26 January, 2020 7:41 pm


सभामुख सापकोटाको वास्तविक अग्निपरीक्षा सुरु ( भिडियोसहित)

काठमाडौं, १२ माघ । प्रतिनिधिसभाको सभामुखमा नेकपाका नेता अग्निप्रसाद सापकोटा निर्वाचित भएका छन् । निर्वाचित भएसँगै सापकोटाले लोकतन्त्रको मुल्य, मान्यता र आदर्शलाई कायम राख्दै निष्पक्ष, सन्तुलित र तटस्थ भुमिका निभाउदै संसदको गरिमा कायम राख्ने प्रतिवद्धता गरेका छन् । सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरुले सभामुखबाट सोही प्रतिवद्धता अनुरुपको व्यवहारको अपेक्षा गरिएको बताएका छन् ।

प्रतिनिधि सभाको सभामुखको जिम्मेवारीमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का स्थायी कमिटी सदस्य अग्नीप्रसाद सापकोटा निर्वाचित भएका छन् । गत असोजदेखि खालि भएको सभामुख पदमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य एवं सिन्धुपाल्चोक क्षेत्र नं. १बाट निर्वाचित सांसद अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित भएका छन् । पार्टीभित्र लामो छलफल र माथापच्चिका बीच सभामुख उम्मेदवारमा बाजी मारेका सापकोटा प्रतिनिधिसभाका एकल उम्मेदवार समेत बने । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायत कुनै पनि प्रतिपक्षले उम्मेदवारी नदिएपछि सापकोटा उम्मेदवारी दर्ताकै दिनदेखि निर्विरोध भैसकेका थिए । तर, आइतबार प्रतिनिधिसभाको बैठकले सापकोटालाई औपचारिक रुपमा सभामुमा निर्विरोध निर्वाचित भएको घोषणा गर्यो ।

हिजोका दिनसम्म नेकपाको नेताको हैसियतमा रहेका सापकोटा अब सिंगो सदनका मुखियाको जिम्मेवारी सम्हालेका छन् । लामो समय अभिभावक विहिन भएर टुहुरोजस्तै बनेको संसदले अभिभावक पाएको छ । अभिभावकले आफ्नो अभिभावकत्व कसरी निर्वाह गर्न सक्छ राजनीतिक जिवनको कठोर त्याग, तपस्या र बलिदानीको राप तापबाट आएका अग्निको वास्तविक अग्निपरिक्षा अब बल्ल शुरु भएको छ ।

वि.सं. २०१४ साल फागुन २४ गते सिन्धुपाल्चोकमा जन्मिएका अग्निप्रसाद सापकोटा तत्कालिन नेकपा माओवादीको स्थापनाकालदेखिनै जनयुद्धमा सामेल भएका नेता हुन् । सापकोटाको राजनीतिक इतिहासले उनलाई अनुभवी र परिपक्व नेताको रुपमा लिन सकिन्छ । २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा विजयी हुनुभएका सापकोटा २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोकबाट विजयी बनेका थिए । लामो समय शिक्षक आन्दोलनमा लागेका सापकोटाले माओवादी जनयुद्ध कालमा ताम्सालिङ राज्यको इन्चार्जको रुपमा काम गरेका थिए ।

यद्यपी, युद्धकालीन राजनीतिक पृष्ठभूमिबाट आएका सापकोटाले अब संसदीय राजनीतिको मियो बनेर अघि बढ्नुपर्ने दायित्व थपिएको छ । आफुमाथि लागेका सबैखाले आरोपलाई मिथ्या सावित गर्न पनि सापकोटाको स्वभाव मैत्रिपूर्ण बन्न आवश्यक छ । सभामुख जस्तो राज्यको उच्च ओहोदाको संवैधानिक पदको गरिमालाई कायमै राख्दै सदनका गतिविधि सञ्चालन गर्नु नै अग्निने आफ्नो उचाईलाई थप उचाईमा पुर्याउनु हो ।

संघीय संरचनाको निम्ति राजनीतिक लडाइँ लडेर आएको व्यक्ति सभामुख भएका छन् । मुलुक संघीय प्रणालीमा छ । तीन तहको सरकार छ । नयाँ राजनीतिक प्रणालीमा गईसकेपछिको पहिलो प्रतिनिधी सभाको दोस्रो सभामुख भएका छन् सापकोटा । यतिखेर धेरैभन्दा धेरै ऐन, कानुन निर्माण गर्नुपर्ने छ । आज बनाइएका नियम कानुनले नै आगामी दिनमा देशको संघीय प्रणाली थेग्ने हो । सरकारले आफ्नो ढंगले विधेयकहरु भटाभट ल्याइरहेको छ । कयौँ विधेयकमा विपक्षी दलले सडक र सदन तताइरहेको अवस्था पनि छ । यस्तो अवस्थामा सापकोटाको सन्तुलित भुमिकाको आवश्यकता छ । उनले कत्तिको सन्तुलित भुमिका निर्वाह गर्न सक्छन् । त्यो समयले देखाउने छ । तर एकातिर पार्टी र सरकारलाई सफल बनाउनु अर्कोतिर विपक्षीलाई पनि सन्तुष्ट राख्नु नै सापकोटाको मुख्य दायित्व हुनेछ ।

संसदमा १० वटा विधेयक दर्ता भई वितरण भएका छन् । १५ वटा विधेयक समितिमा विचाराधिन रहेका छन् । प्रतिनिधी सभाबाट पारित भई २ वटा विधेयक राष्ट्रिय सभामा पठाइएका छन् । प्रतिनिधी सभामा पास भइसकेका आधा दर्जन विधेयक राष्ट्रपतिकहाँ प्रमाणिकरणका लागि पठाउनुपर्ने पनि छ । पहिलो प्रशासनिक काम सापकोटाको यहि हुनेछ । समितिका प्रतिवेदन बुझ्ने, समिति सभापतिहरुबीचमा समन्वय गर्ने, सांसदलाई अध्ययन अवलोकन भ्रमणको निम्ति स्वीकृत दिनुपर्ने पनि छ । रोकिएका यिनै काम अब सरु हुनेछन् । नियमित संसदीय अभ्यासमा अग्नि खरो उत्रिने छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board