4 February, 2020 1:37 pm


विश्वकप छनोट नेपालको लागि सुनौलो ढोका (भिडियोसहित)

काठमाडौं, २१ माघ । आईसिसी विश्व क्रिकेट लिग विश्वकप छनोट नेपालको लागि सुनौलो ढोका हो । क्रिकेटमा आफ्नो हैसियतअनुसारको नाम राख्दै आएको नेपालले यसपटक सिरिजअन्तर्गत ओमान र अमेरिकालाई काठमाडौंस्थित त्रिवि क्रिकेट मैदानमा आतिथ्यता प्रदान गर्दैछ । अब, सिरिजको सुरुवाती खेल घरेलु मैदानमा खेल्दै शीर्ष स्थानमा उक्लिने अवसरको पर्खाइमा छ नेपाल । तर, अभ्यास खेलका लागि क्यानले कमजोरी देखाउंदा खेलाडीको बलबुता नै नेपालका लागि विजयी आधार बनेको छ ।

आईसिसी विश्व क्रिकेट लिग विश्वकप छनोट सिरिजको सुरुको ८ अंक प्राप्तिका लागि नेपाली टिम हाल अभ्यासरत छ । यता नेपाल क्रिकेट संघ क्यानले आफ्नो निलम्बन फुकुवा पछिको पहिलो आईसीसी प्रतियोगितालाई भब्य बनाउन चाहन्छ । तर, मापदण्ड अनुसार मैदानको अभावमा आईसिसी विश्व क्रिकेट लिग कस्तो हुने भन्ने प्रश्न पनि उत्ति नै छ । सिरिज एकदिवसीय अन्तराष्ट्रिय अन्तर्गतको हुने भएकाले आईसीसीको मापदण्डको अनुसार मैदान हुन जरुरी छ । करिब चार बर्षको निलम्बन सशर्त फुकुवा गर्दिएको आईसीसीलाई क्यानले आफुप्रति विश्वास बढाउन निकै कसरत आवश्यक देखिन्छ । क्यानका लागि अहिले देखाउने मौका छ । सिरिजको लागि तीन वटा पिच निर्माण गरिएको छ । आईसिसी विश्व क्रिकेट लिगअन्तर्गत पिच निरिक्षणका लागि क्यानले श्रीलंकाका पुर्व खेलाडी बन्दुला वार्नापुरालाई जिम्मेवारी दिएको छ । त्रिवि मैदानमा एकदिवसीय स्तरको खेलका लागि पिच निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । पिचमा रोलिङ र पानी हाल्ने काम पनि जारी छ । मैदानमा आउट फिल्ड, पानीको व्यवस्था, भीआईपी व्यवस्थापन, सुरक्षा, नेट अभ्यास, व्यवस्थित चमेनागृह, बाथरुम लगायतका काम पनि अन्तिम चरणमा पुगेको छ ।

सिरिजसंगै नेपालको त्रिवि क्रिकेट मैदानले एकदिवसीय मान्यता पाउनेछ । सोही ऐतिहासिक दिनको प्रतिक्षामा खेलाडी समेत छन । खेलाडीहरु घरेलु मैदानमा आफ्ना समर्थक समक्ष एकदिवसीय क्रिकेट खेल्न आतुर देखिन्छन् । तर, नेपालको तयारीमा भने केही प्रश्न उठेको छ । के यति तयारीले पुग्छ त ? कुनै समय नेपालले ओेमन र अमेरीका दुवै टिमलाई सहजै पराजित गर्दथ्यो । तर अहिले ओमानलाई नेपालले पराजित गर्न नसकेको ७ वर्ष भएको छ । अमेरिका पनि विश्व क्रिकेटमा दिनप्रतिदिन दर्विलो बन्दै आएको छ । त्यसो त, सिरिज अघि नेपालले चार हप्ता अभ्यास गर्ने कार्य तालिका बनायो । अब सिरिज आउन मात्र केहि दिन बांकी छ । आईसिसी विश्व क्रिकेट लिगको अभ्यास खेलको रुपमा नेपालले क्यान–११ को नामबाट मलेसियाको टिमसंग पोखरामा ५० ओभरको ३ खेल खेल्यो । तीनै वटा खेलमा नेपालले सहज जित निकाल्यो तर आफु भन्दा धेरै कमजोर टिमसंग खेलेर । त्रिकोणात्मक सिरिजमा नेपालले सोचे अनुरुप नतिजा निकाल्ने हो भने माथिल्लो स्तरको टिमसंग प्रतिस्पर्धात्मक खेल खेल्न जरुरी छ । आईसीसीलाई खुशी बनाउन मैदानमा मात्र नभएर खेलको नतिजामा समेत राम्रो ल्याउन जरुरी छ । तर क्यानको ध्यान मैदान सुधारमा मात्रै जस्तो देखिन्छ । संगसंगै हुनुपर्ने अभ्यास खेलमा क्यान चुकेको छ ।तर, अभ्यासमा कुनै कमि नआएको क्यानको दावि छ ।

नेपालको मैदान र मौसमसंग मिल्दोजुल्दो हुने भारतमा अमेरिका अभ्यासरत छ । विश्वकप क्रिकेटमा भारत बलियो देश हो । अमेरिकाले मुम्बई क्रिकेट संघसंग ३ वटा ५० ओभरको खेल खेल्दैछ । त्यसैले बलियो देशसंग प्रतिस्पर्धात्मक खेल भएको भए मात्र नेपालको खेलमा सुधारको अपेक्षा गर्न सकिन्थ्यो । यद्यपी, आफ्नो बलबुतामा खेलिरहेका नेपाली खेलाडीहरुका लागि एकपटक फेरि देशको शीर उचो गर्ने समय आएको छ । ऐतिहासिक एकदिवसीय खेल पहिलो पटक घरेलु मैदानमा हुदैछ । नेपालले आईसिसी विश्व क्रिकेट लिग विश्वकप छनोट खेल घरेलु मैदानमा खेल्नु नेपाली खेलाडी र खेलप्रेमिको लागि उत्साहको कुरा हो ।

 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board