सुदन गुरुङले एमाले सांसाद किसान श्रेष्ठको घरमा गएर धम्क्याए

बारा ६ मंसिर । पूर्वसूचनाबिनै जेनजीका अगुवा सुदन गुरुङको नेतृत्वको टोली पूर्वमन्त्री तथा बारा–४ का निवर्तमान संघीय सांसद किसान श्रेष्ठको औराहास्थित निजी निवासमा प्रवेश गरेको छ ।

पूर्वमन्त्री श्रेष्ठले घरमा कोही नभएको मौका छोपी गुरुङको टोलीले कर्मचारी र सहयोगीलाई धम्की दिएको भन्दै सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका छन् ।

पार्टीको कामको सिलसिलामा काठमाडौँ गएको मौका छोपी कथित जेनजी नेता भनिएका सुदन गुरुङ आफ्नो निजी निवासमा प्रवेश गरी काम गर्ने कर्मचारी र सहयोगीलाई धम्क्याएको पूर्वमन्त्री श्रेष्ठले बताएका छन् । श्रेष्ठले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘काम गर्ने कर्मचारीलाई किसान श्रेष्ठको घर फेरि जलाउँछु भन्दै तेरो नेतालाई जे पनि हुन सक्छ भनेर धम्की दिएको घटनाप्रति घोर भर्त्सना गर्दछु।’ उनले जेनजीको नाममा भइरहेको आतंक रोकी शान्ति सुरक्षाको प्रत्याभूति गराउन स्थानीय प्रशासन र नेपाल सरकारसँग जोडदार माग गरेका छन् ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा पूर्वमन्त्री श्रेष्ठको घर र ४ वटा सवारी साधनमा तोडफोड र आगजनी भएको थियो ।

कर्मचारी र इन्जिनियरको दाबी

जेनजी आन्दोलनका क्रममा आगलागी भएको घरको पुनर्निर्माणमा खटिएका इन्जिनियर चिरन्जीवी झाले गुरुङको नेतृत्वमा आएको टोलीले आफूलाई धम्की दिएको दाबी गरेका छन् । इन्जिनियर झाले गुरुङले उद्धृत गर्दै भने, ‘तपाईं किसान श्रेष्ठलाई सम्झाइदिनुस् सिमराका जेनजीहरूलाई कसैले हातपात गर्‍यो भने घरमा मात्रै होइन, मान्छेलाई आगो लगाउन सक्छ।’

साथै, उनले ‘किसान श्रेष्ठको प्लटिङमा के के गर्नुपर्छ हामीलाई थाहा छ’ भन्दै धम्की शैलीमा भनेर फर्किएको र गुरुङले धम्क्याउँदा सबैलाई क्यामेरा बन्द गर्न भनेको पनि बताएका छन् ।

श्रेष्ठको निवासमा लामो समयदेखि सहयोगीका रूपमा काम गर्दै आएकी मीरा श्रेष्ठले आकस्मिक रूपमा आएको अपरिचित समूहले धम्काएर गएको बताइन् । उनले ‘भदौ २४ गते घर मात्रै जल्यो, अब किसान श्रेष्ठलाई जलाउँछौँ भन्नुभयो, अब हामी पनि कति बेला के हुन्छ भनेर डरले यहाँ बस्न नसक्ने अवस्थामा छौँ,’ डर व्यक्त गरिन् ।

कानुनी वा व्यावहारिक रूपमा व्यक्तिको निजी घररसम्पत्तिको अनुगमन गर्नुपूर्व सम्बन्धित घरधनी वा स्थानीय प्रशासनलाई जानकारी गराउनुपर्ने वा अनुमति लिनुपर्ने व्यवस्था छ । तर, गुरुङले बिनासूचना स्थानीय प्रशासनलाई समेत जानकारी नदिई पूर्व मन्त्रीको घर र उनको व्यावसायिक क्षेत्रको अनुगमन गरेको आरोप लागेको हो ।

पूर्वमन्त्री श्रेष्ठका स्वकीय विकास साह कानूले बिनाजानकारी कसैको घर र निजी सम्पत्तिमा आउनु गलत भएको बताएका छन् । उनले ‘उहाँ प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, जाँचबुझ आयोग, स्थानीय प्रशासन कहाँ कुन निकायबाट खटिनुभएको हो, कसरी आउनुभयो हामीलाई जानकारी छैन’ भन्दै ‘घरमा कोही नभएको बेला गुण्डागर्दी शैलीमा यसरी आउन मिल्छ रु’ भनेर प्रश्न गरे ।

यता, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सन्तोष तामाङले जेनजी अगुवा गुरुङ बिनाजानकारी पूर्वमन्त्री श्रेष्ठको निजी निवासमा जानु गलत भएको टिप्पणी गरेका छन् । उनले जेनजीहरू पूर्वमन्त्रीको घरमा जाँदैछन् भनेर स्थानीय प्रशासनलाई जानकारी नभएको बताए । ‘यसरी बिना जानकारी कसैको घरमा छिर्नु गुण्डागर्दी शैली हो,’ उनले भने ।

बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले पनि जेनजी सुदन गुरुङ पूर्व मन्त्रीको निवासमा गएको विषयमा कुनै औपचारिक जानकारी नभएको बताएका छन् ।

जेनजी मधेश संयोजक यादवको सफाइ

यता सुदन गुरुङको नेतृत्वमा पूर्वमन्त्री श्रेष्ठको घरमा पुगेका जेनजी मधेस प्रदेशका संयोजक शिव यादवले आफूहरूको धम्काउने उद्देश्यले नभई सामान्य भेटघाटको उद्देश्यले श्रेष्ठको निवासमा पुगेको बताएका छन् । यादवले भने, ‘हामी कुनै पूर्वाग्रह बोकेर गएको होइन, किसान श्रेष्ठ सरलाई भेट्न भनेर गएका हौँ । हामी नेताकै टोलमा गएको मौका छोपेर गएका हौँ, यसमा राजनीतिक कुराकानी केही छैन।’

यादवले कर्मचारी र सहयोगीलाई कुनै धम्की नदिएको टिप्पणी गर्दै भने, ‘हामी उहाँको घरमा चिया खान गएका हौँ, हामीलाई एकैपटक यति अराजक नठान्नुस् ।’ उनले समाज राम्रो होस् भन्नका लागि आफूहरू पनि हरेक पार्टीका कार्यकर्तासँग भेट्न घुलमिल हुन खोजिरहेको बताए ।

नेकपा एमालेका कार्यकर्ता र जेनजी युवाहरूबिच झडप भएपछि अशान्त बनेको सिमराको अवस्था बुझ्न गुरुङलगायतको टोली बिहीबार त्यसतर्फ पुगेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति