काठमाडौं १४ पुस– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी बीच सोमबार औपचारिक एकीकरण भएको छ। राजधानीमा आयोजित विशेष कार्यक्रममा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधव कुमार नेपाल र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ ले १० बुँदे सहमतिपत्र मा हस्ताक्षर गरेका छन्।
यो एकीकरणले थारु, मधेस र सीमान्तकृत समुदायका मुद्दालाई कम्युनिस्ट आन्दोलनसँग जोडेर नयाँ शक्ति प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।
एकीकरणका मुख्य बुँदाहरू
- पार्टी नाम र चिह्न : एकतापछि पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी नै रहने, चुनाव चिह्न तारा।
- जनप्रतिनिधि र संरचना : दुवै पार्टीका संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरू स्वतः नेकपाका सदस्य हुने। नागरिक उन्मुक्तिको केन्द्रीय समिति लगायत सबै संरचना आपसी सहमतिमा समायोजन।
- मुख्य लक्ष्य : संघीयता, सुशासन, समृद्धि र सामाजिक न्यायलाई प्राथमिकता दिँदै समाजवादको दिशामा अघि बढ्ने। सडक, सदन र सरकार तीनै क्षेत्रबाट संघर्ष।
- संविधान संशोधन : वर्तमान संविधानका सकारात्मक पक्षको रक्षा गर्दै नयाँ पुस्ताको भावना र राष्ट्रहितअनुकूल संशोधन/परिमार्जनको पहल।
- टीकापुर घटना : राजनीतिक प्रतिशोधका आधारमा लगाइएका मुद्दा खारेज र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने पहल।
- समावेशिता : महिला, थारु, मधेशी, आदिवासी जनजाति, दलित, मुस्लिम लगायत सीमान्तकृत समुदायलाई राज्यका हरेक निकायमा समानुपातिक समावेशीकरण।
- संगठनात्मक पद्धति : सामूहिक नेतृत्व, समावेशी प्रतिनिधित्व र जनवादी केन्द्रीयताको सहयोगात्मक पद्धति।
- अपिल : अन्य वामपन्थी, समाजवादी र प्रगतिशील शक्तिहरूलाई एक केन्द्रमा ध्रुवीकृत हुन आह्वान।
नेताहरूले यो एकतालाई जनआन्दोलन, जनयुद्ध, थारु आन्दोलन र मधेस विद्रोहका उपलब्धिको रक्षा गर्ने ऐतिहासिक कदम भनेका छन्।
समानुपातिक बन्दसूची : युवा र नयाँलाई प्राथमिकता, प्रमेश हमाल खस आर्यमा एक नम्बर

नेकपाले समानुपातिक बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ। सूचीमा विगतका सांसद र मन्त्रीहरूलाई नदोहोर्याउने नीति लागू गरिएको छ।
- खस आर्य क्लस्टर : एक नम्बरमा प्रमेश हमाल (पूर्व एकीकृत समाजवादीका बरिष्ठ नेता)।
- अन्य प्रमुख नामहरू : गोविन्दराज पौडेल (खस आर्य पुरुष), गणेशबहादुर विश्वकर्मा (दलित), भगवतकुमार श्रेष्ठ (जनजाति), दिलुकुमारी पन्त (महिला), ताजमोहमद मिया, अरुणा बस्नेत, दीपक जंघम, कमलराय यादव, श्रीप्रसाद साह, सरद रसाइली, डा. मित्र परियार, राममणि पोखरेल लगायत।
हर्क साम्पाङबाट कारबाहीमा परेका मित्र परियार समानुपातिक उम्मेदवार
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट अनुशासन कारबाहीमा परेका उपाध्यक्ष मित्र परियार लाई नेकपाले दलित क्लस्टरबाट एक नम्बरमा राखेर समानुपातिक उम्मेदवार बनाएको छ। पुस ५ मा बुटवल कार्यक्रममा आयोजकप्रति गलत व्यवहार गरेको भन्दै साम्पाङले कारबाही गरेका थिए। पुस ११ मा प्रचण्डले परियारलाई पार्टीमा स्वागत गरेका थिए।
पृष्ठभूमि
केही दिनअघि रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीसँग एकताको चर्चा चले पनि रञ्जिता श्रेष्ठले नेकपा रोजेकी हुन्। यो एकीकरणले थारु र मधेसका मुद्दालाई कम्युनिस्ट आन्दोलनसँग जोडेर फागुन २१ को निर्वाचनमा नयाँ प्रभाव पार्ने अपेक्षा छ।
नेकपाले अन्य वामपन्थी तथा प्रगतिशील शक्तिहरूसँग थप सहकार्यको ढोका खुला राखेको छ। यो एकताले नेपालको वामपन्थी राजनीतिमा नयाँ ध्रुवीकरणको सुरुवात गरेको छ।

प्रतिक्रिया