भदौ २३–२४ बाट सुशीला कार्की पनि डराउन थालिन्, कारण के हो ?

आगजनी गर्ने बानी बस्छ कि भन्ने चिन्ता छ : प्रधानमन्त्री

काठमाडौँ १९ मंसिर। आसन्न निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र निष्पक्ष बनाउने सन्दर्भमा सरकार र निर्वाचन आयोगबीचको समन्वयलाई सर्वदलीय बैठकले मजबुत बनाएको प्रधानमन्त्री सुशीला कार्कीले बताएकी छन् । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा भएको शुक्रबारको छलफललाई निर्वाचनको वातावरण निर्माणका लागि अहिलेसम्मकै सबैभन्दा उपलब्धिमूलक र महत्त्वपूर्ण कदमको रूपमा लिइएको छ।
भदौ २३–२४ को विध्वंसलाई विस्तारै सुशीला कार्कीले पनि स्वीकार्दै भविष्यतर्फको डरलाग्दो बानीबारे बोलेकी छन् ।

गृहमन्त्री अर्यालसहित चारवटै सुरक्षा निकायका प्रमुखहरूले यस भेलामा निर्वाचनका लागि आवश्यक सुरक्षाको अवस्था र हाल भइरहेको तयारीबारे विस्तृत विवरण प्रस्तुत गरेका थिए। सुरक्षा निकाय प्रमुखहरूले निर्वाचनका बेला हुनसक्ने चुनौतीहरूको विश्लेषण गर्दै त्यसलाई नियन्त्रण गर्नका लागि बनाइएका विशेष सुरक्षा योजनाहरूबारे स्पष्ट पारेका हुन्।

सोही अवसरमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले आयोगले निर्वाचनको पूर्ण तयारीका साथ काम गरिरहेको जानकारी गराए। उनले यस अवधिमा निर्वाचन सम्पन्न गराउनका लागि आयोगले धेरै उल्लेखनीय सफलताहरू प्राप्त गरिसकेको विवरण प्रस्तुत गर्दै आयोग निर्वाचनका लागि तयार रहेको विश्वास दिलाए।

प्रधानमन्त्री सुशीला कार्कीले सुरक्षा निकाय र निर्वाचन आयोगको तयारीप्रति सन्तोष व्यक्त गरिन्। उनले आजको भेलाले निर्वाचनको वातावरण बनाउने सन्दर्भमा अहिलेसम्मकै सबैभन्दा महत्त्वपूर्ण र उपलब्धिमूलक भूमिका निर्वाह गरेको बताउँदै सरकार निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गरिन्।

प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज बालुवाटारमा निर्वाचनसम्बन्धी बहुपक्षीय छलफल सम्पन्न भएको छ।

बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा र सञ्चारमन्त्री जगदीश खरेलको पनि सहभागिता थियो।

राजनीतिक दलहरूमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीका नेताहरूको सहभागिता थियो।

निर्वाचन सुरक्षा तयारीमा सरकार र आयोगको प्रतिबद्धता

निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित तीनै जना आयुक्त, सचिव र सहसचिवसमेत गरी ७ जनाको प्रतिनिधिमण्डलको उपस्थिति थियो। चार वटै सुरक्षा निकायका प्रमुखहरू पनि बैठकमा सहभागी थिए ।

सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले बैठकमा व्यक्त गरेको समापन मन्तव्य:

आज जुन भेला भयो, अहिलेसम्मकै महत्त्वपूर्ण हो भन्ने लागेको छ। समग्रमा निर्वाचन होस् र हुनुपर्छ भन्ने आवाज नै यहाँ सबैको रह्यो। कहीँ कतै आशंकाका कारण छन् भने पनि तिनले हामीलाई सचेत गराउँछन् र अगाडि बढ्न मद्दत गर्छन्।

यहाँहरूले उठाउनुभएका कुरालाई हामी अन्यथा मान्दैनौँ। लागेको कुरा भन्नुपर्छ। अहिलेको परिस्थिति के छ, व्यवधान के कस्तो छ भन्ने बताइदिने यहाँहरूको धर्म हो। हामीले एउटा दृष्टिकोणबाट हेरेका हुन सक्छौँ, तपाईँहरूले आफ्नो दृष्टिकोणबाट थप भनिदिनुहुन्छ। यस सुधार गर्दै अगाडि बढ्ने मौका मिल्छ।

भदौ २३ र २४ को घटना कसले कल्पना गरेको थियो र ? देशको जीवनमा एउटा मोड आयो। संसारका सबै मुलुकको जीवनमा यस्ता अप्रत्याशित मोड र उतारचढाव आउँछन्। यस्तो समयमा हामीले एकताबद्ध भएर अगाडिको बाटो पहिल्याउनुपर्छ।

हामीकहाँ जुन घटना भयो, त्यसको विश्लेषण, व्याख्या समय क्रममा होला र निचोड पनि आउला। तर, यस घटनाले राष्ट्रको जीवनमा ठूलो परिवर्तन ल्याइदियो। भइरहेको निर्वाचित र बलियो सरकार परिस्थितिलाई वशमा लिन विफल भयो।

अदालतले गर्ने कुरा आफ्नो ठाउँमा छ। हाम्रा विरुद्धमा अन्तरिम आदेश भएको भए हात बाँध्नुपर्थ्यो। तर, त्यो भएको छैन। हामी अगाडि बढ्नु नै पर्ने हुन्छ।

युवा विद्रोहपछि के गर्ने त, अबको बाटो के त भन्ने सन्दर्भमा यो सरकार आएको हो। यो अन्तरिम कालको व्यवस्थापनका लागि आएको हो। यसले आफ्नो कर्तव्य पूर्ण जिम्मेवारीका साथ पूरै सक्रियताका साथ पूरा गर्दै छ। थकाइ पनि भनी काम गर्दै छौँ।

जेनजीदेखि सबै दल, निर्वाचन आयोग, सुरक्षा निकाय, नागरिक समाज सबै पक्षसँग निरन्तर र कयौँ पटक छलफल गरेका छौँ। आशंकाहरू निवारण गरेका छौँ। मन माझामाझ गरेका छौँ।

मुलुकप्रति हामी सबैको दायित्व छ। मुलुकले एउटा बाटो पाओस्। जेनजी आन्दोलनको मागअनुसार मुलुकले गति र दिशा लेओस्।

निर्वाचन आयोगले तत्कालै सक्रिय भएर निर्वाचनको तयारी अघि बढाएको छ। सुरक्षा निकायको प्रस्तुतिले हामी सक्रिय र सक्षम छौँ भनेको छ।

सेनाले पनि आफ्नो काम सुरु गरिसकेको छ। प्रहरीले निरन्तर कानुनी राज स्थापनाका लागि काम गरिरहेको छ।

२३ गते निहत्था युवा मारिए। भोलिपल्ट आगजनी भयो। यो कसले किन गरेको, अध्ययनले बताउने नै छ।

तर, यो आगजनी गर्ने बानी भयो भने भोलि जोकोहीले जोकसैलाई जलाउन सक्ने चिन्ता भएको छ। यस्तो हिंस्रक घटना फेरि नहोस्, कसैले रुन नपरोस्, यस्तो हृदय विदारक अवस्थाको सामना गर्नु नपरोस् भनेर सबैले सोच्नुपर्छ।

काठमाडौँमा धेरै क्षति भयो, ललितपुरमा कम भयो। ललितपुरमा किन कम भयो भनेर पनि हेर्नुपर्छ। ललितपुरका जनताले धेरै ठाउँमा विध्वंसको प्रतिकार गरेको देखियो। यसरी खराब तत्त्वलाई रोक्ने सामर्थ्य पनि समाजमा हुनुपर्छ। हामीले आफ्नै छिमेकी, साथीभाइको घर किन जलाउनबाट जोगाउन सकेनौँ, यो चिन्ताको विषय हो। यसमा हामीले क्षमा याचना पनि गरौँ।

चुनाव हुन्छ कि हुँदैन भन्ने अब नसोचौँ। कसरी चुनाव सफल पार्ने भनेर सोचौँ। सबैले एक चित्तले सोचेमा चुनाव नहुने कुरै छैन। १२६ वटै दलले चुनाव हुनुपर्छ भन्ने धारणा राख्नुपर्छ। हामी एकमत भयौँ भने निर्वाचनमा कसैले खलल पार्न सक्दैन। खराब तत्त्वले आक्रमण गर्न सक्दैन।

सुरक्षाको पहिलो कडी जनता नै हो, समुदाय नै हो। त्यसपछि मात्र प्रहरी, सशस्त्र, सेना हुन्छ। भूतपूर्व सुरक्षाकर्मी पनि छन्।

अहिलेको परिस्थितिमा हरेकले भनिरहेको एउटै मात्र बाटो निर्वाचन हो। यसबाहेक अर्को विकल्प छैन।

हामीले जेनजी आन्दोलनबाट आयौँ तर दलका विरोधी होइनौँ। राजनीतिक दललाई स्थापित गर्न नै चुनाव चाहिएको हो भनेर यहाँहरूले बुझ्नुपर्छ। 
दलभित्र पनि युवाले स्थान पाउनुपर्छ भन्यौँ होला। तर कसलाई जिताउने र कसलाई हराउने भन्ने जनताको निर्णयको कुरा हुन्छ।

म त झन् कुनै पार्टीको टिकट काटेको मान्छे होइन। जुन दल आए पनि हामी स्वागत गर्छौँ। खुसीखुसी आयोगले प्रमाणपत्र दिन्छ।

हाम्रो कुनै निजी स्वार्थ र आकांक्षा छैन। केही अतिरिक्त प्राप्तिका लागि हामी कुनै काम गरिरहेका छैनौँ। एउटा विषम परिस्थितिमा हाम्रो माग भयो, देशले पत्यायो, हामी आयौँ। देशले सुम्पेको यो अभिभारा पूरा गर्नेबाहेक अर्को कुनै उद्देश्य हामीसँग छैन।

तपाईँहरू चुनावका लागि एक ठाउँमा उभिइदिनुहोस्।

अहिले नयाँ आएकाहरूप्रति तपाईँहरूले शंका गर्नुभएको होला। तर जेनजी पनि पहिलाभन्दा धेरै फरक भएका छन्। अझै पनि राजनीतिक व्यवहार र वातावरण दिन, शिक्षा दिन हामी तयार छौँ।

कुनै दललाई अहित हुने कार्य गरेर कारबाही गर्ने आचार संहिता हुन्छ। त्यसैले हामीलाई अब शंका नगर्नुहोस्।

भदौमा त्यो स्थिति जे आयो, त्यो त न तपाईँको हातमा थियो, न हाम्रो हातमा थियो। अब निर्वाचन गराएर बलियो सरकार बनाएर युवा शक्तिले खोजेको व्यवस्था ल्याउनुपर्छ।


  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति