बार्सिलोनाले १६औँ पटक जित्यो स्पेनी सुपर कप, लगातार दोस्रो पटक बार्सिलोनासँगै रियल स्तब्ध

काठमाडौं, २८ पुस । स्पेनी सुपर कपको उपाधि बार्सिलोनाले जितेको छ। साउदी अरेबियाको जेद्दाहमा भएको रोमाञ्चक फाइनलमा बार्सिलोनाले चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडलाई ३–२ ले पराजित गर्दै लगातार दोस्रो पटक तथा समग्रमा १६औँ पटक उपाधि हात पारेको हो।खेलको पहिलो हाफमै दुबै टोलीबाट २–२ गोल हुँदा प्रतिस्पर्धा निकै रोचक बनेको थियो। विशेषगरी इन्जुरी समयमा तीन गोल हुँदा खेल थप नाटकीय बनेको थियो। दोस्रो हाफमा बार्सिलोनाले थप एक गोल गरेपछि प्रशिक्षक हान्सी फ्लिकको टोलीले ऐतिहासिक उपाधि जित्न सफल भयो। गत वर्षको फाइनलमा पनि बार्सिलोनाले रियललाई ५–२ ले पराजित गर्दै सुपर कप जितेको थियो। ७३औँ मिनेटमा ब्राजिली फरवार्ड राफिन्हाले गरेको गोल निर्णायक बन्यो।

बार्सिलोनाले ३६औँ मिनेटमा राफिन्हाको गोलमार्फत अग्रता लिएको थियो। तर इन्जुरी समयको तेस्रो मिनेटमा भिनिसियस जुनियरले एकल प्रयासमा उत्कृष्ट गोल गर्दै खेल १–१ को बराबरीमा पुर्‍याए। जुनियरले गत अक्टोबरयता १७ खेलपछि रियलका लागि गोल गर्न सफल भएका थिए। त्यसको एक मिनेटपछि नै रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई पुनः अग्रता दिलाए। तर केही क्षणमै गोन्जालो गार्सियाले गोल फर्काएपछि पहिलो हाफ २–२ को बराबरीमा सकिएको थियो।

दोस्रो हाफमा दुबै टोलीले सीमित अवसर पाए पनि बार्सिलोनाले त्यसको सदुपयोग गर्दै बाजी मार्यो। इन्जुरी समयमा केलियन एम्बाप्पेमाथि खतरनाक ट्याकल गरेको आरोपमा फ्रेन्की डे योङले सिधै रातो कार्ड पाएका थिए। घुँडाको चोटबाट निको भइसकेका एम्बाप्पे सब्स्टिच्युट खेलाडीका रूपमा मैदान प्रवेश गरेका थिए। अन्ततः बार्सिलोनाले अग्रता जोगाउँदै सन् २०११ पछि पहिलो पटक लगातार दुई पटक स्पेनी सुपर कप जित्न सफल भयो।

हाल उत्कृष्ट फर्ममा रहेको बार्सिलोनाले लगातार १० खेल जितेको छ। गत नोभेम्बरमा च्याम्पियन्स लिगमा चेल्सीसँग पराजय भोगेपछि टोली अपराजित यात्रामा छ। स्पेनी टोलीहरूसँग भने उनीहरू अक्टोबर २६ यता अपराजित छन्। पछिल्लो एल क्लासिकोमा भने सान्टियागो बर्नाबेउमा रियलले जित निकालेको थियो।

यो उपाधि हान्सी फ्लिकको प्रशिक्षणमा सम्भावित सफल सिजनको पहिलो ट्रफी बनेको छ। हाल ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोना रियलभन्दा चार अंकले अघि छ।

यो लगातार चौथो पटक एल क्लासिको सुपर कप फाइनल भएको हो। फ्लिकको प्रशिक्षणमा बार्सिलोनाले जितेका तीनवटै फाइनल रियलविरुद्ध नै आएका छन्। उनले दुई सुपर कप र एक कोपा डेल रे जितिसकेका छन्। जर्मन प्रशिक्षक फ्लिकले आफू सहभागी भएका सबै आठ फाइनल जित्ने कीर्तिमान पनि कायम राखेका छन्, जसमा बायर्न म्युनिखसँग जितेका पाँच फाइनल समावेश छन्।

रियल म्याड्रिडका लागि भने यो सिजन उतारचढावपूर्ण रहँदै आएको छ। ला लिगाका पछिल्ला छ खेलमध्ये चार जित निकाले पनि लिग र युरोपमा अस्थिर प्रदर्शनले क्लब र समर्थकको अपेक्षा पूरा हुन सकेको छैन। यसै कारण प्रशिक्षक जाबी अलोन्सोको भविष्यलाई लिएर प्रश्न उठ्न थालेका छन्।

चार टोली सहभागी हुने स्पेनी सुपर कप सन् २०२० यता साउदी अरेबियामा आयोजना हुँदै आएको छ। स्पेनी फुटबल महासंघले यो प्रतियोगिता सन् २०२९ सम्म साउदी अरेबियामै आयोजना गर्ने सम्झौता नवीकरण गरिसकेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति