राष्ट्रिय सभाका १८ सिटमा चार दलको गठबन्धन: कांग्रेस-एमाले ७/७, नेकपा ३ र जसपा १ सिट

काठमाडौं, पुष २२ । आसन्न राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा)बीच चुनावी तालमेल हुने सहमति भएको छ । कांग्रेसको पहलमा चार दल एक ठाउँ उभिएका हुन् ।

कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकको सक्रियतामा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरूसँग घनिभूत छलफलपछि यो सहमति जुटेको हो ।

सिट भागबन्डा यसरी :

  • नेपाली कांग्रेस : ७ सिट
  • नेकपा (एमाले) : ७ सिट
  • नेपाल कम्युनिस्ट पार्टी (नेकपा) : ३ सिट
  • जनता समाजवादी पार्टी (जसपा) : १ सिट

कांग्रेसले आफ्नो ‘स्ट्रेन्थ’ अनुसार सुरुमा ८ सिट दाबी गरेको थियो तर नेकपाका लागि एउटा सिट छाडेर ७ मा सहमत भएको स्रोतले जनाएको छ । एमाले अध्यक्ष ओलीले राष्ट्रिय सभामा आफ्नो उपस्थिति कम भएको भन्दै ७ सिटभन्दा तल झर्न नमान्ने अडान राखेका थिए । नेकपाले भने ४ सिट मागेको थियो तर अन्ततः ३ मा सहमति भएको छ ।

जसपा अध्यक्ष उपेन्द्र यादव र नेता महन्थ ठाकुरसँग कांग्रेस नेताहरूले टेलिफोनमा कुराकानी गरिरहेको बुझिएको छ ।

क्लस्टर र प्रदेशगत भागबन्डा बाँकी

सहमति भए पनि क्लस्टर (महिला, दलित, अपाङ्ग/अल्पसंख्यक र अन्य) तथा प्रदेशगत भागबन्डा मिल्न बाँकी छ । पुष २३ गते उम्मेदवारी दर्ताको समयसीमा रहेकाले आजै टुंगो लगाउनुपर्ने दबाब छ ।

एमाले उपमहासचिव लेखराज भट्टले भने, ‘हरेक प्रदेशमा १ जना पर्ने गरी ७ जना भनेका छौं, तर कुन प्रदेशमा महिला/पुरुष को पर्छ भन्ने टुंगो लागेको छैन । यो जिम्मा अध्यक्ष ओलीलाई दिइएको छ ।’

निर्वाचन विवरण

  • कुल रिक्त सिट : १८ (निर्वाचित) + १ (मनोनित)
  • प्रदेशगत : कोशी र लुम्बिनीबाट ३–३, मधेसबाट ४, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमबाट २–२
  • मतदान मिति : माघ ११
  • मतदाता : प्रदेश सभा सदस्य (मतभार ५३) र स्थानीय तहका प्रमुख/उपप्रमुख (मतभार १९)

हाल राष्ट्रिय सभामा कांग्रेसका १६, एमालेका ११ (मनोनितसहित), नेकपाका २७ (मनोनितसहित), जसपाका ४ र राष्ट्रिय जनमोर्चाका १ सदस्य छन् । फागुन २१ मा कार्यकाल सकिनेमा एमालेका ८, नेकपाका ९ (मनोनित वामदेव गौतमसहित) र जसपाका २ छन् । कांग्रेसका यसपटक कोही रिक्त छैनन् ।

चार दलको गठबन्धनले साझा उम्मेदवार खडा गरेमा निर्विरोध निर्वाचित हुने सम्भावना बलियो छ । राप्रपा, जनमत, नागरिक उन्मुक्तिजस्ता साना दलहरू प्रतिस्पर्धामा उत्रिने तयारीमा कमै देखिएका छन् ।

यो गठबन्धनले आगामी फागुन २१ को आम निर्वाचनको पूर्वाभास पनि दिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति