24 January, 2020 11:44 am


झापा र इलामको चुरे क्षेत्र ढुङ्गा तस्कर जनप्रतिनिधि र स्थानीय प्रशासनकै आडमा (भिडियोसहित)

झापा, १० माघ ।  झापा र इलामको चुरे क्षेत्रलाई ढुङ्गा तस्करले अतिक्रमणको चपेटामा पारेको घटना बाहिरिएको छ । इलामको रोङ गाउँपालिका र झापाको मेचीनगर नगरपालिका जोड्ने चुरे क्षेत्रबाटै मुलुकी ऐन विपरीत अवैध रूपमा ढुङ्गा उत्खनन हुन थालेपछि रोङ गाउँपालिकाका जनप्रतिनिधि र स्थानीय युवा विरोधमा उत्रिएपछि यस्तो घटना बाहिरिएको हो ।

झापाका जनप्रतिनिधि र प्रहरी, प्रशासनले झापा र इलाम सीमाको चुरे क्षेत्रबाट हुने गरेको अवैध ढुङ्गा, गिट्टी र बालुवा उत्खनन नियन्त्रणमा चासो नदेखाएपछि इलाम रोङ गाउँपालिकाका जनप्रतिनिधि र स्थानीय युवा चुरे क्षेत्र बचाउ अभियानमा उत्रिएका छन् । चुरे क्षेत्रको रोङ गाउँपालिका–६ स्थित सिद्धि र मेची खोलाबाट तस्करहरूले दिनहुँ ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्ने कार्य नरोकिएपछि रोङ गाउँपालिकाका स्थानीय युवाले सिँचाइ नहर बन्द गरेर विरोधमा उत्रिएका हुन् ।

स्थानीय युवाहरूले संघर्ष समिति गठन गरी सिद्धि खोलाको सिंचाई नहर बन्द गरेपछि मेचीनगर १, २, ३ र ४ का कृषक ९ दिन पानीबाट वञ्चित हुनु पर्यो । सिद्धि नहरको पानीले मेचीनगरमा १७ सय हेक्टर जमिनमा सिँचाइ हुँदै आएको छ । आईई गरेको क्षेत्रबाट मात्र ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्न पाउने भनी मेचीनगर नगरपालिकाले ठेक्का लगाएको छ । तर, ठेकेदार र तस्करले चुरे क्षेत्रको इलामबाट ढुङ्गा तस्करी गरी झापा ल्याएर बेच्ने गरेका छन् । चुरे क्षेत्रको दोहन रोक्न संर्घष समितिले बन्द गरेको नहरमा रोङ गाउँपालिकाको नैतिक समर्थन गरेको रोङ गाउँपालिकाका अध्यक्ष शमशेर राईले बताए ।

झापाका जनप्रतिनिधिले चुरे क्षेत्र दोहनको विषयमा चासो नदेखाएपछि रोङ गाउँपालिकाका युवाहरूले सिद्धि नहर बन्द गरेर दबाब दिन बाध्य पारेका थिए । अवैध चोरी तस्करी नरोकिएपछि युवाहरूले संर्घष समिति गठन गरेर नहर बन्द गरेको संर्घष समिति संयोजक निर्मल तामाङले जानकारी दिए ।

चुरे क्षेत्र दोहनसँगै ढुङ्गा तस्करी रोक्नु पर्छ भन्दै संघर्ष समिति र जनप्रतिनिधिले अडान राख्दै सिद्धि नहर बन्द गरेपछि इलाम र झापा पक्षबीच सर्वपक्षीय छलफल भएको छ । सर्वपक्षीय छलफलमा चार बुँदे सहमति गर्दै चुरे क्षेत्रको दोहन रोक्ने र त्यसक्षेत्रमा सवारीसाधन समेत प्रवेश निषेध गर्ने निर्णय भएको रोङ गाउंपालिका– ६ का वडा अध्यक्ष सुभाष तामाङले बताए ।

तर, गत सोमबार बेलुका साढे ६ बजे चार बुँदे सर्वपक्षीय सहमति भएपनि चुरे क्षेत्रबाटै ढुंगा तस्करी भइरहेको भेटिएको छ । सहमति भएको तीन घण्टा नबित्दै त्यसक्षेत्रबाट उत्खनन भएको ढुंगासहित टिपरलाई सर्वपक्षीय छलफलमा गएका जनप्रतिनिधि र पत्रकारको टोलीले राती सडकमा भेट्टाएका छन् । चालकसँग मेचीनगरले ठेक्का लगाएको विनीता श्री ट्रेड एन्ड सप्लायर्स प्रालि इटहरीको रसिद थियो । सो रसिदमा ढुङ्गा २६५ क्यु फिटको कर बापत १ हजार ७ सय ९६ रुपैयाँ लिएको देखिन्छ ।

यसैगरी यसै क्षेत्रबाट उत्खनन गरी काँकडभिट्टा हुँदै बिर्तामोड तर्फ गइरहेको दुई वटा टिपर इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले नियन्त्रणमा लिएको छ । प्रहरीले ना ७ ख ६६२५ नम्बर टिपर धुलाबारी चोकबाट र को १ ख ४३९४ नम्बरको टिपर इटाभट्टा चोकबाट नियन्त्रणमा लिएको र कारबाहीका लागि जिल्ला समन्वय समिति झापा पठाएको छ । ठेकेदारहरुले केही जनप्रतिनिधि र केहि स्थानीय प्रहरीको आडमा चुरे क्षेत्रसहित मेचीनगरका खोलाहरूको निरन्तर दोहन भने गरिरहेका छन् ।

 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board