ताप्लेजुङको याङ्मामा ब्वाँसोको त्रास

ताप्लेजुङ, ७ पुस । यहाँको फक्ताङलुङ गाउँपालिका– ७ ओलाङचुङगोला स्थित हिमाली बस्ती याङ्मामाका बासिन्दा बर्सेनी ब्वाँसो आतंक खेप्न बाध्य छन्। ब्वाँसोको आक्रमणबाट पशुचौपाया उनीहरूले मरेपछि हरेक वर्ष लाखौँको क्षति बेहोर्नु परेको छ। यो वर्ष केही दिन अघि याङ्माकालोप्साङ शेर्पा र नाम्ग्या शेर्पाको गोठमा रहेका तीन चौरी ब्वाँसोको आक्रमणबाट मरेका छन्। अन्य पशुपालकसमेतका गरी यसवर्ष हालसम्म नौ चौरी मरेका छन्। फक्ताङलुङ गाउँपालिका– ७ ओलाङचुङगोलाका वडाअध्यक्ष छेतेन शेर्पाका अनुसार अघिल्लो वर्ष मात्र यस क्षेत्रमा ३० भन्दाबढी चौपाया ब्वाँसोको आक्रमणमा परेर मरेका थिए। बर्सेनि हुने यस्ताआक्रमणका कारण यहाँका किसानले आर्थिक क्षति बेहोर्नु परेको छ। एउटा चौरीको मूल्य कम्तीमा ६० हजारसम्म पर्छ भने चीनको तिब्बत लैजाँदा यसको मूल्य दोब्बर पर्छ। यसरी ब्वाँसोको आक्रमणबाट बर्सेनि घाटा बेहोर्नुपरे पनि यसको नियन्त्रण तर्फ राज्यले खासै चासो नदिएको स्थानीयवासीको गुनासो छ। राहत उपलब्ध गराइए पनि अत्यन्त न्यून मात्र पाइने गरिएको पशुपालक लोप्साङ शेर्पाको भनाइ छ। नौ घरधुरी मात्र रहेको याङ्माका बासिन्दाको मुख्य पेसा नै पशुपालन हो। यही पेसाबाट जीविकोपार्जन गर्दै आएका उनीहरूलाई ब्वाँसोले लामो समयदेखि दुःख दिँदै आएको छ।

विशेषगरी जाडोयाममा ब्वाँसोको हुल नै यो क्षेत्रमा आउने गरेका छ्न। यहाँका बासिन्दाले वर्षौंँदेखि यसैगरी ब्वाँसोबाट सास्ती खेप्नुपरेको छ।

यसरी पशुचौपाया मरेका परिवारलाई उचित राहतको प्रबन्ध गर्न न्यून बजेटका कारण समस्या हुने गरेको अध्यक्ष शेर्पाले बताए। बजेट अत्यन्तै कम हुने भएकाले पशुपालकका समस्या उचित रूपमा सम्बोधन गर्न नसकिएको अध्यक्ष शेर्पाको भनाइ छ।

संघ, प्रदेश सरकारले नै यसको नियन्त्रण र राहतमा ध्यान दिनपर्नेमा अध्यक्ष शेर्पाको जोड छ। उक्त ब्वाँसोलाई स्थानीयले च्याङु भनेर चिन्ने गरेका छन्। वर्षातका समयमा भने उक्त ब्वासो देखिने गरेको छैन। पशुपालक लोप्साङ शेर्पाका अनुसार वर्षातको समयमा यो जनावर चीनतर्फ जाने वा अन्यत्र कता जान्छ भन्ने यकिन हुँदैन।

हिउँ चितुवा जस्तै यस जनावरमा पनि (ट्याकिङ उपकरण० जडान गरी यसको आवागमन र आचरणबारे अध्ययन गर्न सकिए प्रभावकारी हुने अध्यक्ष छेतेन शेर्पाले सुझाव दिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति