काठमाडौं २६ मंसिर । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन मा कोशी प्रदेशबाट केन्द्रीय समितिमा जान खोज्नेहरु मध्येका झण्डै दुई दर्जन आकांक्षीहरू सक्रिय लबिङमा लागेका छन्। यीमध्ये पूर्वमन्त्रीहरू, प्रदेश सांसदहरू, स्थानीय तहका प्रमुखरउपप्रमुखहरू तथा जनवर्गीय संगठनका नेताहरू प्रमुख छन्। उनीहरू केपी ओली र ईश्वर पोखरेल लगायतका शीर्ष नेतासँग भेटघाट तथा दौडधुपमा लागेका छन्।
यहाँ उनीहरूको राजनीतिक पृष्ठभूमि, योगदान र आकांक्षाका आधारमा प्रस्तुत गरिएको छ।
पूर्वमन्त्री तथा राज्यमन्त्रीहरू
यी अनुभवी नेताहरू मन्त्रालयीय अनुभवलाई आधार बनाएर केन्द्रीय समितिमा दाबी गर्दैछन्।
१. रेवतीरमण भण्डारी – कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री (सुनसरी)
रेवतीरमण भण्डारी सुनसरीका पुराना एमाले नेता हुन्, उनीसँग पार्टी राजनीतिमा तीन दशकभन्दा बढीको अनुभव छ। उनी एमाले सुनसरीको सदस्य, उपसचिव, सचिव हुँदै दुई कार्यकाल अध्यक्ष बनेका थिए। दोस्रो संविधानसभामा निर्वाचित भण्डारी २०१८ देखि प्रदेशसभा सदस्य छन्। हिकमत कार्कीको मन्त्रिपरिषद् विस्तारमा २०२४ डिसेम्बरमा कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका उनी कानुन प्रवर्तन र प्रशासनिक सुधारमा केन्द्रित छन्। महाधिवेशनअघि केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गरेका छन् । उनको कार्यकालमा स्थानीय शासनमा संघीयता कार्यान्वयनका लागि महत्वपूर्ण योगदान रहेको उनले दावी गर्दै आएका छ।
२. एकराज कार्की – खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री (झापा)
एकराज कार्की झापाका प्रमुख एमाले नेता हुन्,उनसले २०१८ देखि कोशी प्रदेशसभामा प्रतिनिधित्व गर्दै आएका छन्। हिकमत कार्कीको तेस्रो कार्यकालमा २०२४ मेमा खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री नियुक्त भएका कार्की पूर्वी नेपालको कृषि र जलविद्युतका लागि महत्वपूर्ण पूर्वाधार परियोजनाहरूको नेतृत्व गर्दैछन्। पूर्व जिल्ला कमिटी नेताका रूपमा उनको जिम्मेवारीमा सिँचाइ सञ्जाल विस्तार र नवीकरणीय ऊर्जा प्रवर्द्धन गरेको उनको दावी छ ।
झापामा प्रतिनिधि निर्वाचनमा सर्वाधिक मत प्राप्त गरेर उनले आफ्नो लोकप्रियताको आधारभूत समर्थन देखाएका छन्।
३. पाँचकर्ण राई (पीके राई) – सामाजिक विकास मन्त्री (खोटाङ)
पाँचकर्ण राई खोटाङका एमालेका स्थापित नेता हुन्, उनले २०१७ र २०२२ मा प्रदेशसभामा जितेका थिए । पूर्व संविधानसभा सदस्य उनी २०२४ मे देखि सामाजिक विकास मन्त्री छन्, । उनको राजनीतिक यात्रामा युवा परिचालन र जातीय समावेशी नीतिहरू प्रमुख रहेको दावी गर्दै आएका छन ।
४.अम्बिरबाबु गुरुङ – पूर्व राज्यमन्त्री (ओखलढुङ्गा)
ओखलढुङ्गाका अनुभवी नेता रहेका उनले राज्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्। पार्टीको जिल्ला स्तरमा लामो योगदान दिएका गुरुङ केन्द्रीय समितिमा प्रवेशका लागि सक्रिय छन्।
५.सिर्जना राई – राज्यमन्त्री (खोटाङ)
राई मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा राज्यमन्त्री रहेकी नेतृ हुन्। उनले पनि केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने घोषणा गरेकी छन्। महिला नेतृत्व र सामाजिक क्षेत्रमा उनको योगदानलाई आधार बनाएर उनले दाबी गरेकी छन्।
संघीय तथा प्रदेश सांसदहरू
सुहाङ नेम्वाङ – संघीय सांसद (इलाम)
सुहाङ नेम्वाङ इलामबाट संघीय सांसद निर्वाचित युवा नेता हुन्। स्वर्गीय सुवास नेम्वाङका छोरा सुहाङ पार्टीको युवा पुस्ताका प्रमुख प्रतिनिधि हुन्। केन्द्रीय समिति सदस्यका लागि उनी प्रमुख दाबेदार मानिएका छन्। उनको दाबी युवा सहभागिता र पार्टीको नयाँ पुस्ता नेतृत्वमा आधारित छ।
विदुर लिङ्थेप – प्रमुख सचेतक (संखुवासभा)
लिङ्थेप कोशी प्रदेशसभीय दलका प्रमुख सचेतक हुन्। संखुवासभा १ (२) बाट निर्वाचित उनी २०७४ मा मादी नगरपालिकाका मेयर थिए। अनेरास्ववियुबाट राजनीति सुरु गरेका लिङ्थेप महेन्द्र क्याम्पस धरानको स्ववियु सभापति र त्रिवि कीर्तिपुर क्याम्पसका सचिव भएका थिए।
चिन्तन पाठक – प्रदेश सांसद (झापा)
पाठक झापाका प्रदेश सांसद हुन्, उनले यसअघि झापा जिल्ला कमिटीको अध्यक्षको जिम्मेवारी सम्हालेका थिए। उनले केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेका छन्। जिल्ला संगठन र प्रदेश नेतृत्वमा उनको अनुभव दाबीको आधार हो।
होमबहादुर थापा – प्रदेश सांसद (झापा)
थापा अध्यक्ष केपी ओलीको निर्वाचन क्षेत्र झापा ५ (२) बाट निर्वाचित प्रदेश सांसद हुन्। उनी केन्द्रीय समितिमा जाने तयारीमा छन्। ओलीसँगको निकटताले उनको दाबी बलियो बनेको छ।
बुद्धिकुमार राजभण्डारी – प्रदेश सांसद (सोलुखुम्बु)
राजभण्डारी २०७४ र २०७९ मा सोलुखुम्बुबाट निरन्तर प्रदेशसभामा विजयी भएका नेता हुन्। सामाजिक विकास मन्त्री र कोशी प्रदेशसभीय दलका प्रमुख सचेतक बनेका राजभण्डारी केन्द्रीय सदस्यका आकांक्षी हुन्।
स्थानीय तहका प्रमुख–उपप्रमुखहरूमध्येबाट
दिलीप अग्रवाल (दिलीप बगडिया) – मेयर (मोरङ, रङ्गेली)
अग्रवाल व्यापारिक पृष्ठभूमिबाट राजनीतिमा आएका नेता हुन्। २०७४ देखि मोरङको रङ्गेली नगरपालिकाका निरन्तर मेयर छन्। स्थानीय विकास र पार्टी संगठनमा योगदानलाई आधार बनाएर केन्द्रीय सदस्यको दाबी गरेका छन्।
कालुमान लामा – मेयर (उदयपुर, चौदण्डीगढी)
लामा उदयपुरको चौदण्डीगढी नगरपालिकाका मेयर हुन्। उनी केन्द्रीय कमिटीमा प्रवेशका जनजाति कोटाबाट प्र्रतिस्पर्धा गर्ने तयारीमा छन् ।
महेश्वरी राई – उपमेयर (उदयपुर, त्रियुगा)
राई त्रियुगा नगरपालिकाकी उपमेयर हुन्। महिला नेतृत्वका रूपमा केन्द्रीय समितिको दाबेदार छिन्।उनी ओली निकट छन् ।
अस्मिता थापा – उपाध्यक्ष (ओखलढुङ्गा, लिखु गाउँपालिका)
अस्मिता थापा ४० वर्षमुनिको युवा क्लस्टरबाट केन्द्रीय सदस्यका लागि दाबेदारी गदै छिन्। जिल्ला कमिटी उपसचिव र अनेरास्ववियुबाट आएकी थापा युवा प्रतिनिधित्वको लविंगमा लालेकी छन् ।
विनादेवी राई – पूर्व उपमेयर (खोटाङ, रुपाकोट मझुवागढी)
राई पूर्व उपमेयर हुन्। उनी नयाँ केन्द्रीय सदस्यका दाबेदार छिन्।
जनवर्गीय संगठनका नेताहरूबाट
भीम राई ज्वाला – नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष
ज्वाला धरानका नेता हुन्, उनी प्रेस चौतारी सुनसरीको अध्यक्षसमेत भइसकेका छन् । उनी प्रमुख दाबेदारका रूपमा प्रचारमा लागेका छन्।
युवराज पौडेल (युवराज विवश) – प्रेस चौतारी प्रदेश उपाध्यक्ष
पौडेल ४० वर्षमुनिको क्लस्टरबाट उम्मेदवारी दिने तयारीमा छन्। प्रेस चौतारी कोशीका उपाध्यक्षसमेत रहेका उनी पत्रकारिता र पार्टी प्रचारमा सक्रिय छन्।
परशुराम बस्नेत – विराटनगर
बस्नेतले युवासंघ, खेलकुद महासंघलगायत जनवर्गीय संगठनको नेतृत्व गरेका छन्। उनी केन्द्रीय सदस्यको आकांक्षा राख्छन्।उनी पार्टीभित्र बाहुबलीको रुपमा चित्रित छन्।
मनोज ताम्ली – अनेरास्ववियु पूर्व सचिव
ताम्ली अनेरास्ववियुको सचिवबाट बिदा भएका नेता हुन्। उनले पनि केन्द्रीय सदस्यमा डेब्यू गर्ने प्रयासमा छन्।
अन्य दाबेदारहरूः
राम दंगाल (खोटाङ पूर्व अध्यक्ष), शरणकुमार राई (भोजपुर पूर्व अध्यक्ष), खेमराज पोखरेल (सुनसरी पुराना नेता), वसन्त बानियाँ (कोशी पूर्व सदस्य), फूर्वा तेन्जिङ शेर्पा (अल्पसंख्यक क्लस्टर) लगायत रहेका छन् ।
प्रतिक्रिया