10 February, 2020 12:38 pm


पुननिर्माणमा प्रयोग नभएका पुरातात्विक वस्तुहरु संग्राहलयमा राखिने (भिडियोसहित)

काठमाडौं, २७  माघ ।  विनाशकारी भूकम्प गएको चार वर्ष भइसके पनि पुननिर्माणको काम भने कछुवाको गतिमै देखिन्छ । यद्यपि सरकारले भने पुननिर्माणको काम ६० प्रतिशत सकिएको दाबी गरेको छ ।

विनाशकारी भूकम्प गएको चार वर्ष पूरा हुनलागेको छ । भूकम्पका कारण मुलुककै पहिचान र सांस्कृतिक सम्पत्तिका रूपमा रहेका पुरातात्विक सम्पदा पुननिर्माणले कार्यले ढिलै भए पनि गति लिन थालेको छ । सरकारले सांस्कृतिक सम्पदा संरक्षण र पुननिर्माण गर्ने क्रममा प्रयोग नभएका पुरातात्विक वस्तुहरु भने संग्राहलयमा राख्ने भएको छ ।

प्रयोग नभएका पुरातात्विक वस्तुहरु राख्न ललितपुरको पाटन दरबार क्षेत्रमा संग्राहलय निर्माण भइसकेको छ । पुननिर्माणमा प्रयोग नभएका पुरातात्विक वस्तुहरु संग्राहलयमा राख्न लागिएको संस्कति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बताएका छन् ।
नेपाल विश्व मानव सभ्यताको केन्द्र भएकाले मानव सभ्यतासम्बन्धी अध्ययन अनुसन्धानकर्ताले नेपालको संस्कृति, सभ्यता र पुरातात्विक सम्पदाको अध्ययन आवश्यक हुने मन्त्री भट्टराईले जिकिर गरे । पुरातात्विक सम्पदास्थल वरपर मानव वस्ती हटाइने, व्यापार गर्न नदिर्ने योजना रहेको मन्त्री भट्टराईले जानकारी दिए ।

देशभर अहिले ७७ जिल्लामा करिब ५ हजार सांस्कृतिक सम्पदा रहेका छन् भने ४७० पुरातात्विक स्थलहरु रहेका छन् । त्यसमध्ये २०७२ साल वैशाख १२ को विनाशकारी भूकम्पले उपत्यका लगायत ३१ जिल्लाका करिब ९ सय २० सम्पदामा क्षति पुगेको थियो । पुरातत्व विभागका अनुसार क्षति भएका मध्ये ४ सय सम्पदाको पुननिर्माण सम्पन्न भएको छ । यो वर्ष १५० वटा सम्पदा संरक्षण तथा पुनर्निर्माण गरिने र बाँकी ३७० वटा सम्पदाहरु भने अगामी २ वर्षभित्र पुननिर्माण गर्ने पुरातत्व विभागको लक्ष्य रहेको छ । भूकम्पले भत्काएका सम्पदाको पुनर्निर्माणको कूल लागत ९ अर्ब १८ करोड ७८ लाख रुपैयाँमध्ये यो आर्थिक वर्षसम्ममा २ अर्ब ३९ करोड रुपैयाँ खर्च भइसकेको पुरातत्व विभागका निमित्त महानिर्देशक, दामोदर गौतमले बताए ।

विश्व मानचित्रमा नै सांस्कृतिक सम्पदाको हिसावले नेपालको छुट्टै पहिचान छ । यद्यपी, नेपालमा भूकम्पबाट क्षतिग्रस्त सम्पदाहरुको पुननिर्माणलाई गति दिनुभन्दा पनि एक निकायले अर्कालाई दोषारोपण गर्ने काम मात्र भईरहेको सरोकारवालाहरुको भनाई छन् । तसर्थ, क्षतिग्रस्त अमूल्य सम्पदाको पुननिर्माण, संरक्षण र संवद्र्धनका सबै सरोकारवालाहरुबीच आवश्यक सहकार्य जरुरी रहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board