3 May, 2020 11:39 am


ग्रिन जोनको लकडाउन हटाउने तयारी, सीमानाका र अन्तराष्ट्रिय उडान साउन मसान्तसम्म बन्द गर्न प्रस्ताव

काठमाडौं, २१ बैशाख । सरकारले जारी लकडाउनलाई थप व्यवस्थित गर्दै जोखिम कम भएको क्षेत्रमा खुकुलो पार्ने गरी रणनीति तयार पारेको छ । लकडाउन खुकुलो र खुला गर्ने उद्देश्यसहित सरकारले ‘कोभिड–१९ बहिर्गमन’ रणनीति तयार पारेको हो ।
कोरोनाको सम्भावित महामारी कम गर्न ४१ दिनदेखि जारी लकडाउनले सर्वसाधारणको जनजीवन अस्तव्यस्त भएको अवस्थालाई मध्यजनर गर्दै सरकारले लकडाउनको स्वरुप फर्ने गरी कार्ययोजना बनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तयार पारेको कार्ययोजनामा लकडाउनका कारण मुलुकको आर्थिक अवस्थासमेत कमजोर हुँदै गएको विश्लेषण गरिएको छ ।

उक्त रणनीतिमा उल्लिखित कार्ययोजनामा सिंगो देशलाई तीन क्षेत्रमा विभाजन गरी सोहीअनुसार लकडाउनलाई खुकुलो बनाइने तयारी गरिएको हो । सरकारले पछिल्लो पटक थप गरेको लकडाउनको अवधि यहि २५ गते सकिदैछ । जसलाई मध्यजनर गर्दै अब लकडाउनको स्वरुप फेर्ने तयारी सरकारले गरेको छ । जसअनुसार अब स्वास्थ्यसम्बन्धी तथ्यांक र वैज्ञानिक विश्लेषणका आधारमा देशका विभिन्न भागलाई हरियो क्षेत्र (ग्रिन जोन), पहेंलो क्षेत्र (एलो जोन) र रातो क्षेत्र (रेड जोन)मा विभाजन गरिनेछ ।

विभाजन गरिएपछि संक्रमण नियन्त्रणमा रहेको क्षेत्रलाई ग्रिन जोनमा राखिनेछ र ग्रिन जोनमा पर्ने जिल्ला तथा क्षेत्रमा लकडाउन हटाएर सबै क्रियाकलाप खुला राखिनेछ । यस्तै संक्रमण नियन्त्रण उन्मुख रहेका जिल्ला तथा क्षेत्रलाई एल्लो जोनमा राखिनेछ र सो क्षेत्रमा मुख्य क्रियाकलाप मात्रै खुला राखिनेछ । संक्रमण नियन्त्रण बाहिर रहेको क्षेत्रमा भने लकडाउन जारी राखिनेछ र कृषिबाहेक अन्य सबै क्रियाकलाप बन्द गरिनेछ ।

कार्ययोजना अनुसार लामो समयसम्म लकडाउन जारी राखिने रेड जोनमा अत्यावश्यक खाद्यान्न आपूर्ति गर्ने तथा राहत आवश्यक पर्ने परिवारका लागि राहत दिने व्यवस्था सरकारले मिलाउनेछ । २५ वैशाखपछि जोनअनुसार गर्नेबारे सरकारले छलफल जारी राखेको छ ।

वैशाख २५ गतेपछि लकडाउन खुकुलो पार्ने तयारी गरिए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अन्तर्राष्ट्रिय उडान र सीमानाका अझै साढे तीन महिनासम्म बन्द राख्न सुझाव दिने तयारी गरेको छ ।

लकडाउन डेढ माहिनातिर लम्किँदै गर्दा यसका सम्भावित विकल्पबारे मन्त्रालयले छलफल सुरु गरेको हो । मुख्यसचिव नेतृत्वको कोभिड(१९ निर्देशक समितिले लकडाउनको मोडालिटीबारे खाका प्रस्तुत गर्न निर्देशन दिएपछि मन्त्रालयले विज्ञहरुसँग छलफल गरी सीमानाका र अन्तराष्ट्रिय उडान साउन मसान्तसम्म बन्द गर्न प्रस्तावसहितको सुझाव तयार पारेको हो ।

लकडाउनसम्बन्धी राष्ट्रिय रणनीतिलाई सूचित गर्न बनेको स्वास्थ्य क्षेत्रको स्थितिपत्र पहिलो मस्यौदामा अन्तर्राष्ट्रिय उडान र सीमानाका साउन मसान्तसम्म बन्द गर्नुपर्ने उल्लेख गरिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board