2 May, 2020 9:57 pm


नेकपा अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीवीच उच्चस्तरीय सहमती

काठमाडौं, २० वैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले बैशाख २५ गते स्थायी कमिटि बैठक बोलाउने निर्णय गरेको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले बैशाख २५ गते स्थायी कमिटि बैठक बोलाउने निर्णय गरेको हो । सचिवालय बैठकले निकालेका निष्कर्ष, पार्टीको अहिलको अवस्था र आगामी कार्यदिशाका बारेमा स्थायी कमिटि बैठकमा गम्भिर छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

त्यसअघि बैशाख २४ गते दिउँसो ३ बजे सचिवालय बैठक बोलाइएको छ । सचिवालय बैठकले पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई प्रतिनिधिसभामा लैजाने निर्णय पनि गरेको छ । उपयुक्त समय हेरेर उपाध्यक्ष गौतमलाई प्रतिनिधिसभामा लैजाने निर्णय पनि बैठकले गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । ‘‘सचिवालयले पार्टीका उपाध्यक्ष गौतमलाई उपयुक्त, समयमा प्रतिनिधिसभा उम्मेदवार बनाउने र प्रतिनिधिसभामा लैजान पहल गर्ने निर्णय गरेको छ’’, प्रवक्ता श्रेष्ठले भन्नुभयो ।

गौतमलाई प्रतिनिधिसभामा लैजाने निर्णय सचिवालयले गरेपनि पार्टीमा वरिष्ठ नेता माधव कुमार नेपाललाई तेस्रो अध्यक्षका रुपमा अगाडी बढाउने प्रधानमन्त्री ओलीको प्रस्तावमा भने कुनै निर्णय भएन् । नेता नेपाल नै उक्त प्रस्तावमा असहमत भएकाले कुनै निर्णय नभएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । पार्टीभित्र देखिएका समस्या र संकटलार्ई समाधान गर्ने गरी एकतावद्ध भएर पार्टीएकताको पक्षमा दृढ रहने संकल्प बैठकले गरेको छ । बैठकले पार्टीलाई कमजोर पार्ने र गुटलाई बलियो बनाउने कुनै पनि कुरामा सामेल नहुन पार्टीका सम्पूर्ण सदस्यलाई सचिवालयले निर्देशन दिएको उहाँले बताउनुभयो ।

पार्टीलाई एकतावद्ध गरेर नीति र विधिअनुसार अगाडी बढ्ने विषयमा सचिवालय सदस्यहरु एकमत भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । पार्टीको नीति, निर्देशन र मार्गचित्र अनुसार सरकार सञ्चालन गर्नुपर्ने र सरकारले गर्ने हरेक निर्णयहरुका विषयमा पार्टीभित्र छलफल हुनुपर्ने कुरामा पनि सचिवालय सदस्यहरु एकमत भएका छन् । बैठकमा प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड लगायत सचिवालय सदस्यले आफ्ना कमि कमजोरी सच्याएर आगाडी बढ्नेगरी आत्मालोचना गरेको उहााले बताउनुभयो ।

अहिलेसम्म पार्टी र सरकार सञ्चालनमा भएका कमि कमजोरी सच्याएर अगाडी बढ्ने विषयमा प्रधानमन्त्री सकारात्मक हुनुभएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । सबै नेताहरु आफ्नो जिम्मेवारी अनुसार सकारात्मक ढंगले अगाडी बढ्ने संकल्प लिएको उहाँले बताउनुभयो । ‘‘यसक्रमम पार्टी, सरकार वा सम्बन्धित क्षेत्रहरुमा जेजति कमिकमजोरी भएका छन् ती कमिकमजोरीहरुमा आफ्नो हकको जिम्मेवारीका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालेचना गर्नुभएको छ ।

त्यस्तै अध्यक्ष कमरेड प्रचण्ड र अरु कमरेडहरुले पनि त्यही अनुसार आत्मालोचित हुँदै अगाडी बढ्ने संकल्पन गरेका छन्’’, उहाँले भन्नुभयो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको बजेट अधिवेशन छिट्टै बोलाउने विषयमा पनि जानकारी गराउनुभएको थियो ।

सरकारले आगामी वर्षका लागि प्रस्तुत गर्ने नीति तथा कार्यक्रम र बजेटका विषयमा पनि पार्टीभित्र छलफल गर्ने र जनादेश अनुसार सरकार अगाडी बढ्नुपर्ने निष्कर्ष पनि बैठकले निकाले उहाँले बताउनुभयो । सचिवालय बैठकले देश कोरोना महामारीसँग लडिरहेको सन्दर्भमा सम्पूर्ण राजनीतिक दल र पार्टीका नेताहरुलाई एकजुट भएर अगाडी बढ्न आग्रह गर्ने पनि निर्णय गरेको छ । यसैवीच एक स्रोतका अनुसार पाल्पा १ बाट निर्वाचित दलबहादुर रानालाई राजिनामा गर्न लगाएर उक्त क्षेत्रबाट बामदेव गौतमलाई निर्वाचित गराउने तयारी भएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board