बालेन र रविबीच सातबुँदे सहमति : रास्वपामै एकता, रवि सभापति र बालेन भावी प्रधानमन्त्री उम्मेदवार (पूर्णपाठ)

काठमाडौं १३,पुस : लामो छलफल र अवरोधपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच आइतबार बिहान सातबुँदे सहमतिपत्र मा हस्ताक्षर भएको छ। यो सहमतिले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा एक भएर लड्ने बाटो खोलिएको छ।

हस्ताक्षरको ऐतिहासिक क्षणमा रास्वपा उपसभापति डीपी अर्याल, नेताहरु स्वर्णिम वाग्ले, शिशिर खनाल, असिम साह लगायत सहभागी थिए । यसैगरी कुमार बेन, सुदिप ढकाल,  जेनजी युवा अगुवा केपी खनाल, भुपदेव साह, कलाकार निश्चल बस्नेत लगायत पनि सो कार्यक्रमको साक्षी थिए ।

सहमतिपत्रमा मुख्य बुँदाहरू :

  • एकतापछि दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहने।
  • चुनाव चिह्न घण्टी र झण्डा साविककै।
  • केन्द्रीय सभापति रवि लामिछाने
  • निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
  • जेनजी आन्दोलनको अपनत्व लिई सहिद तथा घाइते परिवारका माग सम्बोधन गर्ने।
  • अर्को दशकभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्र कार्यान्वयन गर्ने।
  • पार्टी संरचनामा युवा अभियन्ता र विज्ञहरूलाई योग्यता, समावेशिता र सार्वजनक छविका आधारमा समायोजन गर्ने।
  • अन्य वैकल्पिक शक्ति, समूह र व्यक्तिहरूलाई पनि घण्टी चिह्नमा गोलबन्द हुन आह्वान गर्ने।

हस्ताक्षरपछि रवि लामिछानेले फेसबुकमा लेखेका छन् : “सहमति भनेको नेताले खोजेकोजस्तो होइन, देशलाई चाहिएको जस्तो हुनुपर्छ।”

सहमतिपत्रको सारांश (सात बुँदा)

१. जेनजी आन्दोलनलगायत जनआन्दोलनका सहिद र घाइतेहरूको बलिदानलाई स्मरण गर्दै भ्रष्टाचार र कुशासनविरुद्धको आन्दोलनको अपनत्व लिने र पीडित परिवारका माग सम्बोधन गर्ने।

२. सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा आधारित नीतिगत तथा संरचनात्मक सुधारमार्फत दश वर्षभित्र नेपाललाई मध्यम आय भएको राष्ट्र बनाउने।

३. दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी, झण्डा र चुनाव चिह्न घण्टी नै कायम रहने। केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा।

४. केन्द्रीय सभापति रवि लामिछाने, निर्वाचनपछि संसदीय दलको नेता तथा प्रधानमन्त्री उम्मेदवार बालेन्द्र शाह

५. पार्टी संरचनालाई सक्षम बनाउन युवा अभियन्ता र विज्ञहरूलाई समायोजन गर्ने।

६. सहमति अनुसार पार्टी दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने।

७. सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दामा अन्य वैकल्पिक शक्तिहरूलाई घण्टीमा गोलबन्द हुन आह्वान गर्ने।

पछिल्ला दिनमा उम्मेदवारी अनुपात (५०–५० बनाम ६०–४०), कुलमान घिसिङको भूमिका र उज्यालो नेपाल पार्टीको असहमतिले एकता प्रक्रिया अवरुद्ध बनेको थियो। तर, अन्ततः रवि–बालेनबीच समझदारी जुटेसँगै यो सहमतिले वैकल्पिक शक्तिको ठूलो ध्रुवीकरणको सुरुवात गरेको छ।

कुलमान घिसिङ र उज्यालो नेपाल पार्टीको भूमिका भने अझै स्पष्ट छैन। यसअघि उज्यालो नेपालले रवि सभापति र बालेन प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरेको थियो। अब अन्य वैकल्पिक शक्ति (रेशम चौधरी, सीके राउत, जेनजी समूह लगायत) कसरी समेटिन्छन् भन्ने हेर्न बाँकी छ।

यो सहमतिले फागुन २१ को निर्वाचनमा रास्वपा–बालेन गठजोडलाई बलियो बनाउने अपेक्षा गरिएको छ। जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिवर्तनको यो महत्वपूर्ण कदम मानिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तथा बालेन्द्र शाह बीच ‘बृहत् एकता’ सम्बन्धी सहमति

सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन कायम गरी आम नागरिकका आकांक्षा सम्बोधन गर्न सबै सुसंस्कृत एवं परिवर्तनकामी राजनीतिक शक्तिहरूबीच सहकार्य हुन अपरिहार्य रहेको तथ्यलाई आत्मसात् गर्दै, २०८२ साल भदौ २३ र २४ को जेनजी आन्दोलनलगायत विभिन्न कालखण्डमा भएका जनआन्दोलनहरूका सहिद एवं घाइतेहरूको बलिदानलाई प्रेरणादायी स्मृतिमा राख्दै, समान अठोट बोकेका शक्तिहरूको सहकार्यमार्फत राष्ट्रसेवाको साझा लक्ष्य हासिल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (पहिलो पक्ष) र श्री बालेन्द्र शाह (दोस्रो पक्ष) बीच देहायका सहमति भएको छ।

१. नवयुवाहरुले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको अपनत्व लिई घाईते तथा सहिद परिवारका मागहरूको यथोचित सम्बोधन गर्ने प्रतिबद्वता जनाउने,

२. समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरूका लागि गरिनुपर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरूमार्फत आर्थिक-सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमान्दार कार्यान्वयनप्रति समर्पित हुने,

३. पहिलो पक्ष र दोस्रो पक्षबीच बृहत् एकता भएपश्चात् स्थापित हुने राजनीतिक दलको नाम “राष्ट्रिय स्वतन्त्र पार्टी”, दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङकोको गोलाकार बीचमा निलो रङको घण्टीको आकृति, दलको चुनाव चिह्न ‘घण्टी’ र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने,

४. राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने

५. बृहत् एकतापश्चात् पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरूलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने,

६. यस सम्झौता बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने,

७. राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह ‘घण्टी’ मा गोलबद्ध भइ लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्धा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरुलाई आव्हान गर्ने।

रवि लामिछाने                     बालेन्द्र शाह

पुस १३, २०८२ काठमाडौँ

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति