ट्रम्पको निशानामा भेनेजुएलाका गृहमन्त्री, सहयोग नगरे मादुरोको जस्तै कारबाही गर्ने चेतावनी

काठमाडौँ, २४ पुस । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई सत्ताबाट हटाएपछि ट्रम्पको निशाना भेनेजुएलाका गृहमन्त्री तथा सुरक्षा प्रमुख डियोसदादो काबेलोतर्फ केन्द्रित भएको छ ।

अमेरिकाले काबेलोलाई अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजसँग मिलेर वासिङ्टनका सर्तहरू मान्न र देशमा शान्ति कायम राख्न भनेको छ । काबेलोले सहयोग नगरेमा मादुरोजस्तै कारबाही हुने चेतावनी दिइएको समाचार संस्था रोयटर्सले जनाएको छ । अमेरिकाले बिचौलियामार्फत काबेलोलाई विरोध गरेमा मादुरोजस्तै हालत हुनसक्ने सन्देश दिएको छ । मादुरोलाई हालै अमेरिकाले पक्राउ गरी न्युयोर्क लगेर मुद्दा चलाएको थियो ।

यद्यपि, अमेरिका अहिले काबेलोलाई तुरुन्त हटाउन चाहँदैन, किनकि त्यसो गर्दा सरकार समर्थकहरू सडकमा उत्रिन सक्छन् र अवस्था झनै बिग्रन सक्छ ।काबेलो भेनेजुएलाको सत्ता संरचनामा एक शक्तिशाली व्यक्ति हुन् । उनी पूर्वराष्ट्रपति ह्युगो चाभेजका निकट सहयोगी र मादुरो शासनका बलियो अनुहारका रूपमा चिनिन्छन् । हाल गृहमन्त्रीका रूपमा आन्तरिक सुरक्षा, प्रहरी र गुप्तचर संस्थामाथि उनको बलियो नियन्त्रण छ । संयुक्त राष्ट्रसंघका रिपोर्टहरूमा उनका मातहतका संस्थाहरूले विपक्षीलाई दबाउन मानवताविरुद्ध अपराध गरेको आरोप लगाइएका छन् ।

अमेरिकी न्याय विभाग र ट्रेजरी विभागका अनुसार काबेलोमाथि लागूऔषध तस्करी र नार्को–आतंकवादको आरोप छ । मार्च २०२० मा अमेरिकी न्याय विभागले उनलाई विश्वकै ठूला ड्रग तस्करहरूको सूचीमा राखेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति