कक्षा वा तहमा नयाँ भर्ना नगर्नु, नगराउनु हुनाका साथै भर्नाका नाममा कुनै किसिमले शुल्क लिने, अनलाइन पठन पाठनको नाममा शुल्क लिने वा बैंक खातामा रकम जम्मा गर्न लगाउनेजस्ता कार्यहरु नगर्नु, नगराउनुहुन सूचित गरिन्छ ।”

त्यसैगरी कक्षा १० को अन्त्यमा लिइने एसईई र कक्षा ११ तथा १२ का परीक्षाहरु स्थगित रहेको अवस्थामा मन्त्रालयबाट वस्तुस्थितिको सुक्ष्म अध्ययन र परामर्श लिने कार्य जारी रहेको हुँदा परीक्षा सञ्चालन सम्बन्धमा हालसम्म कुनै थप वा नयाँ निर्णय नभएको उल्लेख गरिएको छ । त्यसैगरी संस्थागत विद्यालयहरुले माध्यमिक तहसम्मको एक महिनाको शुल्कमध्ये आवास शुल्कबाहेक अन्य सबै प्रकारको शुल्क छुट दिने भनी नेपाल सरकारले गरेको निर्णय कार्यान्वयन गरी अभिभावक तथा स्थानीय तहलाई आवश्यक जानकारी दिन सूचित गरिएको छ ।

 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board