सबै पुराना दलका नेतालाई खाल्डमा पुर्ने लामिछानेको चेतावनी

काठमाडौं २१ पुस,। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ठूला दलका शीर्ष नेताप्रति कटाक्ष गरेका छन् । पार्टीको समायोजन घोषणा सभालाई सम्बोधन गर्दै उनले आफूमाथि लागेको मुद्दा मामिलालाई प्रतिशोध भन्दै कटाक्ष गरेका हुन् ।

उनले शीर्ष नेताप्रति रिस पोख्दै भने, ‘मलाई पुर्न साढे ६ फिटको खाल्डो खने हुन्छ भनेकै हो तर यति ठूलो खाल्डो खन्नुः भयो तपाईंहरूलाई नपुरी सुखै छैन ।’

उनले पुराना दलहरू एक जुट भएर रास्वपामाथि आक्रमण जारी राखेको पनि बताए । निर्वाचन हुन नदिन कसैले षडयन्त्र नगर्न पनि लामिछानेले आग्रह गरे ।

त्यस्तै यसअघि अन्य दललाई मतदान गर्दै आएकाहरूलाई पनि उनले यसपटक आफूले माया गरेको दललाई प्रतिपक्षमा बस्न दिनेगरी रास्वपालाई समर्थन गर्न आग्रह गरे ।

‘म तपाईंहरू सबैलाई भन्छुः पुराना दलका नेतालाई कटाक्ष गर्न छोडिदिनुस् । पुराना दलका नेताले पनि हाम्रो दलको बारेमा चिन्ता नगर्नुस् पर्दैन । संसद्लाई तपाईंहरूले बजेट भाषणबाहेक हेर्न नमिल्ने बनाउनु भएको थियो,’ उनले भने, ‘युवा पुस्ताले आँखा झिमिक्क नगरी हेर्न मिल्ने बनाउने रास्वपा हो । गिरेको मनोबल र अर्थतन्त्रलाई हामी उकास्छौँ ।’

उनले आफ्नो दलका नेता राजनीतिक रुपमा परिपक्क हुँदै गरेको पनि सुनाए । त्यस्तै अन्य दलका नेताले गरिरहेको राजनीतिमा भने उनले प्रश्न उठाए ।

‘त्यो राजनीति पनि के राजनीति ? देशलाई हरिकंगाल बनाएर छोडेर सम्भावना नै सम्भावना भएको देशलाई संभावना नभएको बनाउनु भयो । हामीसँग मुलुकलाई गन्तव्यमा जाने वातावरण बनाउने क्षमता छ,’ उनले भने, ‘अब चुनावबाटै निकास दिने हो । तपाईंले माया गरेको दलबाट निकास नआएपछि पनि तयही दलाई माया गर्नुहुन्छ भने त्यसलाई एकपटक प्रतिपक्षमा बस्न दिनुहोस् ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति