18 February, 2020 1:23 pm


नक्कली नागरिकताधारी आनी छोइङ डोल्माको वास्तविकता यस्तो ( भिडियोसहित)

काठमाडौं, ६ फागुन ।  सन् १९५० को दशकको मध्यतिर मेरा बाआमाले छुट्टाछुट्टै रुपमा आफ्नो थातथलो त्याग्नुभएको थियो । तिब्बतमा हमला गर्ने चिनियाँ कम्युनिष्टहरुले आफूसामु नतमस्तक नहुनेहरुलाई मार्न र थुन्न सुरु गरेको बेला थियो त्यो । बाआमा पूर्वतर्फ पर्ने खाम क्षेत्रबाट आउनुभएको भए पनि उहाँहरु बेग्लाबेग्लै गाउँका हुनुहुन्थ्यो ।

फूलको आँखामा गितबाट चर्चित गायिका आनी छोइङ डोल्माले लेखेको आत्मकथा फूलको आँखामा को पेज नं. ६ मा उनले आफ्नो बा आमाको बारेमा यसरी उल्लेख गरेकि छिन् । अर्थात आनी छोइङ डोल्मा तिब्बती शरणार्थीकी छोरी भएको उनी स्वयंले सकारेकी छिन् । तर, वास्तविकतामा उनले नेपाली नागरिकता, त्यो पनि वंशजको आधारमा लिएकी छिन् । अर्थात, प्रष्टसंग यो भन्न सकिन्छ, आनीले किर्ते प्रमाण सहितका कागजात तयार गरी वंशजको आधारमा नेपाली नागरिकता लिएको तथ्य खुलेको छ ।

आनीले नक्कली बाबु खडा गरेर नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भएका कागजातले देखाउंछ । जसअनुसार, आनीले २०४६ जेठ १९ गतेको मितिमा काठमाडौंको तत्कालिन चपली भद्रकाली गाउंपञ्चायत, वडा नम्वर ६ का कान्छाबहादुर लामालाई बाबु बनाएर नागरिकता बनाएकी छन् । त्यही नागरिकताका आधारमा नेपाली राहदानी लिएर उनले विश्व भ्रमण गरिरहेकी छिन् ।
तर, तथ्य त यो हो कि, कान्छाबहादुर लामाका एकमात्र सन्तान प्रमान सिंह लामा मात्र हुन् । पुस्तौँदेखि चपलीमा बसोबास गरिरहेका स्थानीयहरु पनि कान्छाबहादुर लामाको एकमात्रै सन्तान प्रमानसिंह लामा भएको बताउँछन् ।

स्वयम् प्रमानसिंहले समेत आनी आफ्नो परिवारको सदस्य नरहेको किटानी दाबी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी समेत दिएका छन् । आनीले किर्ते बाबु खडा गरी नागरिकता बनाएको थाहा पाएपछि प्रमान सिंह लामाले जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा आफ्नो परिवारको प्रतिष्ठा र इज्जतलाई आनीले बद्नाम गरेको भन्दै कारबाहीका लागि निवेदन दिएका हुन् ।

त्यसो त, आनीले आफ्नो आत्मकथामा ‘आफू र आफ्नी आमामाथि ज्यादती गर्ने जँड्याहा बाबुको मृत्यु २०६१ सालमा भएको’ बताएकी छन् । तर कान्छाबहादुर लामा जसलाई बाबु बनाएर आनीले नागरिकता लिइन्, उनको मृत्यु २०३९ सालमा भएको थियो ।
कान्छाबहादुरका छोरा प्रमान, उनका आफन्तजन र स्थानीयले पनि कान्छाबहादुरको मृत्यु २०३९ सालमै भएको बताउँछन् । यो कुरा प्रमानले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दिएको उजुरीमा पनि स्पष्ट छ ।

आनीको कीर्ते नागरिकता र कान्छाबहादुरसंगको नाताबारे जानकारी माग गर्दै प्रमान सिंहले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दिएको उजुरीमा उनका छिमेकीहरु ज्ञानबहादुर लामा, चन्द्रबहादुर लामा, सानु कान्छी तामाङ, साइली तामाङ र सानु कान्छा तामाङले औठा छाप र सही गरेका छन् । चपलीमा पुस्तौ पुस्तादेखि बसोबास गर्दै आएका र दिवंगत कान्छाबहादुर लामाकै आफन्तजन पनि आनी कान्छाबहादुर लामाको छोरी कसरी भइन भनेर आश्चर्यचकित भएका छन् ।

