यो महाधिवेशनमा नीतिबारे छलफल हुँदैन, नेता छान्ने हो : ओली

काठमाडौं १४ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न ११ औं महाधिवेशनमा पार्टीको नीतिमा छलफल नहुने फेरि दोहोर्‍याएका छन्।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सहितका नेताहरूले भदौ २३ र २४ को परिवर्तनपछि त्यो घटना समेतको वस्तुपरक समीक्षा हुनुपर्ने बताइहेका बेला ओलीले छलफल नै नहुने फेरि स्पष्ट गरिदिएका हुन् ।

‘तीन महिनाअगाडि मात्रै विधान महाधिवेशन गरेर नीतिमा छलफल भएको छ। हाम्रो इतिहास, हाम्रा काम, हाम्रा सफलताहरू, कमीकमजोरी, सबै समीक्षा गरेका छौं। हाम्रा राजनीतिक प्रस्ताव, राजनीतिक प्रतिवेदन प्रस्ताव पारित गरिसकेका छौं। संगठनको अवस्था, परिस्थिति के छ कसो छ छलफल भइसकेको छ। अहिले त्यसमाथि, संगठनात्मक नीतिमा कुनै परिवर्तन गर्नुपर्ने आवश्यकता छैन। भर्खरै महाधिवेशनले गरेको छ,’ आइतबार पार्टीको लोगो सार्वजनिक गर्दै अध्यक्ष ओलीले भने।

‘किनभने भर्खरै महाधिवेशनले गरिसकेको छ। विधानमा धेरै ठूलो हेरफेर गर्नुपर्ने छैन। केही सानातिनो गर्नुपर्ने रहेछ भने महाधिवेशनले छोटो विधिबाट गर्नेछ, त्यसमा लामो छलफल हुँदैन।छोटो विधिबाट हामी टुंग्याउन सक्छौं। त्यस महाधिवेशन ती संगठनात्मक संरचना, नीतिलाई अघि बढाउने नेतृत्व छान्नुपर्नेछ। त्यो काम गर्नेछ,’ उनले भने, ‘त्यसमा कुनै प्रकारको असहमति राख्नुपर्ने, कुनै ठाउँ पनि छैन आवश्यकता पनि छैन।’

‘महाधिवेशनमा मतदान हुन्छ। यो मतदान गर्न नदिएर, मतदान नै नभएर ल यसरी सर्वसम्मति गर्नुपर्छ भन्ने नाउँमा सेन्टिमेन्टल कुरा गरेर, सेन्टिमेन्टलको नाममा कसैलाई आउनै नदिएर अगाडि बढ्ने, आउनै नदिएर रोक्ने खालको काम हुन्छ कि भन्ने यस्तो खालको कुरा हुँदै होइन,’ उनले भने, ‘त्यस्तो रोक्नेसोक्ने कुनै काम हुँदैन। प्रतिस्पर्धा, खुला हुन्छ। प्रतिस्पर्धा गर्न चाहनेले राम्रोसँग गर्न पाउँछ।’
अध्यक्षका हैसियतले आफूले सहमतिमा जोड दिने उनले बताए।

‘जसले छोड्नुपर्छ सहमतिका साथै छाडौं। जो बस्नुपर्छ सहमतिका साथ बसौं। सहमतिका साथ जाऔं। भन्दै गर्लान्, एमालेमा डेमोक्रेसी छैन। चुनावै लडेनन। कसैलाई चुनावै लड्न दिइएने, भन्दै गर्लान्,’ उनले भने।

उनले अगाडि भने, ‘मेरो आग्रह छ– एकताबद्ध भएर जाऔं। एकार्कामा टिप्पणी, आलोचना गर्ने, खुइल्याउने, होच्याउने, अपमान गर्ने काम किन गर्ने त्यस्तो, त्यस्तो नगरौं। परस्परमा सम्मानपूर्ण ढंगले चल्ने संस्कृति विकास गरौं। त्यो स्थापना गरौं। अरूलाई नहोच्याऊँ, अस्वस्थ खालको प्रतिस्पर्धा नहोस्। नगरौं। नेकपा एमाले त्यसै गरी अगाडि बढ्छ, प्रतिस्पर्धालाई नराम्रो मान्दैनौं फेरि।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति