29 April, 2020 10:05 am


(नेकपा) भित्रको विवाद उत्कर्षमा, मिलेरै अघि बढ्न संसदहरुको सुझाव (भिडियोसहित)

काठमाडौं, १७ बैशाख । सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएपछि शुरु भएको नेकपा भित्रको विवाद उत्कर्षमा पुगेको छ । सरकारले अध्यादेश फिर्ता लिइसकेको अवस्थामा पनि विवाद झन भन्दा झन बढ्दै गएको छ । शीर्ष नेताहरु एकल र सामुहिक रुपमा गुट उपगुटको भेलामा ब्यस्त रहेका छन् । यद्यपी सांसदहरुले भने नेताहरुको छुट्टै भेलाको औचित्य नभएको भन्दै विधि र पद्धतीमा पालना गर्दै पार्टी चलाउन र सामुहिक रुपमा अगाडी बढ्न माग गरेका छन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेको छ । लामो समयदेखि आन्तरिक रुपमा असहमती र असमझदारी बढिरहेको नेकपाभित्र बैशाख ८ गते सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएपछि त्यसको पार्टीभित्र तिव्र आलोचना भएको थियो । त्यसपछि नै नेकपाको विवाद बाहिर आएको छ भने शक्ति संघर्ष शुरु भएको छ ।

सरकारले बैशाख १२ गते विवाद कम गराउने हिसाबले अध्यादेश फिर्तालिए पनि पार्टी भित्रको विवाद रोकिएन । झनझन बढेर गइरहेको छ । विवादको विचमा शिर्ष नेताहरु एकपछि अर्को गर्दै अनौपचारिक भेटघाट तिव्र पारिरहेका छन् । बिभिन्न गुट, उपगुटमा नेताहरु विभक्त भएपनि खासगरी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालको दौडधुप र सक्रियता बढेको छ भने आफु पक्षिय नेताहरुको भेला छुट्टाछुट्टै रुपमा तिव्र पारेका छन् । नेताहरुको यि भेलाहरुले पार्टीमा आन्तरिक शक्ति सन्तुलन पेचिलो बनेको निष्कर्ष निकाल्न गाह्रो छैन ।

नेताहरु समुह समुहको भेलामा लागेपछि नेकपा पार्टी फुट्नसक्ने, सरकार परिवर्तन हुनसक्ने सम्मको अड्कलबाजिहरु हुन थालेका छन् भने सहमती, सहकार्य र एकताको प्रयासपनि नेताहरुले थालेका छन् । तर कुन विन्दुमा पुगेर सहमती हुनेछ र विवाद साम्य हुनेछ भन्ने एकिन साथ भन्न सकिएको छैन । अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपाल लगायतका बहुमत सदस्यले पार्टी सचिवालय बैठकको माग गरेका छन् । २० जना स्थायी कमिटी सदस्यहरुले पनि स्थायी कमिटी बैठकको माग गरिरहेका छन् ।

तर अध्यक्ष ओली सचिवालय बैठक राख्न तयार भएपनि आन्तरिक रुपमा विवाद साम्य पार्ने मोडालिटीमा सहमती नभई बैठक राख्न सकेका छैनन । सहमतीमा ल्याउने प्रयत्न ओलीले जारी राख्नुभएको छ । नेताहरु यो र त्यागे मेरो पक्षको सांसद भनेर सांसदको जोड घटाउमै लागिरहेको अवस्थामा सांसदहरुले भने शिर्ष नेताहरुलाई मिलेर जान सुझाव दिएका छन् । सामुहिक निर्णय र एकतामा विधि सम्मत् ढंगले पार्टी चलाउन सांसदहरुको सुझाव छ । अहिले नेकपा भित्र देखिएको विवाद पार्टीलाई र सरकारलाई संस्थागत ढंगले अगाडी बढाउनको निम्ति भएको नेकपाका सांसद झपट रावल बताउनुहुन्छ ।

नेताहरु सांसद किनबेच गर्नसम्म लागेको सामाजिक सञ्जालमा पार्टी नेता कार्यकर्ताहरुकै प्रतिक्रिया आइरहेका छन् । नेताहरुले सांसदहरुलाई विभिन्न चरणमा भेला गर्न पनि शुरु गरेका छन् । यद्यपी सांसदहरु यता र उता तानातानमा नपरेको सांसद पार्वती कुमारी बिशंखे बताउनुहुन्छ । पार्टी भित्र शक्ति सन्तुलन मिलाउने प्रयत्न भइरहेको भएपनि नेताहरु एउटै थलोमा बसेर निर्णय गुर्नपर्ने उहाँको भनाई छ ।

नेकपाका नेताहरुको दौडधुप तिव्र रहेको छ । शिर्ष तिन नेताका आ–आफ्नै दाउ रहेका छन् । यद्यपी वार्ता र सहमतीको प्रयास भने तिनै नेताहरुबाट भईरहेको छ । सांसदहरुले नेताहरुलाई चौतारामा बसेर आ– आफ्नो भेला नगरी विधिसम्मत् ढंगले पार्टी कमिटीमा बसेर छलफल गर्न र विवाद सुल्झाउन अनुरोध गरेका छन् ।

नेकपा भित्रको अहिलेको विवादको सहमतीय स्वरुप कस्तो रहला त्यो भने हेर्न बाँकी नै छ । तर राजनीतिक स्थिरता र स्थायित्वको निम्ति नेकपालाई दिइएको जनमतको एक आपसमा जुँगाको लडाइँ गरेर अपमान गर्नु हुँदैन । सत्ता र शक्तिको निम्ति नै राजनीति गरिरहेको परिभाषालाई बदलेर राजनीतिक स्थिरता र स्थायित्वको निम्ति, जनताको निम्ति राजनीति गरिरहेको जनतालाई आश्वस्त पार्नु आवश्यक छ । नेकपा भित्रको विवाद र फुटले सरकार र सिंगो देशको राजनीतिक वृत्तमा दिर्घकालिन असर पर्छ । पद लोलुपता र शक्तिको लोभमा नलागि नेताहरु मिल्नुको विकल्प छैन ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board