कुखुरा, बाख्रा र स्यालको मोर्चाले बाघलाई छुन पनि सक्दैन : ओलीको रवि–बालेन–कुलमानमाथि कटाक्ष !

काठमाडौं १५ पुस। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत नयाँ अनुहारहरूलाई लक्षित गर्दै कडा व्यंग्य गरेका छन् । मंगलबार मदन-आश्रित स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘एमाले महाधिवेशनको सन्देश र राजनीतिक निकास’ विषयक विचार गोष्ठीमा ओलीले रवि लामिछाने, बालेन्द्र शाह र कुलमान घिसिङको सम्भावित सहकार्यलाई ‘कुखुरा, बाख्रा र स्यालको मोर्चा’ को संज्ञा दिए ।

‘कुखुरा, बाख्रा र स्यालको मोर्चाले बाघको सिकार गर्न सक्दैन,’ ओलीले भने । यो टिप्पणीपछि सभाहलमा ठूलो हाँसो र ताली गुञ्जिएको थियो ।

ओलीले एमालेलाई परास्त गर्न विभिन्न शक्तिहरू मोर्चाबन्दीमा लागेको दाबी गरे । उनले नेपाली कांग्रेसलाई पनि त्यही मोर्चाको हिस्सा बनाउँदै भने, ‘कांग्रेस यस्तो पार्टी हो, जसले छेउमा नगएसम्म केही गर्दैन, छेउमा गएपछि गाह्रो पार्छ ।’

सोही कार्यक्रममा ओलीले रास्वपालाई इंगित गर्दै थप व्यंग्य गरे । ‘प्रधानमन्त्री बनाइसके मान्छेहरूले हामी चुनाव पर्खिरहेका छौं भन्दै हिँडेका छन्,’ उनले भने, ‘देशमा को लोकप्रिय छ भन्ने चर्चा यो निर्वाचनसम्मै रहन्छ । प्रधानमन्त्री बनाइसकेका मान्छेहरूले हामी चुनाव पर्खिरहेका छौं भन्छन् । कहिले होला ? फागुन २१ मा होला, वैशाखमा होला, या अर्को मंसिरमा होला, हामी चुनाव पर्खिरहेका छौं ।’

ओलीले एमालेको हालै सम्पन्न महाधिवेशनले धेरै प्रश्नको जवाफ दिएको र आगामी निर्वाचनले राष्ट्रिय फैसला दिने बताए ।

पछिल्लो समय रवि लामिछाने, बालेन्द्र शाह र कुलमान घिसिङलाई नयाँ राजनीतिक विकल्पका रूपमा हेरिएको छ । उनीहरूबीच चुनावी तालमेलको चर्चा चलिरहेका बेला ओलीको यो लगातारको व्यंग्यले परम्परागत दल र नयाँ शक्तिबीचको ध्रुवीकरणलाई स्पष्ट पारेको छ । आगामी निर्वाचन नजिकिँदै गर्दा यस्ता प्रतिव्यंग्यहरू अझ तीव्र हुने अनुमान गरिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति