विद्या भण्डारीको सदस्यता कायम गराएर छाडिनेछ
काठमाडौँ, २४ मङ्सिर । नेकपा एमालेको आसन्न ११औँ राष्ट्रिय महाधिवेशन (मङ्सिर २७–२९, भक्तपुर सल्लाघारी र काठमाडौँ भृकुटीमण्डप) को पूर्वसन्ध्यामा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सम्पादकहरूसँग गरेको अन्तरक्रिया कार्यक्रममा पार्टीभित्रका संवेदनशील मुद्दामा खुलस्त धारणा राखेका छन्।
जेनजी आन्दोलन छानबिन आयोगमा गएर ओलीलाई बयान दिन सल्लाह दिएका छन् । पोखरेलले सामूहिक नेतृत्व र पुस्तान्तरणको एजेण्डामा जोड दिंदै आएका छन् ।
भदौ २३–२४ गतेको जेनजी आन्दोलन (भ्रष्टाचार र नातावादविरुद्धको युवा आन्दोलन) मा भएको दमन र विध्वंसको छानबिनका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगका अध्यक्ष, पूर्वन्यायाधीश गौरीबहादुर कार्कीले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि बोलाएको छ। तर, ओलीले आयोगलाई ‘असंवैधानिक’ भन्दै अवज्ञा गर्ने अभिव्यक्ति दिइसकेका छन्। यसबारे बारेमा पोखरेलले ओलीको अवज्ञालाई असान्दर्भिक ठहर गर्दै बयान दिन जानुपर्ने सुझाव दिए।
म ओलीको ठाउँमा भएको भए बोलाउनुभन्दा अघि नै गएर बयान दिन्थेँ। अवज्ञा गर्नु राम्रो होइन,’पोखरेलले भने
‘सरकारले बनाएको आयोगसँग केही कुरामा असहमति भए पनि तथ्य र विचार प्रस्तुत गर्न जानुपर्छ। म ओलीको ठाउँमा भएको भए बोलाउनुभन्दा अघि नै गएर बयान दिन्थेँ। अवज्ञा गर्नु राम्रो होइन,’पोखरेलले भने। उनले आयोगको निष्पक्षतामाथि प्रश्न उठाए पनि बयान नदिनुले पार्टीको छविमा असर पार्ने बताए। ‘हाम्रो अध्यक्ष पनि जानुहुन्छ भन्ने मलाई लाग्छ,’ उनले थपे।
आयोगले ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पासपोर्ट रोक्का गरी उपत्यका छाड्न रोक लगाएको छ। बयान लिने चरणमा पुगेको आयोगले प्रहरी अधिकृत, मुख्यसचिव एकनारायण अर्याल र आईजीपी चन्द्रकुबेर खापुङका बयान लिइसकेको छ। ओलीको असहयोगले आयोगको चुनौती बढेको छ, तर कानुनअनुसार अवहेलनामा ५०० रुपैयाँ जरिवाना हुन सक्छ।
अध्यक्ष उम्मेदवारी ‘झोकमा’ नभएको, सोचपूर्ण तयारी
महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएको सन्दर्भमा पोखरेलले यो कुनै ‘झ्वाँक–झ्वाँक’ (आकस्मिक) निर्णय नभएको प्रष्ट पारे। ‘पार्टी बैठकमा औपचारिक जानकारी गराएर केन्द्रीय कार्यालयमा दर्ता गरेको विषय भएको उनले स्पष्टीकरण दिए । उनले भने यो अस्वाभाविक होइन,’ । उनले पार्टीभित्र विचारगत छलफल हुँदा बाहिर नआउने परिपाटी तोडेर एजेन्डा खुला गर्नुपर्ने बताए।
‘हाम्रो पार्टीमा विचारबारे विवाद छैन। तर कार्यसम्पादन शैलीमा त्रुटि हुँदा समस्या आयो। असल विचार रुटमा पुग्न सकेन, व्यवहारमा लागू गर्न कमजोरी भयो। गल्तीप्रति रियलाइजेसन नहुँदा जनतासँग दूरी बढ्यो,’ पोखरेलले भने। उनले सामूहिक नेतृत्व र लोकतन्त्रका बारेमा जोड दिँदै भने, ‘सामूहिक नेतृत्व सुदृढ नगरे कम्युनिस्ट पार्टी चल्दैन। विधि–पद्धतिबाट चल्नुपर्छ, अन्यथा पार्टी रहँदैन।’
यो अभिव्यक्ति ओलीसँगको प्रतिस्पर्धालाई लक्षित छ, जसमा पोखरेलले पार्टी पुनर्गठन र रुपान्तरणको एजेन्डा अघि सारेका छन्। महाधिवेशनमा ओली दोहोरिने तयारीमा छन् भने पोखरेलले हस्तान्तरणको दबाब दिइरहेका छन्। प्रतिनिधि छनोटमा ओली पक्ष बलियो देखिएको छ ।
विद्या भण्डारीको सदस्यताको मुद्दा उठ्छ, रोकिँदैन
पूर्वराष्ट्रपति विद्या देवी भण्डारीको पार्टी सदस्यता नवीकरण नदिने एमालेको निर्णय (६ साउन २०८२) लाई पोखरेलले ‘अपरिपक्व’ ठहर गर्दै यो मुद्दा महाधिवेशनमा उठ्ने बताए। ‘संविधान, पार्टी विधान र विश्व अभ्यासले रोक्दैन। व्यक्तिको चाहना छ भने रोक्नु हुँदैन। यो विषय अब उठ्छ, रोकिँदैन,’ उनले भने।
भण्डारीले २०७९ फागुनमा राष्ट्रपतिको कार्यकाल सकेपछि सदस्यता नवीकरण गरेको दाबी गरेकी थिइन्, तर ओली समूहले उनको दावीलाई अस्वीकार गरेको थियो। पोखरेल समूहले यसलाई पुस्तान्तरण र समावेशीकरणको मुद्दा बनाएको छ। भण्डारीको समर्थन पोखरेललाई रहेको छ । पार्टी महाधिवेशनमा पोखरेल पक्षले फरक प्रतिवेदन प्रस्तुत गर्ने तयारीमा छ।
तर पार्टी महासचिव शंकर पोखरेलले यो महाधिवेशनमाा कुनै नीतिगत दस्तावेजले प्रवेश नपाउने चेतावनी दिइसकेका छन् ।
अन्तरक्रिया कार्यक्रममा पोखरेल पक्षका उपाध्यक्षहरु युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, सचिवद्धय योगेश भट्टराई र गोकर्ण विष्ट लगायतका नेताहरु समेत उपस्थित थिए ।
प्रतिक्रिया