वीरगञ्जमा कर्फ्यू लम्बियो

काठमान्डौ पुस २२,
धार्मिक एवं सामाजिक विषयलाई लिएर दुई समुदायबीच तनाव बढेपछि स्थानीय प्रशासनले सोमबार साँझदेखि वीरगञ्जमा लगाइएको कर्फ्यू मंगलबार साँझ ६ बजेसम्म लम्बिएको छ ।

सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्म जारी गरिएको कर्फ्यू दिउँसो १ बजेसम्मका लागि लम्ब्याइएको थियो । १ बजेसम्म जारी गरिएको कर्फ्यू पुनः थप गरी साँझ ६ बजेसम्म पुर्‍याइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

प्रजिअ भोला दाहालका अनुसार वीरगञ्ज महानगरपालिका क्षेत्रअन्तर्गत पूर्वमा बसपार्क, नगवा, इनर्वा, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कुनै किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको छ ।

कर्फ्यूको समयमा अत्यावश्यक बाहेक घर बाहिर ननिस्किन र निस्किनु पर्दा नजिकको सुरक्षाकर्मीसँग समन्वय गरी वा १०० नं मा फोन गरी बाहिर निस्कन प्रशासनले अनुरोध गरेको छ ।

कर्फ्यू आदेश अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरू, एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी साधनहरू, सञ्चारकर्मीहरू, पर्यटक सवारी साधनहरू, मानवअधिकार तथा कूटनीतिक नियोगका सवारी साधनहरू र हवाई टिकटको आधारमा हवाई यात्रुहरूको आवगमनमा सुरक्षाकर्मीहरुबाट सहजीकरण गर्न अनुरोध गरिएको छ ।

धार्मिक एवं सामाजिक विषयलाई लिएर दुई समुदायले आइतबारदेखि वीरगञ्जमा लगातार प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका कारण वीरगञ्ज अशान्त बन्दै आएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति