काठमाडौं पुष २५।
नेपाली कांग्रेसको संस्थापन समूहले विशेष महाधिवेशनको नाममा पार्टी विभाजनको खतरा बढ्दै गएको निष्कर्ष निकालेको छ। पार्टी एकता जोगाउन विशेष महाधिवेशन रोक्न आग्रह गर्ने निर्णय पनि समूहले गरेको छ।
काठमाडौंको बानेश्वरस्थित आनन्दभूमि इभेन्टमा बसेको संस्थापन पक्षीय नेताहरूको छलफलमा पार्टी कमजोर बनाउने गतिविधि सक्रिय हुँदै गएको भन्दै त्यसलाई रोक्न संगठनात्मक पहल गर्ने विषयमा गम्भीर छलफल भएको थियो।
छलफलमा केन्द्रीय सदस्यहरू कृष्ण सिटौला, बालकृष्ण खाण, एनपी साउद, वीरबहादुर बलायर, शिव हुमागाईं, गुरु बराल, जीतजंग बस्नेत, किरण पौडेल, लक्ष्मी खतिवडा, उर्मिला थपलिया, गंगा अवाल, मदन कृष्ण श्रेष्ठ, गणेश लामा लगायत सहभागी थिए।
छलफलपछि जानकारी दिँदै केन्द्रीय सदस्य गुरु बरालले इतिहासले देखाइसकेको पार्टी विभाजनको मोडल फेरि दोहोरिन खोजिएको बताए।
उनले भने, “पार्टी विभाजन र कमजोर बनाउन केही शक्ति सक्रिय छन्। कांग्रेस कमजोर हुँदा लोकतन्त्र नै कमजोर हुन्छ। त्यसैले पार्टी फुट्न नदिन देशभरका नेता–कार्यकर्तालाई एकताका लागि आह्वान गर्ने निर्णय गरिएको छ।”
उनले विशेष महाधिवेशनको नाममा पार्टी विभाजनतर्फ उन्मुख गराउने प्रयास भइरहेको भन्दै विशेषको माग गरिरहेका पक्षलाई पनि कांग्रेस एकढिक्का बनाउन अपिल गरिने बताए।
“मुठभेडतिर होइन, एकतातिर पार्टीलाई लैजान चाहन्छौं,” उनले भने।
संस्थापन समूहले पुस २७ गते युवा तथा जिल्ला सभापतिको भेला आयोजना गर्ने निर्णयसमेत गरेको छ। उता, कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितको समूहले सोही दिन विशेष महाधिवेशन आह्वान गरेका छन्।
यससँगै नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर आन्तरिक मतभेद थप सतहमा देखिन थालेको छ।
कांग्रेस संस्थापन समूहको निष्कर्ष : विशेषको नाममा पार्टी विभाजन हुन लाग्यो, रोक्न खोज्दै छौं
प्रतिक्रिया