काठमाडौं २६ पुस : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीबीचको चर्चित एकता सहमति मात्र १२ दिनमै टुटेको छ। पुस १४ मा भएको सहमतिपछि दिनदिनै नयाँ–नयाँ माग आएपछि सहकार्य असम्भव बनेको रास्वपा सभापति रवि लामिछानेले पार्टी सचिवालयको भर्चुअल बैठकमा ब्रिफिङ गरेका छन्।
रविले बैठकमा भनेका छन्, “कुलमानले प्रत्येक दिन नयाँ कुरा ल्याउने गर्नुभयो। एउटा माग पूरा भयो भने भोलिपल्ट अर्को माग ल्याउने काम भयो। त्यसमा पनि मेरो भाग कति, म के हुने, मेरा मान्छे कति जना कहाँ राख्ने जस्ता व्यक्तिगत र पदको बार्गेनिङ मात्रै प्रधान भयो।”
सहमतिपछि के भयो?
- पुस १४ मा भएको प्रारम्भिक सहमतिमा कुलमानलाई रास्वपाको उपसभापति बनाउने, बालेन्द्र शाह (बालेन) लाई सरकारको नेतृत्व र रविलाई पार्टी सम्हाल्ने जिम्मेवारी बाँडफाँट गर्ने प्रस्ताव थियो।
- कुलमानको विज्ञताका आधारमा भौतिक पूर्वाधार क्षेत्रमा ठूलो परिवर्तन गर्ने जिम्मेवारी पनि तोक्ने कुरा भएको थियो।
- तर, रविका अनुसार कुलमानले समानुपातिक सांसदको संख्या, प्रत्यक्ष निर्वाचन क्षेत्र छुट्ट्याउने, वरिष्ठ उपसभापति, महामन्त्री र ३० भन्दा बढी केन्द्रीय सदस्य जस्ता मागहरू लगातार राखे।
- बालेनले केन्द्रीय समितिमा नाम दिएपछि प्रक्रिया अघि बढे पनि कुलमानले “समानुपातिकमा छुट्टाछुट्टै मान्छे मिलाउँ” भन्दै भागबण्डाको अडान लिए।
- रविले “राम्रो मान्छे छ भने तेरो–मेरो नभनी काम गरौं” भन्दा पनि पद र पावरको कुरा मात्रै आएको बताए।
एकता टुटेपछि ?
सचिवालय बैठकमा रविको यो ब्रिफिङपछि रास्वपाले उज्यालो नेपालसँगको सहमति अनुमोदन नगर्ने निर्णय गरेको छ। सचिवालय सदस्य शिशिर खनालले भने, “पुस १४ को सहमति अब कार्यान्वयन हुँदैन।”
यता, एकता भाँडिएपछि कुलमान घिसिङले तत्काल उज्यालो नेपाल पार्टीको अध्यक्ष आफैं घोषणा गरेका छन्। यसअघि उनी पार्टीका संरक्षक मात्र थिए भने अध्यक्ष अनुपकुमार उपाध्याय थिए।
उज्यालो नेपालका प्रवक्ता राजु थापाले जानकारी दिएअनुसार शनिबार दिउँसो ४ बजे बसेको केन्द्रीय समिति बैठकले कुलमानलाई अध्यक्ष नियुक्त गरेको छ। साँझ ६ बजे पत्रकार सम्मेलन डाकिएको छ, जसमा यो निर्णय औपचारिक रूपमा सार्वजनिक हुने बताइएको छ।
उज्यालो नेपाल पक्षको गुनासो
एकतापछि पार्टीको नाम परिवर्तन (जस्तै राष्ट्रिय उज्यालो पार्टी वा उज्यालो स्वतन्त्र पार्टी) र चुनाव चिह्न हेरफेरको माग उज्यालो नेपालका केही नेताले राखेका थिए। उनीहरूले भने, “हाम्रो अस्तित्व नै मेटेर कसरी जाने? रास्वपाले ठोस कुरा गरेन।”
उज्यालो नेपालमा ९४ जना केन्द्रीय सदस्य छन्। अधिकांश नेता रास्वपासँग एकतामै रहन चाहन्थे तर केहीले “ब्रान्डिङ भइसकेको पार्टी एक्लै अघि बढ्नुपर्छ” भन्ने पक्षमा थिए।
राजनीतिक प्रभाव
त्रिकोणीय सहकार्यले ‘नयाँ विकल्प’ को सपना देखाएको थियो, तर पद र भागबण्डाको विवादले त्यसलाई चकनाचुर बनाइदियो।
यो घटनाले नेपालको वैकल्पिक राजनीतिक मोर्चालाई थप खण्डित बनाएको छ। रास्वपा, बालेन शाह र कुलमान घिसिङको त्रिकोणीय सहकार्यले ‘नयाँ विकल्प’ को सपना देखाएको थियो, तर पद र भागबण्डाको विवादले त्यसलाई चकनाचुर बनाइदियो। आगामी निर्वाचनमा अब रास्वपा र उज्यालो नेपाल अलग–अलग चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्ने देखिन्छ।
रविले भनेका छन्, “बालेनसँग राम्रो पार्टी बनाउने सोचेर नक्खु कारागारमा रहँदादेखि नै पहल गरेको थिएँ, तर अन्तिममा सँगै जाने अवस्था बनेन।”
यो घटनाले नेपाली राजनीतिमा नयाँ दलहरू पनि पुरानै रोगबाट ग्रसित छन् भन्ने सन्देश दिएको छ – पदको लोभ र व्यक्तिगत महत्वाकांक्षाले एकता टुट्ने क्रम जारी छ।
प्रतिक्रिया