19 January, 2020 1:20 pm


सभामुख चयनको उल्झन अझै सुल्झिन सकेन, अध्यक्षद्वयबीच सभामुख खोजीको छलफल तिब्र (भिडियोसहित)

काठमाडौं,  ५  माघ ।  सभामुख कसलाई बनाउने भन्ने विषयमा सत्तारुढ नेकपाभित्र सहमती जुट्न नसक्दाप्रतिनिधि सभाको बैठक सरेको सरेकै छ । माघ ६ गतेको लागि बोलाइएको बैठकको समय सिमा नजिकिइसक्दा पनि नेकपाभित्र सभामुख कसलाई बनाउने भन्ने विषयमा अझैसम्म पनि सहमती जुट्न सकेको छैन । यद्यपी, अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफलले तिब्रता पाएको छ ।

पुष ४ गतेदेखिसंघीय संसदको पाँचौ अधिवेशन शुरु भयो । पहिलो दिन औपचारिक बैठक बसेर सकिएको प्रतिनिधिसभा बैठक त्यसपछि बस्न सकेको छैन । प्रतिनिधि सभा बैठक सभामुख चयनको उल्झनमा पर्दा पटक पटक मिति तोक्दै स्थगित हुंदै आइरहेको छ । अब माघ ६ गतेको लागि संसदको बैठक बोलाइएको छ तर उक्त बैठक पनि बस्ने नबस्नेमा अझै अन्योलता भने कायमै छ । संसदको अन्यौलता कायम हुनुको मुख्य र एकमात्र कारण हो – सभामुख चयनमा नेकपाभित्र सहमती जुट्न नसक्नु ।

हालसम्म नेकपाले सभामुख कसलाई बनाउने भन्न्नेमा निर्णय लिन नसक्दा प्रतिनिधिसभा बन्धक छ । संसदका अन्य राजनीतिक दलहरुपनि निरिह बनेका छन् । नेपाली कांग्रेसले शुक्रबार संसदीय दलको बैठक बसी माघ ६ गते सभामुख चयन हुनैपर्ने दबाब दिएको छ ।

तत्कालिन सभामुख कृष्णबहादुर महरा यौन काण्डमा मुछिएर सभामुख पदबाट राजिनामा दिएसँगै सभामुख पद खाली बनेको थियो । पूर्व माओवादी समूहको कोटामा परेको यो संवैधानिक पद पुनः आफ्नै समूहले पाउनुपर्ने तर्क पूर्वमाओवादी नेताहरुमा छ । प्रधानमन्त्रीले भने सरकारलाई सहयोगी हुनेगरी सभामुख चयन हुनुपर्ने भन्दै आफ्ना मान्छे लाइनमा राखेका छन् । नेकपामा पूर्व एमाले र पूर्व माओवादी समूहबीचको सहमति जुट्न नसक्दा सभामुख उल्झन बल्झिएको छ ।

अर्को प्राविधिक समस्या, नेकपा कै उपसभामुख भइरहेको अवस्थामा नेकपाले सभामुख पाउने अवस्था छैन । उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजिनामा अझै दिएकी छैनन् । उनको राजिनामा नआउँदासम्म प्रक्रियाले गति पनि लिने पनि देखिदैन ।

सभामुख चयन छिटो गर्नुपर्नेमा नेकपाको सुस्तताका कारण धेरै संसदीय काम अलपत्र भएका छन् । संसद सचिवालयका कामहरु अवरुद्ध भएका छन् । संसदमा १० वटा विधेयक दर्ता भइ वितरण भएका छन् । १५ वटा विधेयक समितिमा विचाराधिन रहेका छन् । प्रतिनिधी सभाबाट पारित भई २ वटा विधेयक राष्ट्रिय सभामा पठाइएका छन् । सभामुख चयन प्रक्रिया सकिएपछि पास भइसकेका आधा दर्जन विधेयक राष्ट्रपतिकहाँ प्रमाणिकरणका लागि पठाउनुपर्ने पनि छ । विविध प्रशासनिक कामहरु अलपत्र अवस्थामा छन् ।

नेकपाका सांसदहरुलाई सभामुख चयन नगरेको, संसदीय भुमिका प्रभावकारी रुपमा निर्वाह गर्न नसकेको भनेर जनताले आरोपित गर्न थालेका छन् । सांसदहरुले शिर्ष नेताहरुलाई भेटी बारम्बार सभामुख चयन टुंग्याएर संसद सुचारु गर्न अनुरोध गरिरहेका छन् ।

यद्यपी, कसलाई सभामुख बनाउने भनेर नेकपाका अध्यक्षद्वय छलफलमा व्यस्त हुन थालेका छन् । यसलाई भने सकारात्मक मान्नुपर्छ । दुई अध्यक्षबीच सहमति हुंदासाथ सभामुखमा कसलाई लैजाने भन्ने निर्णय हुने पक्का छ । यसर्थ, माघ ६ भित्रै अध्यक्षद्वय ओली र प्रचण्डले सभामुख चयनको विषयलाई पूर्णबिराम दिन जरुरी छ । पद र शक्तिको लागि मात्रै राजनीति गरेको होइन भन्ने सन्देश दिन जो कोही योग्य मान्छे छानेर सभामुख बनाउन ढिलो गर्नु हुँदैन ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board