काठमाडौं १५ पुस । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । पार्टीले ढिलाइ गरेर मध्यराति सूची बुझाएपछि खस आर्य महिला क्लस्टरमा पूर्वमन्त्री बलबहादुर केसीकी पत्नी रिना उप्रेतीको नाम पहिलो नम्बरमा राखिएको विषयले विवाद निम्त्याएको छ ।
बलबहादुर केसी २०४८ सालदेखि निरन्तर सोलुखुम्बुबाट कांग्रेसको उम्मेदवार बन्दै आएका छन् । उनले चार पटक जितेका र तीन पटक हारेका छन् । यसपटक पनि प्रत्यक्षतर्फ उनको नाम सिफारिस भएको छ । रिना पद्मकन्या क्याम्पसकी पूर्व स्ववियु सभापति हुन् ।
सूचीमा खस आर्य क्लस्टरतर्फ पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसी पहिलो नम्बरमा छन् । उनले प्रत्यक्ष चुनाव नलड्ने घोषणा गरिसकेका छन् । आदिवासी जनजाति क्लस्टरमा सहमहामन्त्री भीष्मराज आङ्देम्बे पहिलो नम्बरमा परेका छन् । आङ्देम्बे कोशी प्रदेशबाट सक्रिय नेता हुन् र यसअघि पनि चुनाव लडेर पराजित भएका थिए ।
कांग्रेसले सूची बुझाउन अन्तिम समयसम्म ढिलाइ गरेको थियो । सभापति शेरबहादुर देउवाको हस्ताक्षरका कारण विलम्ब भएको र खस आर्य महिला क्लस्टरमा संस्थापन र इतर पक्षबीच रस्साकस्सी भएको बताइएको छ । पार्टीभित्रै केही नेताहरूले रिना उप्रेतीको नामका कारण सूची सच्याउन दबाब दिएका थिए ।
सभापति देउवाले भने मुलुक चुनावमा गएकाले विशेष महाधिवेशन नहुने र पार्टी एकताका साथ चुनावमा होमिनुपर्ने बताएका छन् । कांग्रेसले समावेशी सिद्धान्तअनुसार सूची तयार पारेको दाबी गरेको छ तर परिवारवादको आरोप लागेको छ ।
निर्वाचन आयोगका अनुसार ६५ भन्दा बढी दलले समानुपातिक बन्दसूची बुझाएका छन् । कांग्रेससहित प्रमुख दलहरूले सूची बुझाएसँगै चुनावी प्रक्रिया अघि बढेको छ ।
प्रतिक्रिया