एमालेबारे जेन-जीले प्रधानमन्त्रीलाई भने – प्रतिक्रान्ति गर्न दमनकारी सल्बलाए, नियन्त्रण गर्नुस्

काठमाडौं, ५ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार जेन-जी आन्दोलनकारी, सहिद परिवार र घाइतेका तीनवटा समूहसँग छलफल गरेकी छन्।सिंहदरबारमा भएको छलफलका क्रममा तीनवटै समूहले तत्काल सरकार र आन्दोलनकारीबीच सम्झौतामा हस्ताक्षर हुनुपर्ने अडान राखेका छन् ।उनीहरूले भदौ २३ र २४ गते भएको आन्दोलनका दमनकारीमाथि कारबाहीमा ढिलाइ गर्न नहुने, प्रतिक्रान्ति गर्न दमनकारीहरू सल्बलाएकाले त्यसलाई नियन्त्रण गर्नुपर्ने विषय जोडतोडले उठाए।पछिल्लो समय नेकपा एमालेले सहरदेखि गाउँसम्म आफूलाई सक्रिय बनाएपछि जेन-जीहरू आक्रोशित भएका छन् । एमालेको सक्रियता बढ्दा बाराको सिमरामा ठूलो तनाव भएको छ।यता एमालेले शुक्रबार पनि ठूलो प्रदर्शन गरेको छ। एमालेले शनिबार पनि काठमाडौंमा अर्को प्रदर्शन तयारी गरेको छ । जेन-जी आन्दोलनका क्रममा सरकारको नेतृत्व गरेको एमालेको सक्रियताले जेन(जीहरू तनावमा देखिएका छन् ।

प्रधानमन्त्री कार्कीले सम्झौताको तयारी अन्तिम चरणमा पुगेको र राष्ट्रपतिसँग सल्लाह गरी निष्कर्षमा पुग्ने बताएकी छन् ।

जेन-जी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जान नसक्ने भएकाले माग पूरा हुनेमा ढुक्न रहन पनि उनले बताइन्।

कतिपय विषयमा सरकारको संवैधानिक र कानुनी सीमा पनि ख्याल गरिदिन उनले आग्रह गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले चुनावमा भाग लिन आवश्यक तयारी गर्न र जनादेश प्राप्त गरी शान्तिपूर्ण बाटोबाट आमूल परिवर्तनको नेतृत्व लिन पनि उनीहरूलाई सुझाव दिएकी छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति