मान्छे जन्मेपछि जब आँखा खोल्छ र संसारलाई बुझ्छ, जगत के हो, दुनियाँ के हो, म किन जन्मँ, मैले के गर्नुपर्ने हो भन्ने प्रश्न गर्न थाल्छ, त्यसपछि नै उसले समाजलाई बदल्ने, रुपान्तरण गर्ने, अझ उन्नत बनाएर जाने, आफू मर्ने बेलासम्म यो समाज, मानवजाति, प्राणी जगत उन्नत होस् भन्ने आकाङ्क्षा राख्दछ ।
म पनि त्यहीमध्ये एउटा प्राणी हुँ । त्यसैको निम्ति सात दशक उमेर पार गर्दा पाँच दशकको सक्रिय राजनीतिमा थुप्रै उकाली–ओराली चढ्दै यहाँसम्म म आइपुगेको छु । र, अहिले खासगरी जेनजीका युवा साथीहरूको जुन मैले कुराहरू सुन्ने अवसर प्राप्त गरेँ, त्यसले मेरो हौसलालाई अझै बढाएको छ ।
उमेरले बुढो भए पनि विचार, जोस, जाँगरले आफैँ युवा भएको मैले अनुभूत गरेको छु । त्यस अर्थमा, विशेषतः युवा, जेनजी साथीहरूलाई म हार्दिक धन्यवाद भन्न चाहन्छु, शुभकामना दिन चाहन्छु र आज हामीले स्थापना गरेको यो प्रगतिशील लोकतान्त्रिक पार्टीको म पूर्ण सफलता, उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
तपाईंहरूले मलाई एउटा अभिभावकको रूपमा यहाँ प्रस्तुत गर्नुभएको छ । अभिभावकले के गर्नुपर्छ तपाईंलाई थाहै नै छ । अभिभावकले आफैँ सक्रिय कार्यकारी भूमिका निर्वाह गर्दैन । जसले काम गर्नुपर्ने हो, तिनीहरूलाई काम गर्न दिन्छ, दिनुपर्छ, आफ्नो कुरा राख्नुपर्छ । लागु भएन भने पनि उनीहरूले जे गर्छन्, उनीहरूको अधिकार हो भनेर सहेर बस्नुपर्छ, तर आफ्नो कुरा चाहिँ फेरि भनिराख्नुपर्छ । म त्यही प्रतिबद्धता तपाईंहरूसँग व्यक्त गर्न चाहन्छु ।
गत भदौ २३ र २४ गते सायद ममात्रै एउटा पूर्वप्रधानमन्त्री थिएँ जो आफ्नै गाउँमा बसेको थिएँ, जसको हातमा मोबाइल थियो, अरुको हातमा के थियो– उहाँहरूले आफैँ भनिसक्नुभएको छ ।
र, त्यतिबेला पनि मैले आफूलाई लागेका कुरा तपाईंहरूलाई सम्प्रेषण गरिरहेको थिएँ । त्यो कुरा म दोहोर्याउन चाहन्नँ । म खाली स्मरणमात्र के गराउन चाहन्छु भने इतिहास भनेको चरणबद्ध ढंगले अगाडि बढ्छ । जसरी हामी मान्छेको उमेरको पुस्ता हुन्छ, त्यस्तै इतिहासको, समाजको पनि पुस्ता हुन्छ । त्यो चरण हुँदै त्यो अगाडि बढ्छ ।
त्यसैलाई अहिलेको ‘युरोपियन इलाइटेनमेन्ट’ भनिन्छ, प्रबोधन युग । त्यतिबेलाका दार्शनिकहरूले परिभाषित गरेका थिए । त्यसैले समाज निरन्तर गतिशील छ, परिवर्तनशील छ । उन्नत चेतना भएको मान्छेले त्यो परिवर्तनको प्रवाहलाई अझ तीव्र पार्ने भूमिका निर्वाह गर्नुपर्छ भन्ने विभिन्न विचार संश्लेषण हुँदै आए । त्यसैलाई हामीले दर्शन विचार भन्ने गर्छौं । अघि मित्र राम कार्कीजीले पनि भन्नुभयो, विचारविहीनता भन्ने नै हुँदैन । त्यसले यो समाजका विकासका, परिवर्तनका गतिलाई परिभाषित गरिराख्छ, नयाँ–नयाँ आविष्कार गरिराख्छ । ती प्रत्येक नयाँ आविष्कारको प्रक्षेपण गर्छ र आगामी संसारको दिशा के हुन्छ भनेर त्यो निर्माणमा ऊ उद्यत हुन्छ । त्यसैलाई हामीले विचार दर्शन भन्छौँ ।
नेपालको जुन लोकतान्त्रीकरण प्रक्रिया थियो, २००७ साल आसपासबाट सुरु भएर बीपी र पुष्पलालहरूको पुस्ता हुँदै हाम्रो पुस्तासम्मले २०७२ साल असोज ३ गते संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गर्ने बेलासम्म इतिहासको एउटा अध्याय, जनताले आफ्ना चुनिएका प्रतिनिधि मार्फत आफ्नो संविधान लेखेर जारी गर्ने काम पूरा भएकै हो ।
तर त्यसमा केही अपूर्णता थिए । त्यसैले मैले त्यतिबेलैदेखि यो संविधान आधा गिलास भरी छ, आधा खाली छ, त्यसका केही अपूर्णता भन्दै आएको थिएँ । त्यो आधा गिलासलाई जोगाउँदै आधा गिलास भर्नेतिर जानुपर्छ । त्यसो गर्नको निम्ति पुरानो प्रकारको राजनीति, पुरानो प्रकारको पार्टी र नेतृत्वले हुँदैन । नयाँ चाहिन्छ भनेर २०७२ साल असोज ९ गते मैले आफैँले निर्माण गरेको, यी साथीहरूसँग काम गरेर हामीले त्यहाँसम्म पुर्याएको पार्टीको इतिहास पूरा भयो । त्यसलाई मैले कहिल्यै खराब भनेको छैन । धेरै माओवादी पृष्ठभूमिका साथीहरू ‘दाइले छोडेर जानुभयो’ भन्नुहुन्छ । छोडेर गएको होइन । माओवादी आन्दोलनले आफ्नो कार्यभार पूरा गर्यो ।
२००७ सालमा सुरु भएको क्रान्ति र परिवर्तनको कुरात्यसलाई २०४६ सालमा अलिकति अगाडि बढाइयो, त्यो अपूर्ण थियो । त्यसलाई अझ पूर्णता दिनुपर्छ भनेर धक्कामूलक ढंगले माओवादी जनयुद्ध र २०६२÷६३ को आन्दोलनले एउटा उचाइमा पुर्याएर हामीले २०७२ सालमा त्यसलाई पूरा गरेको हो । सापेक्ष ढंगले पूरा गरेको हो । र, माओवादी आन्दोलन त्यो पूरा गर्ने एउटा अन्तिम कडी थियो । हो, त्यो सँगसँगै नेपालमा पनि परिवर्तन आयो, विश्वमा पनि त परिवर्तन आयो ।
अहिले जुन जेनजी तपाईंहरूलाई भन्ने गरिन्छ, त्यो जेनजी भनेको १९९७ देखि २०१२ सम्म जन्मेको पुस्तालाई भनेको हो । क्यालेन्डर हिसाब गर्नुस् । त्यो बेला के परिवर्तन आयो ? अहिले जे दिनचर्या तपाईंको बनेको छ, इन्टरनेट प्रविधिदेखि लिएर यो सोसल मिडिया हुँदै एआईसम्म । मैले बुझेसम्मको एआईको ब्रेकथ्रु भएको २०१२ मा हो । पहिलेदेखि नै थियो कुरा चलेको, तर सबभन्दा ठुलो क्रान्ति, मानव इतिहासकै सबभन्दा ठुलो प्राविधिक क्षेत्रको क्रान्ति, मान्छेको चेतना, सूचना सञ्चारको क्रान्ति भएको यही कालखण्डमा हो ।
त्यसो भएको हुनाले अनि अब हामीले हिजोकै त्यही विचार, हिजोकै कांग्रेसले बोकेको एउटा उदारवादी पुँजीवादी विचार अथवा कम्युनिस्टहरूले जे बोकेको सबै राज्यले नियन्त्रण गर्नुपर्छ भन्ने नियन्त्रणवादी, एकाधिकारवादी विचार बोकेर अहिलेको युगको काम पूरा हुन सक्थ्यो ? सक्दैनथ्यो । त्यसैले नयाँ विचार सहितको नयाँ विकल्प चाहिन्छ भनेर नै हामीले विभिन्न अभियान सुरु गर्यौं, तर बुझ्न समय लिन्छ त्यसले, त्यसले ढिलो भइराखेको थियो ।
अहिले पनि विश्वको आर्थिक स्तरमा हेर्यौं भने औसतभन्दा दस गुणा हामी तल छौँ । किनभने मान्छेको आर्थिक स्तरले नै मान्छेको सामाजिक स्तर निर्धारण गर्छ र त्यसले सांस्कृतिक स्तर निर्धारण गर्छ । त्यसैले उसको चेतनाको स्तर निर्धारण गर्ने हो । त्यसैले जब विश्वको औसतभन्दा दस गुणा तल भएको समाज छ भने त्यसले अहिलेको जेनजी पुस्ताले भनेको, सोचेको विचार ती पुराना दलबाट पूरा हुन सक्थ्यो ? तिनै नेताबाट हुन सक्थ्यो ? सक्दैनथ्यो ।
त्यसैले गुम्सिएर बसेको अन्तरविरोध भदौ २३ र २४ गते विस्फोट भएको हो । त्यो विस्फोटपछि म किन खुसी छु भने अब बल्ल दुनियाँले बुझ्ने गरी पुरानो ढंगले चल्दैन भन्ने कुरा नेपालमा स्थापित भयो ।
त्यसैले अब पार्टी र दलमात्रै म भन्दिनँ, अब राजनीतिको पुनर्संरचना खोजिएको हो । यहाँ साथीहरूले जुन कुरा राख्नुभएको छ, राजनीतिको पुनर्संरचना खोजी यहाँ भइरहेको छ । त्यसो नगरेसम्म विश्वसँग जोडिएर जान र जेनजी पुस्ताले गरेको अपेक्षा पूरा गर्न सकिँदैन ।
त्यसैले अहिले यो जुन प्रगतिशील लोकतान्त्रिक पार्टी बनेको छ, यो पार्टी भनेको जेनजी आन्दोलनको उपज हो र जेनजी पुस्ताको पार्टी हो भनेर बुझ्न जरुरी छ । यदि यो कुरा बुझिएन र मैले आफ्नो बखान गर्न थालेँ, अर्कोले अर्को बखान गर्न थाल्यो भने हुँदैन । यो हाम्रो एजेण्डा, अबको यो पार्टीको एजेण्डा भनेको जेनजी पुस्ताको चेतनासँग, त्यसको आवश्यकतासँग, यो युगसँग जोडिएका कुराको मागहरू पूर्ति गर्न यसले सक्छ कि सक्दैन ? त्यो हिजोका कांग्रेस–कम्युनिस्ट छोड्नुस् । यहाँ एउटा साथीले लालसलाम भन्नुभयो, अर्कोले अर्कै के भन्नुभयो । त्यसले केही समयसम्म लालसलाम, जय नेपाल, यो सबै भन्दै गरौँला । सुरुमा गंगा–जमुना–सरस्वती अलग अलग धार र रङ लिएर आउँछन् । एउटा बिन्दुमा मिसिएपछि गंगा एउटै बन्छ, गंगाको रङ अर्कै हुन्छ । त्यसले अहिले केही दिनसम्म गंगा–जमुनाका हाम्रा अलग–अलग धार रहन्छन् । अलि पर पुगेपछि गंगा बन्छ । त्यो गंगा पनि गएर समुन्द्रमा मिसिएपछि हाम्रो रुप–रङ अर्कै हुन्छ । त्यसैले चिन्ता नगरौँ ।
केही समयचाहिँ हाम्रो यस्ता अलग–अलग रङ, ढङ्ग, अलग–अलग भाषा, बोली, अलिकति जोडतोड रहन्छ । त्यसलाई अन्यथा मान्न हुँदैन । मेरो विशेष संकेतचाहिँ यो जेनजी पुस्ताका साथीहरूसँग हो । उहाँहरूसँग धेरै अन्तरक्रिया गर्ने मैले अवसर पाएको छु । थुप्रै साथीहरूसँग भेटघाट मैले गरेको छु । त्यसैले उहाँहरू सशंकित हुनुहुन्छ । धन्य हाम्रो केही साथीहरू जोडिनुभएको छ । म उहाँलाई धन्यवाद दिन चाहन्छु, आँट गर्नुभएको छ । तर उहाँहरूको मनमा संशय छ । ठुलो संशय छ ।
हामी यत्रो आँट गरेर आयौँ तर यी पुराना स्कुलिङमा हुर्किएका मान्छेहरू, पुराना पार्टी, सोच र प्रवृत्तिसँग आएका मानिसहरू, यी बदलिने हुन् कि होइनन् ? यिनीहरूसँग काम गर्न सकिन्छ कि सकिँदैन ? हामीले भनेजस्तो पार्टी बन्छ कि बन्दैन ? भन्ने उहाँहरूको ठुलो प्रश्न छ । मैले उहाँहरूलाई वचन दिएको छु, तपाईंहरू आउनुस् । लड्ने हो त्यसको निम्ति ।
०३७ सालमा मैले कम्युनिस्ट पार्टी प्रवेश गर्दा स्टालिनको प्रवृत्तिको जगजगी थियो । स्टालिनको तरिकाले अब विश्वमा कम्युनिस्ट पार्टी रहँदैनन् । विश्वमा कम्युनिस्ट पार्टीको भविष्य रहँदैन । यति केन्द्रित, यति एकमनवादी, यति जड छ, त्यसले न कार्यकर्तालाई चेतनशील बन्न दिन्छ, जहाँ कुर्सी त्यहाँ ज्यान, त्यो कसैले छोड्दैन भन्ने प्रश्न मैले त्यतिबेलै राखेको थिएँ । र यो ट्रस्किवादी, मालेवादी भनेर म भर्खर बाइस–तेइस वर्षको फुच्चेलाई ठुला–ठुला नेताहरूले लेख्नुभएको छ ।
त्यसैले मैले तपाईंहरूलाई के भन्न खोजेको हो भने तपाईंहरू यहीँ आएर संगठित भएरै लड्ने हो । त्यो तपाईंहरूको अधिकार हो, तपाईंहरूले पाउनुहुन्छ । त्यसरी मात्रै बदलिन्छ । दर्शनको, भौतिक जगत, सामाजिक जगतको पनि नियम के हो भने कुनै पनि तत्व विपरीत तत्वले नै वस्तु बन्या हुन्छ । भौतिक जगतमा पनि त्यही हो, सामाजिकमा पनि विविध प्रवृत्ति भनेर त्यो बन्या हुन्छ । तिनीहरूको बिचमा टक्कर चल्छ, त्यो टक्करले फेरि नयाँ चिज जन्म दिन्छ भन्ने हो ।
युनिटी, स्ट्रगल, ट्रान्सफर्मेसन अर्थात् एकता, संघर्ष र रुपान्तरण । यही नै नियम हो । चाहे त्यसलाई मार्क्सको रूपमा जोड्नुस्, चाहे त्योभन्दा अझ अघि नै यो सिद्धान्त पत्ता लगाएका इमानुएल कान्टहरूले यो प्रगतिवाद भन्ने शब्द सबभन्दा पहिले प्रयोग गरेका हुन् । ऊ अलि अजेयवादी खालका दार्शनिक थिए । त्यसैले हामीले यो प्रगतिशील लोकतन्त्र किन राखेको हो भने कुनै पनि चिज स्थिर छैन, त्यो निरन्तर गतिमा हुन्छ ।
प्रगतिशील शब्दले चाहिँ आजभन्दा भोलि राम्रो, उन्नत, भोलिभन्दा पर्सि, पर्सिभन्दा निकोपर्सि हुन्छ । समाज, जगत, हामी पनि हुनुपर्छ र हाम्रो विचार, हाम्रो सोच, शैली, आचरण, यो पार्टी पनि प्रत्येक दिन नवीकरण हुँदै जानुपर्छ भन्ने अर्थमा यो प्रगतिशील प्रयोग भएको हो । प्रोग्रेसिभिज्म भन्ने दार्शनिक हेर्नुहोला, इन्टरनेटमा पनि पाइन्छ । त्यसको परिभाषा इलाइटेनमेन्टदेखि जोडिएको छ, त्यतिबेलादेखि प्रयोग भएको यो शब्द हो । डेमोक्रेसी त जनताको किनभने त्यसबेला अटोक्य्रासी, मोनार्कीहरूको अन्त्य भयो र आधुनिक औद्योगिक युग सँगसँगै आधुनिक लोकतन्त्रको अवधारणा आयो, डेमोक्रेसीको अवधारणा आयो । त्यसपछि नै त्यो लोकतन्त्र त विकसित हुँदै आएको छ । पहिले ठुलाबडा र धनीले मात्रै भोट हाल्ने भन्ने थियो, पुरुषले मात्रै भोट हाल्ने भन्ने थियो । यस्तो पनि लोकतन्त्र नै थियो । पछि हुँदैहुँदै अहिले आएर हामी कहाँ पुगेका छौँ ? यो इन्क्लुसिभ र पार्टिसिपेटरी डेमोक्रेसी हुनुपर्छ भन्ने ठाउँमा पुगेका छौँ ।
सबै वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदाय सबैको सहभागिता हुनुपर्छ, सबैको बराबर स्थान हुनुपर्छ भन्ने कुरा । अब रेप्रिजेन्टेटिभ डेमोक्रेसी, प्रतिनिधिले प्रतिनिधि चुन्ने र नेता छान्ने होइन, डाइरेक्ट सर्वसाधारण जनताले आफ्नो नेता छान्छ र पार्टीभित्र पनि सदस्यले आफ्नो नेताचाहिँ साधारण सदस्यले छान्छ भन्ने अहिलेको पछिल्लो विकास भनेको त्यो हो । र, आगामी दिनमा यो उसको प्रगतिशीलका एजेन्डाहरू पनि र डेमोक्रेसीको एजेन्डा पनि अगाडि बढेर जान्छ । त्यसैले यो प्रगतिशील लोकतान्त्रिक पार्टी भनेको यो नयाँ जेनजी पुस्तासँग जोडिएको पार्टी हो । यसको इच्छा, आकांक्षा, सोचसँग जोडिएको पार्टी हो ।
त्यसैले युवा जेनजी साथीहरू निर्धक्क भएर आउनुपर्छ र तपाईंहरूले यो पार्टी हाँक्नुभएन, चलाउनुभएन भने अन्यथा नमान्नुस् साथीहरूले, पार्टी बन्न गाह्रो छ । फेरि यो पनि बिस्तारै पुरानै पार्टीभित्र परिणत हुने, चुनाव आउँछ अनि त्यतिबेला फेरि भागबन्डा कहाँबाट सिट पाइन्छ, कोसँग मिल्दा खेरिचाहिँ कसको ढोका चाहर्दा खेरि टिकट पाउँछु भन्ने प्रवृत्ति त्यहाँ हुन्छ । अनि पाँच सिट, दस सिट, बिस सिट जित्यो, अनि त्यसपछि फेरि मन्त्री को हुने भन्ने साना–साना पार्टीतिर जान्छ । त्यसको केही अर्थ छैन ।
त्यसो हो भने त करिब १५० पार्टी दर्ता भएका छन् । पचासभन्दा बढी चुनावका लागि दर्ता भएको छ भन्ने सुन्छु । फेरि अर्को एउटा दोकान थाप्ने जरुरत छैन । तर मेरो विश्वास र आग्रह के हो भने, यो १५० मध्ये एउटा पार्टी होइन । हिजोको एउटा उदारवादी लोकतन्त्रमा आधारित पुँजीवादी धार पक्रने कांग्रेसको धार र त्यसैका वरिपरिका अन्य धार, जसलाई अहिलेको राइटिस्ट सेन्टर भनिन्छ, मध्य–दक्षिण शक्तिहरू जुन भनिन्छ, अहिले नयाँ उदय भएका कारणले आफूलाई मध्य–दक्षिण भन्नुहुन्छ, त्यो एउटा धार । अर्को, अहिले समाजवाद ल्याउनुपर्छ, अहिले सबैलाई बाँड्नुपर्छ, अहिले सबैले स्वर्ग बनाइदिनुपर्छ भन्ने तर व्यवहारमा छैन । तपाईंले भाँडोमा प्रशस्त मात्रामा पकाउनुभएकै छैन, अनि सबैलाई बराबर बाँड्छु भन्नु सबै भोकै बस्नुपर्ने कुरा न हुन्छ ! पहिले प्रशस्त मात्रामा पकाउनुपर्यो तपाईंले । त्यो क्षमता हुनुपर्यो नि तपाईंको । अनि बाँड्ने हो । अर्कोतिर आफूलाई कम्युनिस्ट, साम्यवादको नाउँमा सबैलाई तुरुन्तै बराबर गर्दिन्छु भन्ने अनि सम्भव हुँदैन, आफूचाहिँ चोरी–चोरी ठुलो भाँडोमा खाने, अनि अरुलाई पुगेन भनेर भन्ने जुन एउटा प्रवृत्ति छ, ठग प्रवृत्ति, त्यो कम्युनिस्ट प्रवृत्ति पनि टिक्दैन ।
हो त्यसको विकल्पमा यो धार हो । यो अबको विकसित धार । त्यो ठिक र बेठिक दुई धार हुन्छ । ठिक र बेठिक मिसिएको मध्यममार्गी भनेको एउटा अवसरवादी सारसंग्रहवादी धार हुन्छ । र मैले भन्न खोजेको त्यो भन्दा अगाडि बढेको ।
एउटा व्यक्तिको निजी स्वतन्त्रतालाई प्रधानता दिने । समाजको चालक शक्ति के हो भन्नेचाहिँ व्यक्तिको निजी इच्छा–आकांक्षा, स्वार्थ नै मुख्य हो । त्यसलाई छोडिदिएपछि त्यसैले विकास ल्याउँछ, सामाजिक–आर्थिक, सामाजिक सबै भन्ने एउटा उदारवादी दार्शनिक धार हो । एउटा, राजनीतिक धार हो, जसलाई कांग्रेस र अहिले आफूलाई मध्य–दक्षिण भन्ने त्यो नयाँ बनेर आएका शक्तिहरू छन्, तिनको धार त्यो हो । अर्को भनेको मान्छे त्यतिमात्रै होइन, मान्छेमा निजी स्वतन्त्रता, निजत्व भन्ने पनि हुन्छ, तर सँगसँगै मान्छे जन्मदेखि सामाजिक प्राणी हो । बाबु र आमा भएर नै सन्तान जन्मिन्छ । अनि त्यसपछि त्यो सातमा, आठ महिना, नौ महिना जन्मेको बच्चालाई आमाले दुध नखुवाउने हो भने र बाबुले साथ नदिने हो भने, त्यो बच्चा त हुर्किंदै हुर्किंदैन ।
त्यसैले हामी परिवार, समाज, राज्य आदि गरेर हामी सामाजिक हौँ । प्रत्येक मान्छे समाजमा मात्रै बाँच्छ । यस अर्थमा मान्छेको निजत्व पनि हुन्छ, सामाजिकता पनि हुन्छ । त्यसैले कम्युनिस्टहरूले वर्गको नाउँमा निजत्वलाई छोडिदिने, अरु पहिचान छोडिदिने गरे र त्यो दुर्घटनामा पुगे । कांग्रेस र दक्षिणपन्थी भन्ने शक्तिहरूले चाहिँ व्यक्तिको निजी स्वतन्त्रता र उसको निजी स्वार्थ हो, त्यही प्रधान हो भन्दाभन्दै त उनीहरूले बहुसंख्यक जनतालाई गरिब बनाउने, असमान बनाउने, विभेद गर्ने गरेर जुन संकटमा परे, त्यो पनि दिगो छैन ।
हामीले अगाडि सार्न खोजेको विचार भनेको व्यक्तिको निजत्व र उसको सामाजिकता, सामूहिकता, यी दुवैको ठिक सन्तुलन मिलाएर अगाडि बढ्ने विचार–दर्शन, यो विचार–दर्शनको हकमा त्यो र त्यही अनुसारको हाम्रो अर्थनीति, निजी क्षेत्रलाई पनि र राज्य क्षेत्रको पनि, समुदायको क्षेत्रको पनि भूमिका हुने कुरा र सामाजिक हिसाबले पनि हामीले वर्ग, व्यक्तिमात्रै होइन, जाति, क्षेत्र, लिङ्ग, समुदाय, यिनीहरूको पनि अधिकारको कुरा गर्ने भनेर यस अर्थमा हामीले त्यो विकसित विचार निर्माण गर्न खोजेको हो ।
अब पुँजीवाद पछि समाजवाद भन्ने नै हो । तर हाम्रा कम्युनिस्ट भन्ने साथीहरू जो कमाउनिस्ट हुनुभएको छ, भन्नचाहिँ कम्युनिस्ट भन्नुहुन्छ, उहाँहरूले फेरि समाजवाद भन्नुहुन्छ । त्यो नेकपाको समाजवाद भित्र त राखेको, फेरि समाजवादी भन्न थाल्नुभयो । अनि मान्छेले त्यो कम्युनिस्ट र समाजवाद भनेको फरक भन्ने नि जनतालाई बुझ्न गाह्रो भो । त्यसो भएर अहिले हामीले पार्टीको नाममा समाजवाद भन्नुभन्दा पनि गुदी तत्त्व भनेको चाहिँ प्रगतिशीलता हो, निरन्तर गति र परिवर्तनमा हो र लोकतन्त्र हो । लोकतन्त्र भनेको निरन्तर विकसित हुँदै जाने चीज हो । उन्नत ढंगले हुँदै जाने कुरा हो ।
त्यसैले प्रगतिशीलता कन्टेन्टमा, गुदीमा, एजेन्डामा, राजनीतिमा, अर्थनीतिमा, विचारमा, संस्कृतिमा, संस्कारमा, शैलीमा त्यो प्रगतिशील हुनुपर्यो । र, त्यसको रूप पक्ष, सार पक्ष त्यो हुनुपर्यो, रूप पक्ष डेमोक्रेटिक हुनुपर्यो । प्रत्यक्ष जनताबाट निर्वाचित हुने, खुलापन हुने लगायतका जुन आधुनिक लोकतन्त्रका मान्यता छन्, त्यसलाई विकसित गर्दै जाने हुनुपर्यो भन्ने अर्थमा हामीले प्रगतिशील लोकतन्त्र भनिएको हो ।
यो सजिलो शब्द छ, तर यसको गहिराइ धेरै छ । यसलाई नै बुझेर हामीले त्यो नयाँ धार हामीले विकास गर्नुपर्छ । र विश्वमा नि यो विषयको बहस छ । त्यसैले हामीले अर्को एकथान पार्टीमात्र बनाएको होइन, कांग्रेसबाट रुष्ट भएका मान्छे यता आउने, कम्युनिस्टबाट रुष्ट भएका आउने ठाउँमात्र पनि होइन । त्योभन्दा विकसित, तिनीहरूबाट भन्दा अगाडि बढेको चेतना भएका मान्छे यहाँ आउने हो । त्यो मुख्य रूपमा जेनजीका साथीहरू धेरैभन्दा धेरै सहभागी बन्नुहोस् । तपाईंहरूको जुन क्लिन प्लेट छ, स्लेट छ, त्यहाँ लेख्न सजिलो हुन्छ नि । क्लिन स्लेटमा लेख्न सजिलो हुन्छ, तर अरुले लेखेको स्लेटमा फेरि मेटाएर लेख्दा खेरि त्यो खजमजिन्छ, अस्पष्ट हुन्छ, झन् ढिलो हुन्छ । त्यसैले अब खराब कुरा होइन, राम्रा कुरा सिक्ने, सिकाउने र यो संगठन हाँक्ने ढंगले तपाईंहरू आउनुहोस् । पुराना साथीहरूको अनुभव पनि चाहिन्छ । फेरि राजनीति भनेको व्यवहार गरेर पनि सिक्ने हो ।
मार्क्सको एउटा प्रसिद्ध भनाइ छ, संसारको व्याख्या गर्नेमात्र होइन, मुख्य कुरा बदल्ने हो भन्छन् उनीहरूले । त्यसैले व्याख्या अनेक ढंगले गर्न सकिन्छ तर त्यो ठिक कि बेठिक भन्ने छुट्ट्याउने दुनियाँ बदल्न सकियो कि सकिएन भन्ने आधारले नै हो । त्यो विचार ठिक हो कि होइन, नीति ठिक हो कि होइन भन्ने टुंगो हुन्छ । त्यसैले त्यो कुरा प्रयोग गर्ने भनेको फेरि पार्टीमार्फत नै हो ।
त्यो भनेको जनताको बिचमा गएर नै हो, संघर्ष गरेर नै हो । त्यसै भएको हुनाले तपाईंहरू निर्धक्कका साथ आउनुहोस् भन्ने मेरो आग्रह छ । र मैले यो वचन दिएको छु, खासगरी पुराना साथीहरूले ख्याल गर्नुहोला, उहाँहरू त्यो रिजर्भेसनसहित जो आउँदै हुनुहुन्छ । तपाईंहरूले यहीँ आएर बढी भूमिका खेल्न सक्नुहुन्छ, यो पार्टीलाई बदल्न सक्नुहुन्छ । बदलिएन भने त बदल्ने हो नि त । संघर्ष गर्ने, विद्रोह गर्ने हो । मैले पहिले विद्रोह गरेँ, अहिले जनार्दनजीहरूले, कार्कीजीहरूले गर्नुभयो, सन्तोषजीहरूले, हाम्रो सुदनजीहरूले गरिराख्नुभएको छ । त्यो त विद्रोह हो नि । त्यो विद्रोह गर्ने अधिकार त तपाईंलाई सधैँ हुन्छ ।
त्यसैले यसलाई रुपान्तरण बनाउने, रुपान्तरण गर्ने, कथंकदाचित भयो भने विद्रोह गर्ने, त्योभन्दा अगाडि राम्रो बनाउने । त्यस अर्थमा आउनुहोस् भन्ने मेरो आग्रह छ । अन्त्यमा तपाईंहरूलाई आग्रह के छ भने, यो पार्टी हामीले बनाउनुपर्छ, नत्र देश सहज अवस्थामा छैन । म तपाईंहरूको सद्भावले प्रधानमन्त्री बनिसकेको मान्छे, मैले जे जति सूचना प्राप्त गरिरहेको छु, अहिलेसम्म भदौ २४ को यता हेर्नुभयो भने दुई, अढाई महिना हुन थालिसक्यो, यो न अघि न पछि, यो भिरको चिचिण्डोजस्तो न तलबाट टिप्न सकिन्छ, न माथिबाट टिप्न सकिन्छ । त्यस्तो अवस्थामा देश छ । त्यसैले एक त लोकतन्त्र धरापमा छ । त्योमात्रै होइन, जुन जटिल भूराजनीति छ, त्रिपक्षीय साँढेहरूको तानातान यहाँनेर छ । त्यसलाई ठिक ढंगले सन्तुलित मिलाउन सकिएन, जानिएन, हाम्रो ढंग पुगेन, बुझिएन भने तिनले पनि खेलिदिने गर्छन् । अनि देशभित्र अहिले अत्यन्तै संवेदनशील अवस्था छ, यी दुई वटाको एकफल स्वरुप देश गम्भीर दुर्घटनामा जाने खतरा अहिले पनि छ ।
मैले तपाईंहरूलाई बढाईचढाई भनेको होइन, यो सत्य कुरा मैले भनिरहेको छु । त्यसै भएर यसलाई मध्यनजर गर्दै हामीले सतर्कतापूर्वक अगाडि बढ्नुपर्छ । हाम्रो बाआमाहरूले खुरुक्क काम गर्नुहुन्छ, मेहनत गर्नुहुन्छ, एउटा उमेर पार गरेपछि सक्नुहुन्न, बिरामी हुनुहुन्छ, रोग लाग्छ र उहाँको पनि अन्त्य हुन्छ भनेर त हामीले बुझेकै छौं नि । त्यसैले नेताहरूलाई पनि, पार्टीहरूलाई पनि स्वतः रोग लाग्छ । पुराना साथीहरूले कोसिस गर्नुभयो, तर हुँदैन भन्ने चेतसहित जो तपाईंहरू आउनुभएको छ, त्यो चेत, विद्रोहको चेत, यो नयाँ युवा साथीहरूको नयाँ केही गरौँ भन्ने हुटहुटी, यो दुइटा मिलायो भने बल्ल देशले विकल्प पाउँछ । त्यसो नगरेसम्म ठिक ट्रयाकमा आउँदैन, जनतालाई बुझाउनु पनि त पर्यो ।
अब चुनाव गर्नुपर्छ, चुनाव गरिएन भने झन् संविधान नै दुर्घटनामा पर्छ । एउटा पाटो त त्यो हो । तर यही अवस्थामा यिनीहरूले चुनाव गराउँछन् ? यिनीहरूको जुन गलत नियत छ, जुन ढंगको चलखेल छ यहाँ, यदि तपाईंले सतर्कता देखाउन सक्नुभएन भने विभिन्न बहानामा यो टर्दै गएर दुर्घटनातिर जान पनि सक्छ ।
एउटा त्यसको निम्ति शक्ति चाहिन्छ । अर्को, चुनाव भइसकेपछि यदि यो बलियो शक्ति, यो पुराना साँढेहरूलाई पार लगाउने शक्ति निर्माण हुन सकेन भने चुनाव भएपछि के हुन्छ ? फेरि तिनै आउँछन् । जनताको चेतना त्यस्तै छ नि त । उहाँहरूले राम्रो नराम्रो भन्नुहुन्छ, मलाई नि भन्नुहुन्छ, बाबुराम त राम्रो, असाध्यै राम्रो मान्छे, तर के गर्नुहुन्छ ? पार्टी सानो छ, जित्न गाह्रो छ, अब भोटचाहिँ दिन सकिएन भन्नुहुन्छ बिचरा । शक्ति बलियो छैन भन्ने साइकोलोजी त हुन्छ नि सबैको ।
त्यसैले हामीले दबाब दिएर यो संकटबाट देशलाई निकास दिन शक्ति आर्जन गर्ने कुरा, निरन्तर गतिशील बनेर खबरदारी गर्ने कुरा, शक्ति आर्जन गरेर, संगठन आर्जन गरेर, जनकार्य गरेर, जनताको मन जितेर निर्वाचनमा विजय हासिल गरेर सरकारको नेतृत्व गर्ने अनि त्यसबाट आफ्नो नीति लागु गर्ने । हो यो ढंगले तपाईंहरू जानुपर्छ, त्यो सम्भव छ ।
मैले देखेको छु किनभने ५० सालमा सानो एउटा ९ सिटे पार्टी थियो, हामीले माओवादी जनयुद्ध सुरु गर्नु अगाडि । त्यो पार्टीको बेलामा पनि म सक्रिय थिएँ । जनार्दनजीहरू त्यतिबेला चुनावमा उठ्नुभएको थियो । हामी त्यतिबेला हुँदै कांग्रेस, एमाले भन्दा डबल ठुलो पार्टी बनाएर त्यहाँ पुगाएर फेरि जिरोबाट सुरु गरेर आएको मान्छे होइन ? त्यसले गर्दा विचार सही भयो, नेतृत्व सही भयो, संगठन सही बन्यो र जनतासँग सहकार्य गर्ने र तपाईंहरूको संस्कार र संस्कृति, एउटा नैतिक मूल्यवान रह्यो भने पार्टी बन्छ, जनताले साथ दिन्छ, हामी विकल्प बन्न सक्छौँ । त्यसैले तपाईंहरूलाई यही म शुभकामना दिँदै, यसैको निम्ति लाग्न तपाईंहरूलाई अभिप्रेरित गर्दै, म हमेसा तपाईंहरूको साथमा रहनेछु, नजिक रहनेछु, तपाईंहरूलाई सल्लाह सुझाव दिइराख्नेछु, गलत बाटो लिनुभयो भने खबरदारी पनि गरिराख्नेछु ।
यो प्रगतिशील लोकतान्त्रिक पार्टी देशको साँचो विकल्प बनोस्, यही आग्रहका साथ, शुभकामनासहित म बिदा हुन्छु, धन्यवाद ।
(आइतबार प्रगतिशील लोकतान्त्रिक पार्टी एकतासभामा भट्टराईले राखेको धारणाको सम्पादित अंश)
प्रतिक्रिया