प्रमान सिंहले काठमाडौंले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपछि २०७६ पुस ८ गते जिल्ला प्रहरीले सोही दिन माग गरेको पत्र उल्लेख गर्दै ‘पत्रद्वारा माग गरेको नागरिकता प्रमाणपत्र नम्वर ३१४ को नागरिकता मिति २०४६÷०२÷१९ मा छोइङ डोल्मा मोक्तान लामा नाममा जारी भई मिति २०६६÷०७÷२४ मा नागरिकता प्रमाणपत्र नम्वर २३६१ कायम गरी प्रथम प्रतिलिपि जारी भएको अभिलेखबाट देखिएको व्यहोरा अवगत आदेश अनुसार अनुरोध छ’ भन्ने जबाफ पठाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले ०७६ पुस ८ गते नै अनुसन्धानको सिलसिलामा बुझ्नु पर्ने भएकोले छोइङ डोल्मा मोक्तान लामाको नामबाट जारी भएको नेपाली नागरिकताको प्रमाण प्रतिलिपी यसै साथ पठाएको भन्दै त्यो हो वा होइन भनी जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई सोधेको थियो । ०७६ पुस १३ मा फेरि जिल्ला प्रशासन कार्यालय काठमाडौंले २०६६÷०७÷२४ मा जारी भएको प्रतिलिपी नरहेको भन्दै त्यो प्रतिलिपी जारी गर्ने बेला रष्जिट्ररमा खडा भएको ४ दुई पानाको प्रतिलिपी पठाएको छ ।

आवरणमा समाजसेवा देखाएपनि आनीले दलाई लामाको प्रचार गरिरहेकि छिन् । तिब्बती शरणार्थीकी छोरी आनीले कसरी नेपाली नागरिकता, त्यो पनि वंशजको आधारमा लिन सकिन् ? यो प्रश्न स्वयं प्रशासनका लागि समेत गम्भीर प्रश्न हो । यथार्थमा समाज सेवाको आवरणमा देखिने गरे पनि थुप्रै विवादमा मुछिएकी आनीको यो कार्य आफैँमा एक अपराध हो ।

आनी होस या अरु जोसुकै, तिब्वती शरणार्थीले या त शरणार्थीको परिचयपत्र वा ट्राभल डकुमन्ेट बनाएर कतै जाने बाहेक नेपाल सरकारले कुनै विशेष सुविधा दिएको या दिने नीति नै छैन । कुनै विदेशी नागरिक तर शरणार्थी हैन, नेपालमा १५ वर्ष निरन्तर बसे र सरकारले चाहे मात्र अंगिकृत नागरिकता पाउँछन् तर वंशज हैन । आनीले वंशज नै नागरिकता कसरी हात पारिन ? महानगरीय प्रहरी आनीको कीर्ते नागरिकता प्रकरणबारे छानविनमा छ ।

सत्यतथ्य ढिलो या चाँडो सार्वजनिक होला । अर्कातर्फ आनीले त्यही कीर्ते नागरिकताको आधारमा नेपाली पासपोर्ट बनाएर विश्वभर घुमिमात्र रहेकी छैनन् कि तिब्बती दलाई लामा भन्दा ठूलो बौद्ध भगवान अर्को नभएको भन्ने प्रचार गरिरहेकी छन् । नेपाल सरकारले एक चीन नीतिको समर्थन गर्दै दलाई लामाका कुनै पनि गतिविधिहरुलाई नेपालभित्र हुन नदिने नीति लिएको छ । तर, चीनले दलाई लामालाई भगौडा भन्ने गरेको छ । दलाई लामालाई आश्रय दिने भारत स्वयंले पनि उनका कतिपय गतिविधि नियन्त्रण गर्ने गरेको छ । यस्तो अवस्थामा आनीले आफु आश्रित देशमा कीर्ते प्रमाण जुटाएर वंशजको नागरिकता लिएकै भरमा खुल्लमखुल्ला दलाई लामाको नेटवर्कलाई सहयोग पुग्ने गतिविधि गरिरहेको उनको पुस्तकमा छापिएका तस्वीरहरुबाटै स्पष्ट हुन्छ ।

आनि छोइङले जानाजान सम्बन्धित परिवारजन र स्थानियकै आँखा छलेर नागरिकता किर्ते गरेको आनीका कथित बाबु मृतक कान्छाबहादुरकै नजिकका आफन्त कान्छाबहादुरको भनाइ छ ।

आनीले बाबु बनाएकी कान्छा लामाको एकमात्र छोरा छन् । अरु कुनै सन्तान छैनन् । छोरा प्रमान सँगसँगै हाँसखेल गरेर हुर्केका साथिसंगी पनि आनी अथवा अरु कोही दिदी बहिनी नभएको बताउंछन् । चपलीमा न त आनी छोयाङ जन्मेकी हुन्, न त हुर्के बढेकै । चपलीका पुराना वा नयाँ कुनै पुस्ताले पनि मृतक कान्छाबहादुर संग आनी छोयाङको नातासम्बन्धबारे जान्दैनन । स्थानीयबासिन्दा त आनीको चपलीसंग कुनै साइनो नै नरहेको बताउँछन् ।

आम मानिसहरुलाई पत्यार नलाग्ने तथ्य उनको आत्मकथा फूलको आँखामा र हालै सार्वजनिक भएका अन्य तथ्यले आनी तिब्बती भगौडा दलाई लामासँगको नेटकवर्कका लागि काम गर्ने आनीका रुपमा काठमाडौंलाई प्रयोग गर्न सफल अभिनेत्री ठहरिएकी छन् । आफ्नो पुस्तकमा आनीले आफ्नो जन्मका बारेमा नै रमाइलो तरिकाले बताउँछिन् ‘मानिसहरु मेरो जन्म दिनका बारेमा सोधिरहन्छन् । त्यतिबेला लामो बहसमा प्रवेश गर्न मन लाग्दैन र झट्ट भनिदिन्छु – १९७१ जुन ४ । त्यसपछि त्यो प्रश्न त्यत्तिकै बन्द पनि हुन्छ । उनले आफ्नो नाम यसरी बताउँछिन् – मेरो खास नाम चाहिं डोल्मा छोक्विद हो, जसलाई कसैले प्रयोग गर्दैनथे ।

म सधैं भुमो नै रहें । भूमो अर्थात सबैकी छोरी । तर पुस्तकभरि उनले बाबुको प्रसंग ठाउंठाउंमा उठाए पनि पूरा नाम भने कतै बताउँदिनन् । केवल आफ्नो बुवा अर्कै महिलासँग विवाहित थिए । ठिक त्यसैगरी उनकी आमा पनि तिव्वतमा छंदै अकैंसँग विवाह गरेकी थिइन भन्ने मात्रै बताउँछिन् ।

नेपालमा विदेशी ज्वाईं र विदेशी बुहारीलाई कस्तो नागरिकता दिने भन्ने विषय अझै बहसको विषय बनिरहेको छ । विदेशी नागरिक आनिले कसरी नेपाली नागरिकता लिइन, कुन प्रयोजनका निम्ति लिइन् ? कसले र कुन स्वार्थले तिब्बती शरणार्थी आनी छोइङलाई नेपाली नागरिकता, त्यो पनि वंशजको आधारमा दिन सिफारिस गर्यो र दियो ? यो सबै प्रकरणको मिहिन ढंगले छानविन आवश्यक छ ।

कतै आनीले समाज सेवा र धर्मकर्मको आडमा विदेशी शक्तिको गोटी बनि नेपाली भुमि प्रयोग गरिरहेकी त छैनन् ? उनको नेपालका बैंकमा स्रोत नखुलेको करोडौं बराबरको अवैध कालो धन फेला पर्नुले आनी कसै न कसैको स्वार्थमा नेपाली भूमि प्रयोग गरिरहेकी छिन् भन्ने कुरालाई बल पुग्छ । यो सबै प्रकरणको विस्तृत छानविन हुुनपर्छ । दोषीलाई प्रचलित कानुन अर्थात फौजदारी अपराध संहिताको कीर्ते अपराध अनुसार कारवाही गरिनुपर्छ । दोषी भेटिए अन्य अपराधीले भोगेसरह एक देखि पाँचवर्षसम्मको कैद सजायँ र विगो जरिवाना भोग्नैपर्छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board