काठमाडौं, ५ पुस । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले खुलामञ्च खुला गर्न माग गरेका छन् ।पार्टीको बागमती प्रदेश कमिटीले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्ने क्रममा उनले सो माग गरेका हुन् ।
कम्तीमा एक लाखसम्म मान्छे अट्ने चौर वा मञ्च नहुने देशकै लागि लज्जाको विषय भएको उनको भनाइ छ । ‘नेपाल सरकार र महानगरपालिकालाई यो खुलामञ्च खुला गर्नका लागि आग्रह गर्नु चाहन्छु । किनकी यो नेपाल राज्यकै निम्ति अपमान र लज्जाको विषय हो । एउटा ५० ६० हजार एक लाख मान्छे जम्मा भएर बस्ने एउटा पनि मञ्च, चौर हामीमाझ नहुनु नेपाल देशकै निम्ति लज्जाको विषय भएको छ,’ प्रचण्डले भने ।
उनले सरकार र महानगरको नेतृत्व लिएका जनप्रतिनिधिलाई खुलामञ्च खुला गर्न आग्रह गरे । ‘म नेपाल सरकार र अहिले महानगरपालिकाको जिम्मेवारी लिएका प्रतिनिधिलाई पनि यो स्थितिको अन्त्य गर्नका लागि पनि जोडदार अपिल गर्न चाहन्छु,’ प्रचण्डले भने, ‘राजनीतिक दल, सामाजिक संस्था र सबैका लागि एउटा खुला मञ्च, समारोह सभा गर्ने स्थल अनिवार्य छ । यसमा सबैको ध्यान जाओस् ।’आजको सभा गर्नका लागि पनि टुँडिखेलमा गर्न सकिन्छ कि भनेर पहल गरिएको तर सफल नभएको प्रचण्डको भनाइ छ ।‘हामीले यो सभाको आयोजना गर्दैगर्दा सरकार, महानगर र टुँडिखेलमा सम्भावना छ कि भनेर टुँडिखेलमा पनि आयोजना गर्ने, जनसमुदायलाई सहज ढंगले बसेर हाम्रो कुरा सुन्ने वातावरण बनाउने पहल गरिएको थियो । तर हामी सफल हुन सकेनौं,’ उनले भने ।
प्रतिक्रिया