सबैभन्दा लामो शान्तिकालको अन्त्य ?

इतिहासकै सबैभन्दा ठूलो उपलब्धि खतरामा छ


विगत आठ दशक रोमन साम्राज्यपछि महाशक्तिहरूबीच युद्ध नभएको सबैभन्दा लामो अवधि हो। दुई विनाशकारी विश्वयुद्धपछि आएको यो असामान्य विस्तारित शान्तिको युग यति विनाशकारी थियो कि इतिहासकारहरूलाई यस्ता युद्धलाई वर्णन गर्न नयाँ श्रेणी “विश्वयुद्ध” सिर्जना गर्नुपर्‍यो। यदि बीसौं शताब्दीको बाँकी भाग अघिल्ला दुई सहस्राब्दीझैं हिंसात्मक भएको भए आज बाँचिरहेका लगभग सबैको जीवन पूरै फरक हुन्थ्यो।

अन्तर्राष्ट्रिय सुरक्षा व्यवस्थाको विशेषता र सफलतालाई तीनवटा अंकले समात्छन्ः ८०, ८० र नौ।


सन् १९४५ पछिको महाशक्तिहरूबीच युद्धको अभाव संयोगले भएको होइन। भाग्य र अनुकम्पको ठूलो हिस्सा यसमा छ, तर विनाशकारी युद्धको अनुभवले युद्धपछिको व्यवस्थाका निर्माताहरूलाई इतिहासको गति मोड्ने प्रयास गर्न बाध्य बनायो। अमेरिकी नेताहरूले युद्ध जितेका व्यक्तिगत अनुभवले उनीहरूलाई अकल्पनीय कुरा सोच्ने र अघिल्ला पुस्ताले असम्भव ठानेका काम गर्ने आत्मविश्वास दियो – शान्ति कायम राख्न सक्ने अन्तर्राष्ट्रिय व्यवस्था निर्माण गर्ने। यो लामो शान्ति कायम राख्न अमेरिकी नेता र नागरिक दुवैले यो कति अद्भुत उपलब्धि हो, यो कति कमजोर छ र अर्को पुस्तासम्म यसलाई कायम राख्न के–के चाहिन्छ भन्ने गम्भीर बहस सुरु गर्नुपर्छ भन्ने बुझ्न जरुरी छ।
चमत्कारिक उपलब्धि
अन्तर्राष्ट्रिय सुरक्षा व्यवस्थाको विशेषता र सफलतालाई तीनवटा अंकले समात्छन्ः ८०, ८० र नौ।
महाशक्तिहरूबीच पछिल्लो ठूलो युद्ध भएको ८० वर्ष भयो। यसले विश्व जनसंख्या तेब्बर, आयु दोब्बर र विश्व जीडीपी १५ गुणा वृद्धि गर्न सम्भव बनायो। यदि दोस्रो विश्वयुद्धपछिका नेताहरूले “इतिहास जस्तो थियो त्यस्तै” स्वीकार गरेका भए तेस्रो विश्वयुद्ध भइसक्थ्यो – र त्यो परमाणु हतियारले लडिने हुन्थ्यो। त्यो साँच्चै “सबै युद्धको अन्त्य गर्ने युद्ध” हुन सक्थ्यो।

द न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार, यदि युक्रेनी काउन्टर–अफेन्सिभले रुसी सेना पछाडि धकेल्दै थियो भने रुसले परमाणु हतियार प्रयोग गर्ने सम्भावना ५०–५० थियो भन्ने सिआइएको अनुमान थियो।


परमाणु हतियार युद्धमा प्रयोग भएको पनि ८० वर्ष भयो। विश्वले धेरैपटक खतरनाक संकट पार गरेको छ – सबैभन्दा खतरनाक सन् १९६२ को क्युबाली मिसाइल संकट, जब अमेरिका र सोभियत संघ क्युबामा राखिएका परमाणु मिसाइलका कारण आमने–सामने भए र राष्ट्रपति जोन एफ केनेडीले परमाणु युद्धको सम्भावना एक तिहाइदेखि आधासम्म भएको अनुमान गर्नुभएको थियो। पछिल्लो समय, सन् २०२२ मा रुसले युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेको पहिलो वर्षमा राष्ट्रपति भ्लादिमिर पुटिनले सामरिक परमाणु आक्रमण गर्ने गम्भीर धम्की दिनुभएको थियो। द न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार, यदि युक्रेनी काउन्टर–अफेन्सिभले रुसी सेना पछाडि धकेल्दै थियो भने रुसले परमाणु हतियार प्रयोग गर्ने सम्भावना ५०–५० थियो भन्ने सिआइएको अनुमान थियो। जवाफमा सिआइए निर्देशक बिल बर्न्स मस्को पठाइयो। सौभाग्यवश अमेरिका र चीनबीचको कल्पनाशील सहकार्यले पुटिनलाई रोकेको थियो, तर यसले परमाणु निषेध (ट्याबु) को कमजोरी फेरि सम्झायो – परमाणु हतियार प्रयोग गर्नुहुँदैन भन्ने अघोषित विश्वव्यापी मान्यता।
सन् १९५०–६० को दशकमा विश्व नेताहरूले जसरी परमाणु प्रविधि प्राप्त गर्छन्, त्यसरी नै देशहरूले परमाणु हतियार बनाउने अपेक्षा गरेका थिए। केनेडीले सन् १९७० सम्ममा २५–३० वटा परमाणु शक्ति सम्पन्न देश हुने अनुमान गर्नुभएको थियो। त्यसैले उनले अमेरिकी विदेश नीतिको सबैभन्दा साहसी कदम मध्ये एक – परमाणु अप्रसार सन्धि – अघि बढाए। आज १८५ देशले परमाणु हतियार नबनाउने सन्धिमा हस्ताक्षर गरेका छन्। आश्चर्यजनक रूपमा केवल नौ देशसँग मात्र परमाणु हतियारको भण्डार छ।


८० वर्षको शान्ति र परमाणु युद्धको अभावजस्तै, अप्रसार व्यवस्था पनि कमजोर उपलब्धि हो। १०० भन्दा बढी देशसँग परमाणु हतियार बनाउने आर्थिक र प्राविधिक क्षमता छ। अरूको सुरक्षा ग्यारेन्टीमा निर्भर रहने उनीहरूको निर्णय भू–रणनीतिक र ऐतिहासिक रूपमा अस्वाभाविक छ। सन् २०२५ को आसान इन्स्टिच्युट सर्वेक्षणले देखाएअनुसार – दक्षिण कोरियालीहरूमध्ये उनीहरुको तीन चौथाइ आफ्नै परमाणु हतियार चाहन्छन्, उत्तर कोरियाको धम्कीबाट जोगिन। यदि पुटिनले युक्रेनमा सामरिक परमाणु हतियार प्रयोग गरेर आफ्नो युद्ध उद्देश्य हासिल गरे भने अन्य देशहरूले पनि आफ्नै परमाणु छाता चाहिन्छ भन्ने निष्कर्ष निकाल्नेछन्।
एउटा युगको अन्त्य
सन् १९८७ मा इतिहासकार जोन लुइस ग्याडिसले “द लङ पिस” शीर्षकको ऐतिहासिक निबन्ध प्रकाशित गरेका थिए। दोस्रो विश्वयुद्ध सकिएको ४२ वर्ष भएको थियो – जुन सन् १८१५ को भियना कांग्रेस र १८७० को फ्रान्को–प्रशियन युद्धबीचको स्थिरतासँग तुलनीय थियो। ग्याडिसले तर्क गरेका छन् – आधुनिक लामो शान्तिको आधार शीतयुद्ध नै थियो। विगतमा तेस्रो विश्वयुद्ध निश्चित हुने संरचनात्मक अवस्थामा अमेरिका र सोभियत संघले एकअर्कालाई परमाणु आक्रमण थेग्न सक्ने र प्रतिकार गर्न सक्ने हतियारले सामना गरे। परमाणु रणनीतिकारहरूले यसलाई “म्युचुअल्ली अस्योर्ड डिस्ट्रक्सन” भन्थे।
संयुक्त राष्ट्रसंघको स्थापना, मानवअधिकारको विश्वव्यापी घोषणा, युरोपेली संघमा विकसित बहुपक्षीय व्यवस्था र अमेरिका–सोभियत वैचारिक प्रतिस्पर्धाका बाबजुद ग्याडिसले शान्तिको मुख्य कारण दुवै पक्षले व्यवस्थागत हितलाई वैचारिक हितभन्दा माथि राख्नु रहेको बताए। सोभियतहरू पूँजीवादलाई घृणा गर्थे, अमेरिकीहरू कम्युनिज्मलाई अस्वीकार गर्थे। तर पारस्परिक विनाश रोक्ने इच्छा ठूलो थियो। उनले लेखेका छन् “वैचारिक संयमलाई पनि परमाणु निरोध र टोहीसँगै युद्धपछिको राजनीतिमा प्रमुख स्व–नियमन संयन्त्र मान्नुपर्छ।”
ग्याडिसले स्वीकार गरेजस्तै विश्व दुई शिविरमा विभाजित भएको थियो। अमेरिकाले मार्शल योजना मार्फत पश्चिम युरोप पुनर्निर्माण गर्‍यो, अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंक स्थापना गर्‍यो, ग्याटमार्फत आर्थिक नियम बनायो। अमेरिकाले जर्ज वाशिङ्टनको समयदेखिको “जटिल गठबन्धनबाट टाढा रहने” नीति त्यागेर नेटो र जापानसँग सन्धि गर्‍यो। सोभियत कम्युनिज्मको धम्की थेग्न हरेक सम्भव विकल्प अपनायो। एउटा लेखक (एलिसन)ले फरेन अफेयर्समा लेखेका थिए, “यदि सोभियत धम्की नभएको भए न मार्शल योजना हुन्थ्यो न नेटो।”

आधुनिक लामो शान्तिको आधार शीतयुद्ध थियो।

सोभियत संघको पतनपछि १९९० को दशकको सुरुमा विजयीहरूले एकध्रुवीय युगको घोषणा गरे – अब केवल अमेरिका महाशक्ति रह्यो। यसले “शान्ति लाभांश” ल्याउने र महाशक्ति युद्धको चिन्ता नगरी देशहरू फुल्नफल्न सक्ने विश्वास गरियो। सोभियत पतनपछि दुई दशकको प्रमुख कथा “इतिहासको अन्त्य” नै बन्यो। फ्रान्सिस फुकुयामाले भने– मानव वैचारिक विकासको अन्तिम बिन्दु र पश्चिमी उदार लोकतन्त्रको विश्वव्यापीकरण। थोमस फ्रिडम्यानको “गोल्डेन आर्चेज थ्योरी” ले आर्थिक विकास र विश्वव्यापीकरणले शान्ति सुनिश्चित गर्ने दाबी गर्‍यो। यिनै विचारले अफगानिस्तान र इराक आक्रमणलाई प्रेरित गर्‍यो, जसले अमेरिकालाई २० वर्षसम्म अनन्त, जितविहीन युद्धमा अल्झायो।
सोभियत संघको विघटन र रुस तथा १४ नयाँ स्वतन्त्र पूर्वी युरोपेली देशहरूको उदयले परमाणु शक्ति सम्पन्न देशहरूको बाढी आउनुपर्ने थियो। सोभियत विघटन हुँदा रुसबाहिर १२ हजार ६०० भन्दा बढी परमाणु हतियार छोडिएका थिए। अमेरिकी सिनेटर साम नन र रिचर्ड लुगरको सहकारी डिन्युक्लियराइजेसन कार्यक्रमको सहयोगमा अमेरिका र बोरिस येल्तसिनको रुसबीचको असाधारण साझेदारीले ती हतियार गलत हातमा पर्नबाट जोगायो। सन् १९९६ सम्ममा पूर्व सोभियत क्षेत्रबाट सबै परमाणु हतियार हटाएर रुस फिर्ता वा नष्ट गरियो।
सोभियत पतनपछिको भू–राजनीतिक परिवर्तनले अमेरिकाको पुराना प्रतिद्वन्द्वी र नयाँ चुनौती दिनेहरूसँग सम्बन्ध रिसेट गर्‍यो। सन् २००९ मा बाराक ओबामा राष्ट्रपति बन्दा रुस र चीन दुवैलाई “रणनीतिक साझेदार” भनिन्थ्यो। तर सन् २०१७ मा डोनाल्ड ट्रम्प राष्ट्रपति बन्दासम्म महत्त्वाकांक्षी, तीव्र गतिमा उदीयमान चीन र रिसाएको, पुनरुत्थानवादी रुसको वास्तविकताले अमेरिका महाशक्ति प्रतिस्पर्धाको नयाँ युगमा प्रवेश गरेको स्पष्ट भयो।
आगामी खतरा
सन् २०२३ मा मृत्यु हुनुअघि हेनरी किसिन्जरले बारम्बार भन्थे – यी आठ दशकको महाशक्ति शान्ति सय वर्ष पुग्ने सम्भावना कम छ। इतिहासले देखाएका प्रमुख भू–राजनीतिक चक्रको हिंसात्मक अन्त्य गर्ने पाँच कारकहरू मध्ये निम्न खतरनाक छन्ः
१. स्मृतिलोप (अम्नेसिया)
अमेरिकी वयस्कहरूको पिंढी–दर–पिंढी (हरेक सेवारत सैनिक अधिकारी समेत) लाई महाशक्ति युद्धको भयानक मूल्यको व्यक्तिगत स्मृति छैन। यो असाधारण शान्ति अघि हरेक–दुई पुस्तामा युद्ध सामान्य थियो भन्ने थाहा कमैलाई छ। धेरैले आज महाशक्ति युद्ध असम्भव ठान्छन् – यो विश्वको सम्भावना होइन, उनीहरूको दिमागले कल्पना गर्न नसकेको सीमा हो भन्ने नबुझिकन।
२. उदीयमान प्रतिस्पर्धीहरू
चीनको चमत्कारिक उदयले अमेरिकी वर्चस्वलाई चुनौती दिइरहेको छ – थुसीडाइड्सले चेतावनी दिएजस्तै स्थापित र उदीयमान शक्तिबीचको भयंकर प्रतिस्पर्धा। २१औं शताब्दीको सुरुमा अमेरिकाले चीनसँग प्रतिस्पर्धा गर्नुपर्छ भन्ने सोचेको पनि थिएन। अहिले चीनले व्यापार, उत्पादन, हरित प्रविधिमा अमेरिकालाई उछिनेको छ र अन्य क्षेत्रमा तीव्र गतिमा अघि बढिरहेको छ। यता कमजोर बन्दै गएको देशको नेतृत्व गरे पनि अमेरिकालाई नष्ट गर्न सक्ने परमाणु भण्डार भएको पुटिनले रुसी महानता पुनर्स्थापना गर्न युद्ध प्रयोग गर्ने इच्छा देखाइसकेका छन्। रुसी धम्की बढ्दै जाँदा र ट्रम्प प्रशासनको नेटोप्रतिको समर्थन घट्दै जाँदा युरोप आगामी दशकहरूको गम्भीर सुरक्षा चुनौतीसँग जुध्न संघर्षरत छ।
३. विश्व आर्थिक समानीकरण
दुई विश्वयुद्धको विनाशबाट अन्य देशहरू उठ्दा अमेरिकी आर्थिक वर्चस्व खिइँदै गएको छ। दोस्रो विश्वयुद्धको अन्त्यमा अमेरिकासँग विश्व जीडीपीको आधा थियोः शीतयुद्धको अन्त्यमा एक चौथाइः आज केवल सातौँ हिस्सा। राष्ट्रिय आर्थिक शक्तिको सन्तुलन बदलिँदा बहुध्रुवीय विश्व उदाउँदैछ जहाँ धेरै स्वतन्त्र देशहरूले अनुमति नमागी वा सजायको डर नलिई आफ्नो प्रभाव क्षेत्रमा काम गर्न सक्छन्। प्रसिद्ध हेज फन्ड म्यानेजर रे डालियोले भनेका छन् – जब वर्चस्वशाली शक्ति आर्थिक रूपमा आफूलाई अति विस्तार गर्छ तब यो क्षय तीव्र हुन्छ, जुन अमेरिकाले अहिले गरिरहेको छ।
४. सैनिक अति–विस्तार
स्थापित शक्तिले आफ्ना महत्वपूर्ण हितभन्दा तल्लो स्तरका द्वन्द्वमा सैनिक अति–विस्तार गरेमा नयाँ शक्तिहरूलाई निरोध वा प्रतिरक्षा गर्ने क्षमता कमजोर हुन्छ। चिनियाँ दार्शनिक सुन–त्जुले भनेका थिए, “जब सेना लामो समय द्वन्द्वमा अल्झिन्छ तब राज्यको स्रोत सकिन्छ।” यो इराक र अफगानिस्तानमा अमेरिकी मिसन क्रिपको महँगो मूल्य र बढ्दो परिष्कृत एवं खतरनाक प्रतिद्वन्द्वीविरुद्ध रक्षा क्षमता सुधारमा ध्यान नदिएको अवस्थासँग मिल्छ। अझ चिन्ताजनक कुरा त अमेरिकी राष्ट्रिय सुरक्षा संयन्त्र कांग्रेस र रक्षा उद्योगको समर्थनमा बढी बजेट माग्ने तर गम्भीर खतरासँग रणनीतिक रूपमा जुध्ने बाटो नखोज्ने दुष्चक्रमा फसेको छ।
५. घरेलु कटु राजनीतिक विभाजन
स्थापित शक्तिको घरेलु कटु राजनीतिक विभाजनले विश्व मञ्चमा एकीकृत रूपमा काम गर्ने क्षमता पक्षाघात हुन्छ। विशेषगरी नेताहरूले विश्वव्यापी व्यवस्था कायम राख्ने वा नराख्ने, कसरी राख्ने भन्ने विरोधी धारमा डगमगाउँदा। यो अहिले भइरहेको छः वाशिङ्टनको एक सत्तारुढ प्रशासनले अन्तर्राष्ट्रिय सम्बन्ध, संस्था र प्रक्रियालाई उल्टाइ–पल्टाइ आफ्नो दृष्टिकोण थोपर्दैछ।
लामो भू–राजनीतिक चक्रहरू सधैंभरि रहँदैनन्। अमेरिकी र विभाजित अमेरिकी राजनीतिसामु सबैभन्दा महत्वपूर्ण प्रश्न छ – के देशले वर्तमान खतरालाई चिन्न, त्यसलाई पार गर्न आवश्यक बुद्धि जुटाउन र अर्को विश्वव्यापी संकट रोक्न वा कम्तीमा पछाडि धकेल्न सामूहिक कदम चाल्न सक्छ ? दुर्भाग्यवश हेगेलले भनेका थिए, “हामी इतिहासबाट सिक्छौं कि हामी इतिहासबाट सिक्दैनौं।” जब अमेरिकी रणनीतिकारहरूले लामो शान्तिको आधार बनेको शीतयुद्ध नीति बनाए, त्यो अघिल्लो युगको परम्परागत बुद्धिभन्दा धेरै परको दृष्टि थियो। आज विश्वले महाशक्ति युद्धबिना अभूतपूर्व अवधि बिताउन पाएको यो अपवादलाई कायम राख्न त्यस्तै रणनीतिक कल्पनाशीलता र राष्ट्रिय संकल्पको नयाँ लहर आवश्यक पर्दछ ।

नोभेम्बर २४, २०२५, (ग्राहम एलिसन हार्वर्ड विश्वविद्यालयमा सरकार विषयका डग्लस डिलन प्राध्यापक र “डेस्टिन्ड फर वारः क्यान अमेरिका एन्ड चाइना इस्केप थुसीडाइड्स ट्रयाप ?” पुस्तकका लेखक हुन्, जेम्स ए. विनफेल्ड, जुनियर संयुक्त चिफ्स अफ स्टाफका पूर्व उपाध्यक्ष र सन् २०२२ देखि २०२५ सम्म राष्ट्रपतिको इन्टेलिजेन्स सल्लाहकार बोर्डका अध्यक्ष का रुपमा कम गरेका थिए । ))

फरेन अफेयर्सबाट

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति